१४ महिनामा पनि भएन एसपी सिंहको सरुवा

सर्लाही । सर्लाहीका प्रहरी प्रमुख एसपी रविन्द्र बहादुर सिंहको कार्यकाल १४ महिना पुग्दा पनि उनको सरुवा हुन सकेको छैन । आधिकारिक रुपले उनी सर्लाही प्रहरी प्रमुखको जिम्मेवारी २०८० साल चैत २६ गतेदेखि सम्हालेका थिए ।

प्रहरी नियमावलीमा सामान्यतया इञ्चार्ज पठाइसकेपछि एक वर्षसम्म सरुवा नगर्ने प्रावधान रहेको छ । भने एक वर्षपछि अनिवार्य सरुवा हुने गरेको छ । तर सर्लाही जिल्लाका एसपी सिंहको कार्यकाल १४ महिना पुग्दा पनि उनको सरुवा हुन सकेको छैन ।

एसपीसम्मको सरुवा प्रहरी महानिरीक्षकले नै गर्न पाउँछन् । एसएसपी र डीआईजीको गृह मन्त्रालय र एआईजीको सरुवा मन्त्रिपरिषद्ले गर्ने व्यवस्था नियमावलीमा रहेको छ ।

एसपी सिंह जनउत्तरदायी नभएको र आफूलाई सर्लाहीको ‘राजा’ ठान्ने शैलीमा व्यवहार गर्ने गरेको भन्दै उनको स्थानीयस्तरमा पनि तीव्र आलोचना भइरहेको छ । स्थानीयवासीहरूले, एसपी सिंह आफूलाई जनताको सेवक नभएर शासकजस्तो देखाउने, सर्वसाधारणसँग दूरी कायम राख्ने र सेवाग्राहीहरूसँग सहज रूपमा व्यवहार नगर्ने गरेको गुनासो गरेका छन् ।

एक स्थानीय जनप्रतिनिधिले भने, ‘जनताको सेवक भएर आएका प्रहरीले जनतासँग घुलमिल हुनुपर्ने हो, तर एसपी सिंह नागरिकसँग भेट्न नै चाहँदैनन् ।’ जनताको सेवा गर्न राज्यले खटाएको सेवकले आफूलाई शासकझैँ ठान्नु मुर्खता र घमण्ड हो । उनी अरूको अस्तित्व र भूमिकालाई स्वीकार नगर्ने व्यवहार देखाउने गरेका कारण आफूले उनलाई ‘एसपी साहब’ भन्दा पनि सामान्य रूपमा ‘रविन्द्र बहादुर सिंह’ भनेर सम्बोधन गर्नुपर्ने अवस्था आएको बताएका छन् ।

एक पीडितका अनुसार, न्याय माग्दै आएका पीडितहरूको गुनासो बेवास्ता गर्दै पिडकको पक्षमा एसपी सिंह, डिएसपी सरोज राइ र फाँटका कर्मचारीले वकालत गर्ने गरेका छन् । आक्रोशित हुदै ति पीडितले भने, ‘हामी प्रहरीसमक्ष अनुचित लेनदेन तथा मिटर ब्याजको मुद्दामा न्यायको लागि गएका थियौँ, तर एसपी सिंहले हाम्रो कुरा सुन्नुको सट्टा उल्टै पिडकलाई जोगाउने काम गर्नुभयो ।

जनताको सेवा र सुरक्षाका लागि खटिने जिम्मेवारी पाएका प्रहरी अधिकारीबाट अपेक्षित व्यवहार पाउन नसकिएको भन्दै सेवाग्राहीहरूमा व्यापक आक्रोश पाइएको छ । एसपी सिंहले सर्वसाधारणलाई भेट्न चाहँदैनन्, भेट्न पुगे पनि दम्भपूर्ण रवैया देखाउने, अपराधीको जस्तो व्यवहार गर्ने, सामान्य कुरालाई पनि अवहेलना गर्ने उनको यो शैलीले सर्लाही प्रहरीप्रति जनविश्वास गुम्दै गएको स्थानीयहरूको भनाइ छ ।

प्रहरी प्रशासनमा पारदर्शिता, उत्तरदायीत्व र सेवा भावनाको अपेक्षा गरिन्छ । तर एसपी सिंहको शैलीले यी मूल्यहरू विपरितका क्रियाकलाप भएको भन्दै नागरिक समाज तथा प्रहरी विज्ञहरूबाट समेत चिन्ता व्यक्त गरिएको छ । सामान्यतया जिल्ला प्रहरी प्रमुखहरूले जनतासँग प्रत्यक्ष संवाद गर्ने, जनताको समस्या सुन्ने र समाधान खोज्ने जिम्मेवारी निर्वाह गर्ने अपेक्षा गरिन्छ । तर एसपी सिंहको नेतृत्वमा सर्लाहीमा जनमुखी प्रहरी प्रशासनको अनुभव हुन सकेको छैन ।

प्रहरी संगठन भित्रैका केही स्रोतले पनि एसपी सिंहको फिल्डमा कम उपस्थिति भएकै कारण उनको नेतृत्व क्षमताको अभावप्रति प्रश्न उठाएका छन् । एसपी सिंह फिल्डमा बसेर कम समय काम गरेकाले उनी व्यवसायिक प्रहरी नभएको टिप्पणी प्रहरीका जानकारहरूले गरेका छन् । व्यवहारिक र नेतृत्वदायी भूमिका निर्वाह गर्न नसकेको समेत प्रहरी वृत्तका भूतपूर्व अधिकारीहरूले बताएका छन् ।

प्रतिक्रिया