हुम्ला । व्यापार व्यवसायका निम्ति चीनको स्वशासित क्षेत्र तिब्बताको ताक्लाकोट जान चाहनेहरुलाई अस्थायी प्रवेश पास उत्तरी नाम्खा गाउँपालिकाको सीमावर्ती क्षेत्रमा पुगेर जिल्ला प्रशासन कार्यालयले वितरण गरेको छ ।
पुराङ काउन्टीको ताक्लाकोटबाट तिब्बतका विभिन्न स्थानमा आवतजावत गर्न तुम्कोट, याल्वाङ, हिल्सा, यारीलगायत क्षेत्रमा पुगेर ३७४ जनालाई नयाँ अस्थायी प्रवेश पास र पुरानो नवीकरण गरिएको प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेयले बताए ।
हालसम्म जिल्ला प्रशासन कार्यालयबाट सात हजार ५४५ जनाले ताक्लाकोट आवतजावत गर्न प्रवेश पास लिएका उनले जानकारी दिए । हिउँदयामको हिउँले यारी नाकाको ठाडो ढुंगा क्षेत्रको सडक नखुलेका कारण दुई घण्टाको ओरालो पैदल हिँडेर हिल्सा पुगेको प्रमुख जिल्ला अधिकारी पाण्डेयले बताए ।
गाडी यारीसम्म मात्रै जाने भएकाले हिल्सा पुग्न ओरालो दुई घण्टा र हिल्साबाट उकालो यारी पुग्न चार घण्टाको पैदलमा भएर नागरिकको सेवा गरेको उनले बताए । सीमावर्ती पास वितरणका क्रममा चीनको ताक्लाकोटबाट नवीकरणका लागि बाटोमा आफूलाई पछ्याउँदै आएका दुई जनालाई वितरण गरेको प्रमुख जिल्ला अधिकारी पाण्डेयले बताए ।
प्रतिक्रिया