काठमाडौं । धेरै दिनदेखि शिक्षा ऐनलगायत विभिन्न माग राख्दै आन्दोलनरत शिक्षकहरु र सरकारबीचको पहिलो वार्ता निष्कर्षविहीन भएको छ । शनिबार सरकार र नेपाल शिक्षक महासंघबीचको वार्ता टुंगोमा नपुगेपछि वार्तालाई निरन्तरता दिने सहमति भएको हो ।
शनिबार शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तसहित सरकारी प्रतिनिधि र शिक्षक महासंघका प्रतिनिधिबीचको छलफलमा वार्तालाई निरन्तरता दिने सहमति भएको हो । पूर्व शिक्षामन्त्री विद्या भट्टराईले राजीनामा दिएर रघुजी पन्त नयाँ शिक्षामन्त्री भएपछि आज शनिबार आन्दोलित शिक्षकहरु र सरकारबीच पहिलो वार्ता भएको छ ।
वार्ताले छलफललाई निरन्तरता दिने र आन्दोलनका क्रममा शिक्षकहरूले उठाएका मुद्दा पूरा हुनुपर्ने माग शिक्षकहरूले गरेको नेपाल शिक्षक महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले बताए । उनले शिक्षक महासंघले आन्दोलनका क्रममा उठाएका विषयवस्तुबारे मन्त्री पन्तसँग छलफल भएको बताए । उनले बैठकले छलफल र संवादलाई निरन्तरता दिने निर्णय गरेको जानकारी दिए ।
‘नेपाल शिक्षक महासंघ अहिले आन्दोलनमा छ, आन्दोलनका क्रममा हामीले उठाएका विषयवस्तुका बारेमा मन्त्रीज्यूको उपस्थितिमा छलफल भयो । छलफल र संवादलाई निरन्तरता दिने निर्णय भएको छ,’ उनले भने ।
नेपाल विद्यालय कर्मचारी परिषद्का अध्यक्ष गंगाराम तिवारीले सरकारले शुक्रबार दोस्रोपटक गरेको परिपत्रको आधारमा औपचारिक छलफलमा आएको बताए । उनले अहिले नै निष्कर्षमा पुगिनसके पनि सरकारले आफूहरूका माग पूरा गरे वार्ता टुंगोमा पुग्ने बताए । उनले मुलुकभरका विद्यालय र ७० लाख विद्यार्थी तथा अभिभावकहरूको जिम्मेवारी पनि शिक्षक महासंघलाई रहेको बताए ।
शिक्षक कर्मचारीको सेवा सुविधा मात्रै सुनिश्चित गर्नका लागि नभइ गुणस्तरीय शिक्षा प्रदान गर्न शिक्षा ऐन ल्याउन माग गर्दै आन्दोलनमा होमिएको उनको भनाइ छ । केही समय लागे पनि निकास दिएरै छोड्ने उनले बताए । देशैभरका शिक्षकहरु आफ्ना माग राख्दै गत चैत २० गतेदेखि काठमाडौंमा आन्दा्लनरत छन् ।
प्रतिक्रिया