२० प्रतिशत काम सकियो गौतम बुद्ध अन्तर्राष्ट्रिय रंगशालाको

चितवन । निर्माणाधिन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको काम २० प्रतिशत सम्पन्न भएको छ । भरतपुर महानगरपालिका–१५ स्थित संघ र प्रदेश सरकारको सहकार्यमा महानगरपालिकाले रंगशाला निर्माण गरिरहेको छ ।

धुर्मस–सुन्तली फाउन्डेसनले काम गर्न नसकेपछि महानगरपालिकाले अपनत्व लिई काम अघि बढाएको थियो । हिमालयन कालिन्चोक बिबिआर जेभीले बोलपत्र सकारेर काम गरिरहेको छ ।

महानगरपालिकाका डिभिजनल इन्जिनियर सन्तोष आचार्यका अनुसार चार वटा ‘प्याराफिट’मध्ये एउटाको ढलाइ सम्पन्न गरिएको छ । अर्को ढलानको तयारीमा छ । दुवै टावरको पहिलो तल्लाको ढलानको तयारी हुँदै छ । अहिले दैनिक १७० जनाभन्दा बढी कामदारले बिहान ८ बजेदेखि बेलुका ९ बजेसम्म काम गरिरहेको आचार्यले बताए । छड र सिमेन्ट सहज उपलब्धता नहुँदा काममा केही कठिनाइ भए पनि सामग्री जुटाएर काम भइरहेको उनले बताए ।

गत साउनमा बिबिआर जेभीले निर्माण सुरु गरेको हो । २०८३ पुस २२ सम्ममा रंगशाला निर्माण सम्पन्न गर्ने गरी ७८ करोड ५० लाख ९१ हजार १८९ रुपैयाँमा ठेक्का लगाइएको हो । गत असार २३ मा ठेक्का सम्झौता गरी काम सुरु गरिएको हो । रंगशाला निर्माणका लागि संघीय सरकारले २५ करोड र प्रदेश सरकारले १० करोड रुपैयाँ उपलब्ध गराइसकेका छन् ।

प्रदेश सरकारले ७० प्रतिशत र संघीय सरकारले ३० प्रतिशत उपलब्ध गराउने सहमतिअनुसार रंगशालाको काम अघि बढेको हो । अन्तर्राष्ट्रियस्तरको मापदण्डअनुसार रंगशाला निर्माण भइरहेको छ । पहिलो चरणको यो काम सम्पन्न भएसँगै अन्तर्राष्ट्रियस्तरका खेल यहाँ आयोजना गर्न सकिने छ ।

त्रिभुवन विश्वविद्यालयको नाममा रहेर कृषि तथा वन विज्ञान विश्व विद्यालयले उपयोग गरिरहेको २० विघा १९ कठ्ठा जमिनमा रंगशाला निर्माण भइरहेको छ । गर्मी भएकाले साँझ र रात्रीकालिन समयमा समेत खेल खेलाउन बत्तीको व्यवस्था गर्न महानगरपालिकाले संघीय सरकारसँग अनुरोध गरेको छ ।

महानगरपालिका प्रमुख रेनु दाहालले सम्झौताअनुसार तालिकामा काम भइरहेको बताए । महानगरबाट गर्नुपर्ने आवश्यक सहजीकरण महानगरले गरिरहेको उनले जानकारी दिए । सम्झौता अवधिभित्रै काम सम्पन्न हुनेमा विश्वस्त रहेको उनको भनाइ छ ।

प्रतिक्रिया