काठमाडौँ । भुटान राष्ट्रिय महिला फुटबल टिमले हङकङ र मलेसियासँगै मैत्रीपूर्ण खेल खेल्ने भएको छ । एएफसी एसियन कप छनोट २०२६ को तयारीमा रहेको भुटानले मलेसियामा हुने अन्तर्राष्ट्रिय महिला मैत्रीपूर्ण प्रतियोगिता खेल्न लागेको हो । प्रतियोगिता ६ मेदेखि १९ सम्म हुने तय छ ।
फिफा वरीयतामा भुटान १७१औँ स्थानमा छ । गत अक्टोबरमा त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न साफ महिला च्याम्पियनसिपमा भुटानले आफूभन्दा ६९औँ स्थान माथि रहेको (त्यतिखेर नेपाल १०३ र भुटान १७२औँ स्थानमा थियो) नेपाललाई गोलरहित बराबरीमा रोक्दै इतिहास रचेको थियो ।
भुटान सेमिफाइनलमा पुगे पनि फिफा वरीयतामा ४०औँ स्थानमाथि रहेको बंगलादेशसँग ७–१ ले पराजित हुँदै बाहिरिएको थियो । फाइनलमा नेपाललाई २–१ ले पराजित गर्दै बंगलादेशले नै लगातार दोस्रोपल्ट उपाधि जितेको थियो ।
त्यसयता भुटान पहिलोपल्ट मैदान उत्रिन लागेको हो । हङकङ भने फिफा वरीयतामा ८०औँ स्थानमा छ । मलेसिया पछिल्लो वरीयतामा १०२औँ स्थानमा छ । भुटान आफू वरीयतामा कमजोर रहे पनि ९१औँ स्थानमाथि रहेको हङकङ र ६९औँ स्थानमाथि रहेको मलेसियासँग प्रतिस्पर्धा गर्न लागेको हो ।
यसैगरी, भुटानले एएफसी यु–२० महिला एसियन कप छनोट चरणका खेल खेलाउने भएको छ ।
एसियाली फुटबल महासंघ (एएफसी)ले १ देखि १८ अप्रिल, २०२६ सम्म थाइल्यान्डमा हुने प्रतियोगिता यु–२० महिला एसियन कप छनोट चरणका खेल खेलाउन विभिन्न ८ राष्ट्रलाई जिम्मा दिएको छ । त्यसमा भुटान पनि परेको हो ।
यो प्रतियोगिता सन् २०२१ सम्म एएफसी यु–१९ महिला एसियन कपको नाममा हुँदै आएको थियो । २०२२ देखि भने एएफसी यु–२० महिला एसियन कपमा गर्न लागिएको हो ।
२ देखि १० अगस्टसम्म हुने छनोटमा २३ राष्ट्र सहभागी हुनेछन् । औपचारिक ‘ड्र’ भने २८ अप्रिलमा मलेसियाको क्वालालम्पुरस्थित एएफसी हाउस हुनेछ । भुटान ‘पोट’ ३ मा छ ।
उक्त ‘पोट’मा हङकङ, इन्डोनेसिया, मलेसिया, कम्बोडिया, लाओस, प्यालेस्टाइन र नर्दन मारियाना आयरल्यान्ड पनि छन् । यो ‘पोट’ मा रहेका मलेसिया र लाओसले पनि छनोट चरणका खेल खेलाउने छ ।
नेपाल भने ‘पोट’ २ मा छ । यस ‘पोट’ मा चाइनिज ताइपेइ, इरान, किर्गिस्तान, लेबनान, भारत, जोर्डन र बंगलादेश छन् । यस्तै, चीन, भियतनाम, म्यानमार, उज्बेकिस्तान र ताजकिस्तानले पनि छनोट चरणका खेल खेलाउने एएफसीले जनाएको छ । हरेक समूहका विजेता अर्थात ८ टोली र ३ उत्कृष्ट टोलीले १ देखि १८ अप्रिल, २०२६ सम्म थाइल्यान्डमा हुने प्रतियोगितामा स्थान बनाउने छन् । सहभागी टोलीलाई ५ वटा ‘पोट’मा राखिएको छ ।
प्रतिक्रिया