गोरखा । गोरखा बारपाककी ६२ वर्षीया धनमाया गुरुङलाई १० वर्षयता वैशाख १२ कहिले पनि नआओस् जस्तो लाग्छ । बारपाकलाई केन्द्रबिन्दु बनाएर २०७२ वैशाख १२ मा गएको भूकम्पमा उनलाई आफ्नी ७ वर्षीया भदैनी गुमाएको कुराले सधैँ पिरोल्छ । गहभरि आँसु पारेर धनमाया भन्छिन्, ‘न्यास्रो लागेर माइतीबाट भदैनी घर ल्याएको थिएँ । त्यही दिन भूकम्प आउनुपरेको । आँगनमा खेलीरहेकी भदैनी घर भत्किएर लग्यो । भदैनी भूकम्पमा पर्नुको दोषी म आफैँ हो जस्तो लाग्छ ।’
धनमायाजस्तै भूकम्पमा आफन्त गुमाउने बारपाकबासीको पीडा उस्तै छ । धेरैले परिवारका सदस्य गुमाउनुप¥यो भने कति घाइते भएर जीवनभर अशक्त बन्नुपरेको छ । ३४ वर्षीया डोलमाया घलेले पनि त्यस दिनलाई बिर्सन सकेकी छैनन् । ‘आकास गर्जदा अझैँ पनि डर लाग्छ । गाउँमा ठुल्ठुलो गाडी आउँदा पनि भूकम्प नै आएजस्तो लाग्छ । मुटु नै चिसो बनाउँछ’, उनी भन्छिन् ।
‘भूकम्पले बारपाकीहरूको मानसिकतामा ठूलो धक्का पुगेको छ । १२ वैशाखपछि गएका पटकपटकका परकम्प र पछिल्लो समय देशका विभिन्न ठाउँमा गएका भूकम्पका कारण ७७ वर्षीया प्याली घलेलाई फेरि पनि पहिलेकै जस्तो ठूलै भूकम्पले आउने हो कि भन्ने पिरले सधैँजसो सताउँछ । ठूलो जनधनको क्षति गर्नेगरी १२ वैशाखमा भूकम्प गएको १० वर्ष बितिसकेछ’, घलेले भनिन् ।
अर्की स्थानीय ५५ वर्षीय कमला गुरुङ २०७२ वैशाख १२ गते सम्झँदै भन्छिन्, ‘हामी त बारीमा काम गर्दै थियौँ । एक्कासि जमिन हल्लियो, एकाएक घरहरू भत्किन थाले । गाउँ पूरै धुलोको मुस्लोले ढाकियो ।’ भूकम्पका कारण आफूहरूको मानसिकतामा ठूलो चोट पुगेको गुरुङ बताउँछिन्् । ‘अहिले त नयाँ घर पनि बनाइसकेँ’, उनले भनिन्, ‘तर, त्यो दिन सम्झँदा यो अवस्थासम्म आइपुग्छु जस्तो लागेको थिएन ।’
१२ वैशाखको भूकम्पले गोरखालगायत विभिन्न जिल्लामा ठूलो धनजनको क्षति पु¥याएको थियो । २०७२ वैशाख १२ गते ११ बजेर ५६ मिनेटमा बारपाक केन्द्रबिन्दु बनाएर गएको विनाशकारी भूकम्पमा परेर बारपाकमा मात्र ७२ जनाले मृत्यु भएको थियो भने झण्डै १ हजार ५०० निजी घरमा क्षति पुगेको थियो ।
भूकम्पको केन्द्रबिन्दु रहेको बारपाक अहिले पर्यटकीय गन्तव्यका रूपमा विकास पनि भएको छ । भूकम्पले बारपाकको स्वरूप नै परिवर्तन गरेको अर्का स्थानीय जितबहादुर घले बताउँछन् । भूकम्पले विनाश त ग¥यो तर धेरै सकारात्मक परिवर्तन पनि ल्याएको छ’, उनले भने, ‘बारपाक भूकम्पको केन्द्रबिन्दु भएकै कारण यहाँ सबैको नजर प¥यो । हामीले विकास आयोजना माग्ने आधार पनि पायौँ ।’ भूकम्पछि नै बारपाकमा सडक, खानेपानी, बिजुलीलगायत पूर्वाधारहरू तीव्र रूपमा विकास भएको उनको भनाइ छ ।
एक दशकको अवधिमा बारपाकमा निजी आवास पुनःनिर्माणको काम अन्तिम चरणमा पुगेको छ । विनाशकारी भूकम्पमा ज्यान गुमाउनेहरूको स्मरणमा भूकम्प गएको मिति र समयसमेत उल्लेख गरेर स्मृति स्तम्भ निर्माण भएको छ । पुनःनिर्माण गर्दा विगतमा परम्परागत ढुंगाको छानो र माटोले बनेको घरको मौलिकताको सट्टा इँटा र सिमेन्टबाट आधुनिक पक्की घरहरू बनेका छन् ।
प्रतिक्रिया