वार्ता गर्न हिँडेको शिक्षक महासंघ टोली सिंहदरबार गेटबाटै फर्कियो

आज वार्ता गर्ने मन्त्रालयको तयारी

काठमाडौँ । मन्त्रीमा नियुक्त भएलगत्तै शिक्षामन्त्री रघुजी पन्तले आन्दोलनरत शिक्षकहरूलाई बोलाएको पहिलो वार्ता नै भाँडिएको छ । आन्दोलनरत शिक्षकका प्रतिनिधि र सरकार पक्षबीच शmुक्रबारका लागि बोलाइएको बैठक अन्तिम अवस्थामा भाँडिएको हो । सर्वोच्च अदालतले विद्यार्थीको पठनपाठन सञ्चालन गर्नेगरी ३ दिनभित्र शिक्षकको माग सम्बोधन गर्न बिहीबार अन्तरिम आदेश दिएको थियो । सोहीअनुसार शिक्षामन्त्री पन्तले शुक्रबार नै शिक्षकहरूलाई वार्तामा बोलाएका थिए ।

मन्त्रीलाई बधाई दिन र आफ्ना माग मुद्दाका बारेमा जानकारी दिन आफूसहितका टोली जाने तयारीमा रहेको नेपाल शिक्षक महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले नै बताएका थिए । तर, शिक्षा मन्त्रालयले शिक्षक महासंघलाई कुनै जानकारी नै नदिई आफूखुसी २५ सदस्यीय वार्ता टोलीको नाम सार्वजनिक भएपछि सिंहदरबारको गेटसम्म पुगे पनि मन्त्रालय नै नछिरी शिक्षक महासंघको टोली फर्कियो ।

मन्त्रालयले आफूखुसी वार्ता टोलीको नाम सार्वजनिक गरेकोमा आपत्ति जनाउँदै शिक्षक नेताहरूले मन्त्रीलाई नभेटी फर्किएपछि वार्ताको वातावरण खलबलिएको छ । वार्ता खलबलिनुको मुख्य कारण भने मन्त्रीसँग छलफलका लागि जान लागेका शिक्षक कर्मचारी नेताहरूको नाम सार्वजनिक हुनु हो । सिंहदरबार छिर्ने २५ जना शिक्षक कर्मचारीको लागि गेट पास उपलब्ध गराइदिन मन्त्रीको निजी सचिवालयले प्रहरीलाई लेखेको पत्र सार्वजनिक भएपछि शुक्रबार हुने भनिएको वार्ता भाँडिएको हो ।

शिक्षा ऐन जारी गर्नुपर्ने एकसूत्रीय मागसहित देशभरका शिक्षकहरूले गत २० चैतदेखि आन्दोलनरत छन् । यसैबीच मन्त्रिपरिषद्बाटै असहयोग भएपछि विद्या भट्टराईले शिक्षामन्त्रीबाट राजीनामा दिइकी थिइन् । शिक्षक आन्दोलनलाई टार्नका लागि उनीहरूको मागलाई ७ बुँदामा समेटेर मन्त्रिपरिषद्बाट निर्णय गराउने तयारी भट्टराईले गर्दा प्रधानमन्त्रीले नै त्यसलाई अस्वीकार गरेका थिए ।

शिक्षा मन्त्रालयले आफूखुसी वार्ता टोली बनाएको महासंघको आरोप

मन्त्रालयले गेट पासका लागि प्रहरीलाई लेखेको पत्र सार्वजनिक भएपछि शिक्षक नेताहरू रुष्ट बनेका छन् । उक्त पत्रमा २५ जना महासंघका प्रतिनिधिहरूको नाम उल्लेख गरिएको छ । पत्रमा मन्त्रालयले गेट पासका लागि सहजीकरण गरिदिन प्रहरीलाई अनुरोध गरको छ । तर, महासंघ भने त्यसलाई सरकार आफैँले वार्ता टोली घोषणा गरेको आरोप लगाएको छ ।

पत्रमा उल्लेख भएका नामहरू महासंघले उपलब्ध नगराएको नेपाल शिक्षक महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले बताएका छन् । ‘शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयबाट सार्वजनिक भएको २५ सदस्यीय नामावली नेपाल शिक्षक महासंघले तयार नगरेको ब्यहोरा जानकारी गराउँछौँ’, सामाजिक सञ्जालमार्फत् सुवेदीले भने, ‘नवनियुक्त मन्त्रीज्यूसँग औपचारिक भेटका लागि हामी जाने क्रममा थियौँ, तर विशेष कारणवश हामी मन्त्रालय प्रवेश नगरी फर्कियौँ ।’

शिक्षक महासंघले वार्ता टोली बनाओस्, हामी वार्ता गर्न तयार छौँ !

अन्तिम समयमा वार्ता भंग भएपछि शिक्षामन्त्री पन्तले आन्दोलनरत शिक्षकका आधिकारिक वार्ता टोलीसँग वार्ता गर्न आफू तयार रहेको बताएका छन् । शुक्रबारका लागि बोलाइएको वार्ता विफल भएपछि मन्त्री पन्तले सञ्चारकर्मीसँग कुरा गर्दै आधिकारिक वार्ता टोलीसँग वार्ता गर्ने बताएका हुन् । उनले भने, ‘नेपाल राष्ट्रिय शिक्षक महासंघले आधिकारिक वार्ता टोली बनाओस्, हामी नेपाल राष्ट्रिय शिक्षक महासंघको टोलीसँग वार्ता गर्न, समस्याको समाधान खोज्न तयार छौँ ।’

त्यस्तै आफूले शिक्षकहरूसँग सम्बन्धित सबै समितिसँग छलफल गरेर उनीहरूको कुरा सुन्न चाहेको तर अन्तिम अवस्थामा वार्ता हुन नसकेको बताए । ‘मेरो कुरा शिक्षकसँग सम्बन्धित सबै संगठनको कुरा सुनौँ, समस्याको समाधान खोजौँ भन्ने थियो’, शिक्षामन्त्री पन्तले भने, ‘नेपाल राष्ट्रिय शिक्षक महासंघले आधिकारिक वार्ता टोली पठाओस् सरकार उनीहरूसँग वार्ता गर्न तयार छ ।’

यसअघि शुक्रबार संसद् भवन परिसरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै पन्तले सरकार शिक्षकहरूसँग वार्ता र संवादको माध्यमबाट अहिलेका समस्या समाधान गर्न प्रतिबद्ध रहेको र लचिलो भएर वार्तामा आउन शिक्षकहरूलाई आह्वान गरेका थिए । पन्तले संविधान, कानुन र देशको बजेटले धान्ने सीमाभित्र रहेर शिक्षकका मागहरू सम्बोधन गर्ने प्रतिबद्धतासमेत जनाएका थिए ।

आज निर्णायक वार्ताको तयारी

वार्ता बिथोलिएपछि शिक्षा मन्त्रालयले शुक्रबार साँझ एक विज्ञप्ति जारी गर्दै शिक्षक महासंघलाई पुनः वार्ताका लागि आह्वान गरेको छ । वार्ताका लागि मन्त्रालयले आज (शनिबार) बिहान ७ः३० बजे महासंघका अध्यक्ष तथा अन्य पदाधीकारीहरुलाई उपस्थित हुन अनुरोध गरेको छ । बिहीबार सर्वोच्च अदालतले दिएको अन्तरिम आदेशलाई समेत केन्द्रमा राखेर आज हुने भनिएको वार्तालाई हेरिएको छ ।

प्रतिक्रिया