‘७ दिनभित्र दर्ता नभए मेटामाथि प्रतिबन्ध’

काठमाडौँ । पटक–पटक ताकेता गर्दा पनि नेपालमा दर्ता हुन नआएको सामाजिक सञ्जाल फेसबुकको माऊ कम्पनी मेटालाई सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले ७ दिनको अल्टिमेटम दिएका छन् ।

शुक्रबार काठमाडौँमा आयोजित एक कार्यक्रमममा बोल्दै मन्त्री गुरुङले ७ दिनभित्र दर्ता नभए मेटामाथि प्रतिबन्ध लगाउने बताएका हुन् । यसअघि ३ पटकसम्म सार्वजनिक सूचना नै निकाल्दा पनि मेटाले वास्ता गरेको थिएन ।

नेपालबाट पलपलमा पैसा मेटाको कार्यालयमा गएकोले मेटाले नेपालमा दर्ता भई कर तिर्नुपर्ने मन्त्री गुरुङको भनाइ थियो । उनले भने, ‘मेटा भन्नेबित्तिकै फेसबुक होला, म्यासेन्जर, ह्वाट्सएप, इन्ट्राग्राम होला, चलिरहेका छन् । मेटाको कार्यालयमा हरेक घण्टामा नेपालबाट २–४ हजार पैसा गइरहेको होला । हाम्रो पैसा त्यसरी लुट्ने ? यहाँ हामीसँग दर्ता हुनुपर्दैन, कर तिर्नुपर्दैन ? फैलने गलत कुराहरू हामीले नियन्त्रण गर्नुपर्दैन ? पर्छ नि ।’ उनले नेपालमा हालसम्म टिकटक, भाइबर र वी–टक मात्रै दर्ता भएको जानकारी पनि दिए ।

प्रतिक्रिया