काठमाडौँ । स्वास्थ्योपचारका लागि भन्दै गत वैशाख ७ गते बैंकक गएका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा शुक्रबार स्वदेश फर्किएका छन् । सरकारप्रति नेपाली कांग्रेसको असन्तुष्टि रहेको सन्दर्भमा भएको यो भ्रमणले सत्ता समीकरण फेरबदल ल्याउनसक्ने विश्लेषण भएको थियो । स्वदेश फर्किएपछि त्रिभुवन विमानस्थलमा सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सत्ता गठबन्धन परिवर्तन बारे आफुलाई थाहा नभएको बताए । ‘सत्ता समीकरण नै परिवर्तन हुन्छ भन्ने छ नि ?’ भन्ने सञ्चारकर्मीको प्रश्नमा देउवाले संक्षिप्त जवाफ फर्काए, ‘कसले भन्यो ? थाहा छैन मलाई ।’ उनले वर्तमान सत्तारुढ गठबन्धन कायमै रहने प्रतिक्रिया दिए ।
स्वदेश फर्किएसँगै त्रिभुवन विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले सरकार परिवर्तनका सम्बन्धमा आएका समाचारहरू मनोरञ्जनका लागि मात्र भएको टिप्पणी गरिन् । उनले सरकार परिवर्तनका बारे आएका समाचारहरू हेरेर आफूहरू छक्क परेको पनि बताइन् । ‘सरकार परिवर्तन गर्न त नेपालभित्रै बसेर गर्नुपर्ने होला । विदेशमा गएर यहाँको सरकार परिवर्तन हुँदैन । हामी पनि आफैँ छक्क प¥यौँ यो समाचारहरू हेर्दाखेरी’, उनले भनिन् ।
सरकार परिवर्तन चर्चापछि प्रधानमन्त्री ओलीले गरेका थिए देउवालाई फोन
बैंककमा रहेकै बेला बिहीबार साँझ प्रधानमन्त्री केपी शर्मा ओलीले सभापति देउवालाई टेलिफोन गरेको खुलेको छ । मन्त्री राणाले शुक्रबार सञ्चारकर्मीहरूसँग बोल्दै सो कुराको खुलासा गरेकी हुन् । सरकार परिवर्तनको हल्ला भएपछि प्रधानमन्त्री ओलीले देउवालाई फोन गरेको उनको भनाइ थियो । ‘बेलुका सभापतिज्यू र प्रधानमन्त्रीज्यूको यो बारेमा कुराकानी पनि भएको छ । त्यस्तो केही पनि छैन’, सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले भनिन् ।
बिहीबार मात्र प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले देउवा बैंकक जानुअघि आफूसँग फोनमा कुरा गरेको र उनी फर्किएपछि पुनः आफ्नो संवाद हुने बताएका थिए । प्रचण्डको सो भनाइबाट झस्किएका प्रधानमन्त्री ओलीले देउवा स्वदेश फर्किनुअघि नै फोन गरेका हुन् । यसले सरकार तलमाथि हुनेमा प्रधानमन्त्री ओली चिन्तित देखिएको प्रष्ट पारेको छ ।
१४ महिनापछि शेरबहादुरजी प्रधानमन्त्री बन्नुहुन्छ : प्रधानमन्त्री ओली
यसैबीच प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी १४ महिनापछि आफूले प्रधानमन्त्री पदबाट राजीनामा गर्ने बताएका छन् । शुक्रबार नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । ‘अब १४ महिनापछि मैले राजीनामा गर्छु । शेरबहादुरजी प्रधानमन्त्री हुनुहुन्छ’, उनले भने ।
कांग्रेस–एमाले सहमति अनुरूप आगामी २०८३ असार महिनापछि कांग्रेस सभापति देउवा प्रधानमन्त्री बन्नेछन् । पछिल्लो समय सरकारप्रति नेपाली कांग्रेसका नेताहरूको अभिव्यक्तिका कारण ओली स्वयं यो सहकार्यप्रति विश्वस्त हुन सकेका छैनन् । त्यसकारण उनले सो सहमतीको कुरा हरेकजसो सार्वजनिक कार्यक्रममा दोहो¥याउँदै कांग्रेसलाई विश्वस्त पार्न छुटाउँदैनन् । शुक्रबार पनि उनले सोही अभिव्यक्ति दोहो¥याएका हुन् ।
निर्णायक छलफलको तयारीमा कांग्रेस–एमाले
कांग्रेस–एमाले गठबन्धन सरकारको सम्बन्धमा कांग्रेस नेताहरूका तर्फबाट निरन्तर आलोचना भइरहेपछि शीर्ष तहमा निर्णायक छलफलको तयारी भएको छ । कांग्रेसका नेताहरूले आफूहरूको असन्तुष्टि संस्थागत ढंगले राख्ने तयारी गरिरहेका छन् भने प्रधानमन्त्री पनि कांग्रेससँगको असमझदारी हटाएर अघि बढ्ने मुडमा छन् । सौर्य दैनिकसँग कुरा गर्दै नेपाली कांग्रेसका एक शीर्ष नेताले केही दिनमै सरकारको काम, कारबाही र नेपाली कांग्रेसको असन्तुष्टिको सम्बन्धमा सभापति शेरबहादुर देउवा र प्रधानमन्त्री केपी शर्मा ओलीका बीचमा कुराकानी हुने बताए । आवश्यक परे संयन्त्रको बैठकसमेत बसेर वारपारको स्थिति बनाउनुपर्ने कांग्रेसकै नेताहरूको दबाबमा सभापति देउवा रहेको उनको भनाइ छ ।
प्रतिक्रिया