काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) सम्मानित नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले नेपालका प्रथम कम्युनिष्ट तथा लोकप्रिय प्रधानमन्त्री दिवंगत मनमोहन अधिकारीका उच्च र आदर्शमय कम्युनिष्ट गुणहरुलाई पार्टीमा फैलाउनुपर्नेमा जोड दिएका छन् । मनमोहन अधिकारीको २६औं स्मृति दिवसको अवसरमा श्रद्धासुमन व्यक्त गर्दै खनालले यस्तो बताएका हुन् ।
खनालले भनेका छन्, ‘एउटा शक्तिशाली कम्युनिष्ट पार्टी निर्माण गर्दै नेपालको समाजवादी क्रान्तिलाई सफलीभूत पार्ने र वैज्ञानिक समाजवाद प्राप्त गर्ने जनताको संकल्पलाई दुई गुणा बनाउँदै अघि बढ्नुपर्छ ।’
यस्तो छ, खनालले व्यक्त गरेको श्रद्धासुमन
कमरेड मनमोहन अधिकारी प्रति हार्दिक श्रद्धासुमन !!!
आज वैशाख १३ गते २६ औं मनमोहन स्मृति दिवसको दिन हो । यस अवसरमा नेपालका प्रथम कम्युनिष्ट तथा लोकप्रिय प्रधानमन्त्री दिवंगत कमरेड मनमोहन अधिकारी प्रति उच्च सम्मानका साथ हार्दिक श्रद्धासुमन व्यक्त गर्दछु ।
नेपालको कम्युनिष्ट आन्दोलन र लोकतान्त्रिक आन्दोलनमा दिवंगत क. मनमोहन अधिकारीको योगदान महत्वपूर्ण र अविस्मरणीय छ । वहाँले छोटो समय मात्र सरकारको नेतृत्व गर्ने अवसर प्राप्त गर्नुभयो । तथापि छोटो समयमा नेपाली राजनीति र समाजलाई दूरगामी प्रभाव पार्ने र सदैव स्मरणमा रहिरहने काम गर्न सफल हुनुभयो । क. मनमोहन अधिकारीले जीवनभर आफुलाई मुलुक र नेपाली जनताको हक, हितको रक्षामा समर्पित गर्नुभयो ।
खासगरी आफ्नो प्रधानमन्त्रीत्व कालमा सुरु गर्नुभएको जेष्ठ नागरिक भत्ता, आफ्नो गाउँ आफैं बनाउँ जस्ता कार्यक्रमहरु आजसम्म पनि हरेक नेपालीले बिर्सन सकेका छैनन । तसर्थ, वहाँले नेपाली कम्यूनिष्ट आन्दोलनमा गर्नुभएका योगदानहरु,वहाँले गर्नुभएका अनुकरणीय कामहरु र वहाँका असल गुणहरुबाट हामीले सिक्नुपर्छ । वहाँका योगदानहरूबाट सिङ्गो पार्टीले प्रेरणा लिइरहनुपर्छ । वहाँका उच्च र आदर्शमय कम्युनिष्ट गुणहरुलाई पार्टीमा फैलाउनुपर्छ र एउटा शक्तिशाली कम्युनिष्ट पार्टी निर्माण गर्दै नेपालको समाजवादी क्रान्तिलाई सफलीभूत पार्ने र वैज्ञानिक समाजवाद प्राप्त गर्ने जनताको संकल्पलाई दुई गुणा बनाउँदै अघि बढ्नुपर्छ । यसरी मात्र हामीहरु कमरेड मनमोहन अधिकारीप्रति सच्चा श्रद्धाञ्जली अर्पण गर्न सक्छौ ।
१३ बैशाख, २०८२
झलनाथ खनाल पूर्वप्रधानमन्त्री तथा सम्मानित नेता, नेकपा(एकीकृत समाजवादी)
प्रतिक्रिया