काठमाडौँ । गोरखा भूकम्पको १० औं स्मृति दिवसको अवसरमा आज शुक्रबार धरहरा परिसरमा स्मृति सभा आयोजना गरिएको छ । स्मृति सभामा प्रधानमन्त्री केपी ओली, उपप्रधान तथा शहरी विकासमन्त्री प्रकाशमान सिंह, गृहमन्त्री रमेश लेखकलगायत सहभागी थिए ।
त्यस अवसरमा प्रधानमन्त्री ओलीलगायत मन्त्रीहरु तथा अन्य सहभागीहरुले भूकम्पमा ज्यान गुमाएका व्यक्तिहरुको सम्झनामा मैनबत्ती बालेका थिए । धरहरा परिसरमै भूकम्प सुरक्षा सम्बन्धि उपकरण तथा सामग्रीहरुको प्रदर्शनी समेत गरिएको थियो ।
दश वर्षअघि आजकै दिन (२०७२ वैशाख १२ गते) गोरखाको बारपाक केन्द्रबिन्दु भएर ७.८ रेक्टर स्केलको भूकम्प गएको थियो । भूकम्पमा करिब नौ हजार मानिसले ज्यान गुमाएका थिए भने बाइस हजारभन्दा बढी घाइते भएका थिए। देशभर २८ लाख मानिस तत्कालका लागि घरवारविहीन हुनुका साथै सांस्कृतिक सम्पदा, सडक, जलविद्युत लगायतका विकास परियोजनाका अर्बौंको क्षति हुन पुगेको थियो । सोही भूकम्पमा परी धरहरा पनि ढलेको थियो। ढलेको धरहरा जस्ताको तस्तै संरक्षण गरी सँगै अर्को धरहरा निर्माण गरिएको छ ।
तस्बिरहरु: नेपाल फोटो लाइब्रेरी
प्रतिक्रिया