कांग्रेसलाई फेरि संसद् विघटनको भय !

सरकार ढल्ने संघारमा रहेको माओवादी निष्कर्ष

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) ले कांग्रेस–एमाले गठबन्धनको वर्तमान सरकार धेरै लामो समय नजाने निष्कर्ष निकालेको छ । माओवादी केन्द्रले देशको समग्र राजनीतिक परिस्थितिका कारण जनताले केपी शर्मा ओली नेतृत्वको सरकारको विकल्प खोज्नुपर्ने अवस्था आएको बताएको छ ।
बिहीबार सिंहदरबारमा बसेको संसदीय दलको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकारको आयु धेरै लामो नभएको ब्रिफिङ गरे । यद्यपि, उनले सरकार कहिलेसम्म जान्छ र नयाँ समीकरण कसरी बन्छ भन्ने सन्दर्भमा भने केही खुलाएनन् ।

‘सरकार संकटग्रस्त छ, आफ्नै कारणले ढल्छ’

अध्यक्ष प्रचण्डले सरकार ‘संकटग्रस्त’ अवस्थामा रहेको बताए । उनले शिक्षक आन्दोलन, स्वास्थ्यकर्मी, लघुवित्त पीडित र मिटरब्याजीहरूको निरन्तरको आन्दोलन, तत्कालीन शिक्षामन्त्री विद्या भट्टराईको राजीनामा, गर्भनर नियुक्ति सिफारिस समितिका सदस्यको राजीनामालगायत प्रकरणलाई उदाहरणका रूपमा प्रस्तुत गर्दै सरकार समस्यामा परेको सुनाए ।

त्यस्तै, निजामती कर्मचारीहरू समेत आन्दोलनमा उत्रिन लागेको भन्दै सरकारलाई अर्को समस्या पर्न सक्ने उनले बताए । सत्तारुढ कांग्रेसभित्र सरकारप्रति असन्तुष्टि हुनु पनि सरकार ढल्ने अर्को कारण हुने अध्यक्ष प्रचण्डको भनाइ छ । सरकारको गतिविधिका कारण एमालेभित्र पनि उकुसमुकुस भइरहेको भन्दै उनले सबै अवस्थाका कारण सरकार धेरै लामो समय जान नसक्ने विश्लेषण सुनाए । ‘यो सरकार अरू कसैका कारण होइन, आफ्नै कारणले ढल्छ । कांग्रेसभित्र तीव्र असन्तुष्टि छ । एमालेभित्र पनि उकुसमुकुस छ । सरकार धेरै अगाडि जाने देखिँदैन,’ प्रचण्डलाई उद्धृत गर्दै माओवादी केन्द्रका एक सांसदले सौर्य दैनिकलाई बताए ।

‘बैंकक जानुअघि देउवाको फोन आयो’

प्रचण्डले गत वैशाख ७ गते कांग्रेस सभापति शेरबहादुर देउवा थाइल्यान्डको बैंकक जानुअघि आफूसँग फोन संवाद भएको जानकारी दिए । शिक्षकहरूको समस्या समाधान गर्न सरकार जिम्मेवार नभएको भन्दै प्रतिपक्षी मोर्चाले पनि दबाब बढाउनुपर्ने धारणा राख्ने क्रममा प्रचण्डले देउवासँगको फोन संवादको प्रसंग उठाएका थिए । देउवा स्वदेश फर्किएपछि आफ्नो पुनः कुरा हुने उनले भनेको बैठकमा सहभागी एक सांसदले जानकारी दिए ।
त्यसो त देउवाको बैंकक भ्रमणलाई निकै चासोपूर्वक हेरिएको छ । कांग्रेस पदाधिकारी बैठकमै समेत देउवाको स्वास्थोपचार सिंगापुरमा भइरहेको भए पनि फलोअपका लागि किन बैंकक जानुप¥यो भनेर प्रश्न उठेको थियो । उनको बैंकक प्रस्थानलाई राजनीतिक दृष्टिले पनि हेरिएको छ ।

यता, प्रचण्डको प्रतिनिधिका रूपमा बैंककमा कोही पुगेको छ भन्ने गाइँगुइँ पनि नेपाली राजनीतिक वृत्तमा चलेको छ । बिहीबार देउवा–प्रचण्डको संवादबारे सूचना सार्वजनिक भएपछि बालुवाटारमा तरंग उत्पन्न भएको छ । प्रधानमन्त्री ओलीसमेत सभापति देउवाप्रति सशंकित बनेको बताइएको छ ।

संसद् विघटनको ‘प्लट’ बनाउँदै गरेको आशंका

एमालेसँगको सहमतिअनुसार आगामी २०८३ साउन पहिलो सातासम्ममा कांग्रेस सभापति देउवा प्रधानमन्त्री बन्नेछन् । तर, सो समयसम्ममा प्रधानमन्त्री ओलीले संसद नै रहन नदिन सक्ने भन्दै कांग्रेसका कतिपय नेताले सरकारको विकल्प खोजी सुरु गरेका छन् । ओलीले निर्धारित समयसम्म आफूले प्रधानमन्त्री चलाउने र त्यसपछि सभापति देउवालाई पद हस्तान्तरण नगर्ने आशंका कांग्रेसभित्र बलियो बन्दै गएको छ ।

ओली वर्तमान संसद र नेताहरूप्रति वितृष्णा जगाउने प्रकृतिका काममा उद्यत् रहेको भन्दै उनलाई बेलैमा लगाम लगाउन नसके कांग्रेसले नै दुर्घटना बेहोर्नुपर्ने कांग्रेस नेताहरूको बुझाइ छ । यसअघि संसद् विघटन गरेका बेला देउवा, प्रचण्ड र माधव नेपालले आफूलाई गलत सावित गरिदिएका कारण ओली आफ्नो सो कदमलाई जसरी पनि सही पुष्टि गर्न उद्यत् छन् । नेपाल र प्रचण्डलाई ठेगान लगाइसकेको बुझाइ राखेका ओलीको अबको निशानामा देउवा रहेको बताइएको छ ।

सौर्य दैनिकसँग कुरा गर्दै नेपाली कांग्रेसका एक नेताले प्रधानमन्त्री ओलीका पछिल्लो कार्यशैली हेर्दा उनी कुनै पनि समस्यालाई सहज अवतरण गराउनेभन्दा अवस्था भड्काउन केन्द्रित देखिएको बताए । राजावादी आन्दोलन भड्काउनु, शिक्षक आन्दोलनको सेफल्यान्डिङ गर्न नसक्नु, विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई बर्खास्त गर्नु, उपकुलपति केशरजंग बराललाई राजीनामा दिन बाध्य पार्नु, गर्भनर नियुक्तिमा अलमल गर्नु लगायत कुराहरूले ओली सरकार अवस्था सामान्यीकरण गर्नभन्दा जटिल बनाउनतर्फ उन्मुख देखिएको छ ।

यसको अन्तर्य राष्ट्रिय राजनीतिको माहोल बिगारेर संसद् विघटन गर्नु र मध्यावधि निर्वाचन गर्नु रहेको भन्दै कांग्रेस नेताहरूले सभापति देउवालाई समेत सजग गराएका छन् । यससँगै देउवालाई पूर्वसहमतिबाट ब्याक हुन दबाब परेको छ । ‘प्रधानमन्त्री ओली अवस्था सामान्यीकरण गर्नभन्दा पनि जटिल बनाउन लाग्नुभएको देखिएकै छ । उहाँले जनतामा चौतर्फी आक्रोश र असन्तुष्टि बढाएर आफ्नो राजनीतिक स्वार्थ पूरा गर्न लाग्नुभएको हो कि ! भन्ने हाम्रो आशंका छ,’ कांग्रेसका एक शीर्षस्थ नेताले भने, ‘उहाँ संसद् विघटनको दिशातिर जान आधार तयार पार्दै हुनुहुन्छ । कांग्रेस सजग हुनुपर्छ ।’

चुनावको तयारी गर्न ओलीको निर्देशन

कांग्रेसले प्रधानमन्त्रीबाट मध्यावधि निर्वाचनको आशंका गरिरहेकै बेला प्रधानमन्त्री ओलीले वर्तमान सरकार स्थिरता र स्थायित्वका लागि बनेको भन्दै सरकारको चिन्ता नगरी चुनावको बारेमा चिन्ता गर्न कार्यकर्तालाई निर्देशन दिएका छन् । बिहीबार एमालेले लोकतन्त्र दिवसको अवसरम आयोजना गरेको युथ सेलिब्रेसनलाई सम्बोधन गर्दै उनले भने, ‘यो सरकार स्थिरता र स्थायित्वका लागि बनेको हो । सरकारको बारेमा होइन, चुनावको बारेमा चिन्ता गर्नुपर्छ । एमालेले सरकार बनाऔँ, सरकार बचाऔँ भनेर हेरिरहेको हुँदैन । एमालेले सधैँ चुनाव हेरेको हुन्छ ।’ अढाई वर्षपछि हुने आमनिर्वाचनको तयारी अहिलेदेखि नै ओलीले किन निर्देशन दिए भन्ने प्रश्नले पनि कांग्रेसको आशंकालाई बल पु¥याएको छ ।

सरकार छाड्न सक्ने कांग्रेसको चेतावनी

सत्तारुढ कांग्रेस वर्तमान सरकारप्रति केही अघिदेखि नै असन्तुष्ट छ । तर, पछिल्ला दिनमा भने नेताहरूले सार्वजनिक रूपमै असन्तुष्टि छताछुल्ल पारिरहेका छन् । गत हप्ताको पदाधिकारी बैठकमा सभापति देउवाले प्रधानमन्त्री ओलीसँग आफू कुरा गर्ने भन्दै सरकारको आचोलना सार्वजनिक रूपमा नगर्न निर्देशन दिएका थिए । तर, केही दिनयता जिम्मेवार पदाधिकारीहरूले झनै चर्को स्वरमा सरकारको विरोध गरिरहेका छन् भने आवश्यक परेमा सरकार छाड्नेसम्मको चेतावनी दिएका छन् ।

बुधबार कार्यवाहक सभापति पूर्णबहादुर खड्काले सरकारले कार्यशैली सुधार नगरे अवस्था अर्कै हुन सक्ने संकेत गरेका थिए । सरकारले नागरिकको भावना बुझेर असन्तुष्टि सम्बोधन हुने गरी कार्यशैली सुधार गर्नुपर्ने उनको भनाइ थियो । २ दलबीच भएको सहमतिअनुसार संविधान संशोधन प्रक्रिया अघि नबढेकामा पनि उनको असन्तुष्टि थियो ।

त्यस्तै, बिहीबार महामन्त्री गगन थापाले सरकार सञ्चालनको सन्दर्भमा कतिपय कुरामा कम्प्रोमाइज गरेको भन्दै आवश्यक परे सरकारबाट बाहिरिने चेतावनी दिए । कतिपय कुरामा हामीले कम्प्रोमाइज गरेका छौँ । तर, आधारभूत कुरामा हामी कम्प्रोमाइज गर्दैनौँ । प¥यो भने यस्तो सरकारबाट हामी बाहिर जान्छौँ भन्न सक्नुपर्छ,’ उनले भने ।

प्रतिक्रिया