नवनियुक्त शिक्षामन्त्री पन्तले लिए राष्ट्रपतिबाट शपथ

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तलाई पद तथा गोपनियताको शपथ गराएका छन् । राष्ट्रपतिको कार्यालयमा आज आयोजित विशेष समारोहमा उनले शिक्षामन्त्री पन्तलाई शपथ गराएका हुन् ।

समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख देवाराज घिमिरे, राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहाल, मन्त्रीगढ, सांसदहरु, संवैधानिक निकायका प्रमुखलगायत उपस्थित थिए ।

नेकपा एमालेका नेता पन्तलाई प्रधानमन्त्री ओलीको सिफारिसमा बुधबार राष्ट्रपति पौडेलले शिक्षामन्त्री नियुक्त गरेका थिए । यसअघिका शिक्षामन्त्री विद्या भट्टराईले स्वास्थ्यको कारण देखाउँदै यही वैशाख ८ गते राजीनामा दिएकी थिइन् । नवनियुक्त शिक्षामन्त्री पन्त समानुपातिक निर्वाचन प्रणालीबाट प्रतिनिधिसभा सदस्य हुन् ।

प्रतिक्रिया