काठमाडौं । संघीय संसद्को दुवै सदनको बर्खे अधिवेशन भोलि शुक्रबारदेखि प्रारम्भ हुँदै छ । राष्ट्रपति रामचन्द्र पौडेलबाट मन्त्रिपरिषद्को सिफारिसमा संसद्को दुवै सदनको अधिवेशन आह्वान भएकाले भोलि दिउँसो १ बजे नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा अधिवेशन सुरु हुनेछ ।
नेपालका संविधानको धारा ९३ मा राष्ट्रपतिले समय–समयमा दुवै वा कुनै सदनका अधिवेशन आह्वान गर्ने व्यवस्था छ । तर एउटा अधिवेशनको समाप्ति र अर्को अधिवेशनको प्रारम्भबीचको अवधि छ महिना भन्दाबढी हुन नहुने सवैधानिक व्यवस्था छ ।
संसद्को हिउँदे अधिवेशन गत चैत १८ गते अन्त्य भएको थियो । राष्ट्रपतिले प्रत्येक वर्षको पहिलो अधिवेशन प्रारम्भ भएपछि संघीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्न सक्ने व्यवस्था छ । राष्ट्रपतिबाट नीति तथा कार्यक्रममार्फत संसद्लाई सम्बोधन हुनेछ ।
संवैधानिक व्यवस्था अनुसार जेठ १५ गते आगामी आर्थिक वर्षको लागि अर्थमन्त्री केपी शर्मा ओलीले बजेट प्रस्तुत गर्ने छन३ । यस अधिवेशनलाई बजेट अधिवेशनका नामले पनि सम्बोधन गरिन्छ ।
यही वैशाख १९ गते नीति तथा कार्यक्रम प्रस्तुत हुने र ‘प्री बजेट’ छलफल वैशाख २८ देखि हुने अनुमान छ । बजेट प्रस्तुत हुने १५ दिन अगावै प्री बजेट छलफल हुने कानुनी प्रावधान छ ।
त्यसपूर्व सदनमा विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताका विषयमा प्री बजेट छलफल हुने जनाइएको छ । यस पटक लामो समयदेखि प्रतिक्षा गरिएका संघीय निजामती ऐन र विद्यालय शिक्षासम्बन्धी विधेयक प्रस्तुत भई निष्कर्षमा पुर्याउन कोसिस हुनेछ ।
संसद् सचिवालयले अधिवेशन सञ्चालनका लागि गर्नुपर्ने व्यवस्थापकीय र प्राविधिक आवश्यक सम्पूर्ण तयारी पूरा गरेको सचिवालयका प्रवक्ता एकराम गिरीले जानकारी दिए ।
सदनमा सशक्त रुपमा प्रस्तुत हुन प्रचण्डको निर्देशन
यसैबीच नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शिक्षकका जायज माग पूरा गर्न सरकारलाई सुझाव दिएका छन् ।
साथै उनले आफ्नो पार्टीका सांसदलाई निजामती सेवा ऐनलगायत विधेयक सदनबाट पारित गराउन सक्रियतापूर्वक लाग्नुपर्नेमा जोड दिएका छन् ।
पार्टी संसदीय दलको आज भएको बैठकमा उनले शिक्षक, चिकित्सक तथा लघुवित्त पीडितहरूसँग आफ्नो संवाद भइरहेको सुनाउँदै सरकारलाई पनि समस्या समाधानतर्फ लाग्न सुझाएको अध्यक्ष दाहालको निजी सचिवालयले जनाएको छ ।
अध्यक्ष दाहालले संघीय निजामती सेवा ऐन र विद्यालय शिक्षा विधेयकजस्ता महत्वपूर्ण विधेयकहरू संसदबाट पारित गराउन सबै सांसद सक्रिय हुनुपर्नेमा जोड दिएका थिए ।
‘तराई–मधेस जागरण अभियान’मार्फत माओवादीप्रति पुनः जनविश्वास स्थापित भइरहेको उल्लेख गर्दै अध्यक्ष दाहालले जनाधार भएका व्यक्तिहरू पार्टीमा प्रवेश गरिरहेको र त्यसले संगठनलाई अझ मजबुत बनाएको बताए । बैठकमा पछिल्लो राजनीतिक परिदृश्य, सरकारको कार्यशैली, पार्टीको भूमिका र जनअपेक्षाबारे छलफल भएको थियो ।
प्रतिक्रिया