चितवन । यहाँ निर्माणाधिन गौतमबुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशालाको काम २० प्रतिशत सम्पन्न भएको छ । भरतपुर महानगरपालिका–१५ स्थित संघ र प्रदेश सरकारको सहकार्यमा महानगरपालिकाले रंगशाला निर्माण गरिरहेको छ ।
धुर्मस–सुन्तली फाउण्डेसनले काम गर्न नसकेपछि महानगरपालिकाले अपनत्व लिइ काम अघि बढाएको थियो । हिमालयन कालिञ्चोक बिबिआर जेभीले बोलपत्र सकारेर काम गरिरहेको छ । महानगरपालिकाका डिभिजनल इन्जिनियर सन्तोष आचार्यका अनुसार चार वटा ‘प्याराफिट’मध्ये एउटाको ढलाइ सम्पन्न गरिएको छ ।
अर्को ढलानको तयारीमा छ । दुवै टावरको पहिलो तल्लाको ढलानको तयारी हुँदै छ । अहिले दैनिक १७० जनाभन्दा बढी कामदारले बिहान ०८ बजेदेखि बेलुका ९ बजेसम्म काम गरिरहेको आचार्यले बताए । छड र सिमेन्ट सहज उपलब्धता नहुँदा काममा केही कठिनाइ भए पनि सामग्री जुटाएर काम भइरहेको उनले बताए ।
गत साउनमा बिबिआर जेभीले निर्माण सुरु गरेको हो । विसं २०८३ पुस २२ गतेसम्ममा रंगशाला निर्माण सम्पन्न गर्ने गरी रु ७८ करोड ५० लाख ९१ हजार १८९ मा ठेक्का लगाइएको हो । गत असार २३ मा ठेक्का सम्झौता गरी काम सुरु गरिएको हो । रंगशाला निर्माणका लागि संघीय सरकारले रु २५ करोड र प्रदेश सरकारले रु १० करोड उपलब्ध गराइसकेका छन् ।
प्रदेश सरकारले ७० प्रतिशत र संघीय सरकारले ३० प्रतिशत उपलब्ध गराउने सहमति अनुसार रंगशालाको काम अघि बढेको हो । अन्तराष्ट्रियस्तरको मापदण्ड अनुसार रंगशाला निर्माण भइरहेको छ ।
पहिलो चरणको यो काम सम्पन्न भएसँगै अन्तरराष्ट्रियस्तरका खेल यहाँ आयोजना गर्न सकिने छ । त्रिभुवन विश्व विद्यालयको नाममा रहेर कृषि तथा वन विज्ञान विश्व विद्यालयले उपयोग गरिरहेको २० विघा १९ कठ्ठा जमिनमा रंगशाला निर्माण भइरहेको छ । गर्मी भएकाले साँझ र रात्रीकालिन समयमा समेत खेल खेलाउन बत्तिको व्यवस्था गर्न महानगरपालिकाले संघीय सरकारसँग अनुरोध गरेको छ ।
महानगरपालिकी प्रमुख रेनु दाहालले सम्झौता अनुसार तालिकामा काम भइरहेको बताइन३ । महानगरबाट गर्नुपर्ने आवश्यक सहजीकरण महानगरले गरिरहेको उनले जानकारी दिइन३ । सम्झौता अवधिभित्रै काम सम्पन्न हुनेमा विश्वस्त रहेको उनको भनाइ छ ।
प्रतिक्रिया