काठमाडौं । सांंसदहरुले शिक्षकका आन्दोलनलाई सरकारले सम्बोधन गर्न ढिलाइ गर्न नहुने सुझाव दिएका छन् ।
आज राष्ट्रियसभा, सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको २७५औँ बैठकमा समितिका सांसदहरुले लामो समयसम्म शिक्षक आन्दोलनरत रहँदा पनि सरकारले गम्भीर रुपमा नलिएकाले तत्काल सम्बोधन गर्नका लागि समितिमार्फत सरकारलाई सुझाव दिनुपर्ने बताएका हुन् ।
बैठकमा सांसद गोमादेवी तिमल्सेनाले लामो समयको आन्दोलनले विद्यार्थीको पढाइमा असर परिरहेकाले यस विषयमा सरकार गम्भीर हुनुपर्ने बताइन् ।
‘अहिले पनि शिक्षक विभिन्न मागसहित आन्दोलनरत छन्, जसले गर्दा विद्यार्थीको भर्ना रोकिएको अवस्था छ, उनीहरुको आन्दोलनलाई कसरी सम्बोधन गर्न सकिन्छ ? भनेर सरकारलाई सुझाव दिनुपर्छ’, उनले भनिन् ।
उनले गोरखास्थित बारपाकमा २०७२ को भूकम्पपछिको पुनर्निमाण र सामाजिक अवस्थाबारे अवलोकन गर्न आवश्यक रहेको सुझाव दिइन् ।
सांसद सुमित्रा विसीले पछाडि परेका प्रदेशहरुलाई नीति तथा कार्यक्रममा प्राथमिकता दिनुपर्ने माग गरिन् । समितिका सभापति मायाप्रसाद शर्माले बैठकमा उठाइएका विषयबस्तुलाई सम्बोधन गर्न छलफल गरिने प्रतिबद्धता जनाए ।
प्रतिक्रिया