काठमाडौं । नेपाली जनसम्पर्क समिति नर्वेको पाँचौं अधिवेशन भव्य, अनुशासित र लोकतान्त्रिक वातावरणमा सम्पन्न भएको छ । अधिवेशनले पारस मणि मिश्रलाई नयाँ अध्यक्षमा निर्वाचित गरेको छ । मिश्रले २८३ मत प्राप्त गर्दै विजयी हुँदा उनका प्रतिस्पर्धी सालिग्राम अर्यालले १८६ मत प्राप्त गरेका थिए ।
कुल ४४४ भौतिक र ३५ अनलाइन गरी ४७९ मत खसेकोमा १० मत बदर भएका थिए। उपाध्यक्ष पदमा गणेश थापा, चक्र विक्रम शाही, रमेश आघिमिरे र गिरीराज अधिकारी निर्वाचित भएका छन् ।
निर्विरोध निर्वाचित पदाधिकारीहरूमा वरिष्ठ उपाध्यक्षमा पूर्ण बहादुर शाही, महासचिवमा सुरेश कुमार यादव र रमेश सुवेदी, सहमहासचिवमा नरेश बास्कोटा, विनोद श्रेष्ठ, कृष्ण बहादुर खत्री तथा कोषाध्यक्षमा निर्मला परियार रहेका छन् । सदस्यहरूमा नवराज श्रेष्ठ, रमेश तिम्सिना, राघव चन्द्र अधिकारी, विष्णु पौडेल, नविन सापकोटा र घनश्याम तिवारी निर्वाचित भएका छन् ।
कार्यक्रमको अध्यक्षता समितिका तत्कालीन अध्यक्ष जितेन्द्र बिक्रम शाहीले गरेका थिए। प्रमुख अतिथिका रूपमा नेपाली कांग्रेसका केन्द्रीय प्रतिनिधि तथा जनसम्पर्क समिति भारतका सभापति बालकृष्ण पाण्डे सहभागी थिए । नेपाली कांग्रेसले निर्वाचन अधिकृतको जिम्मेवारी नवीन थपलियालाई दिएको थियो ।
प्रमुख अतिथि पाण्डेले विदेशमा रहेका नेपालीहरूको सीप, पूँजी र नेटवर्कको सदुपयोग गर्दै नेपालमा रोजगारी सिर्जना र समृद्धि ल्याउन सकिने बताउँदै, पर्यटन प्रवर्द्धनका लागि प्रवासी नेपालीहरूले आ–आफ्नो ठाउँबाट पहल गर्नुपर्नेमा जोड दिए । अधिवेशनलाई नमूना सभाका रूपमा चित्रण गर्दै उनले अनुशासन र समावेशिताको प्रशंसा गरेका थिए ।
निर्वाचन अधिकृत थपलियाले निष्पक्ष, समावेशी र पारदर्शी निर्वाचनका लागि सबैलाई बधाई दिँदै, यसपटकको निर्वाचन धेरै सहभागीहरूको लागि पहिलो अनुभव भएको र लोकतान्त्रिक प्रक्रियाको अभ्यासमा उनीहरूले नयाँ अनुभव लिएको बताए ।
बन्द सत्रमा विधान संशोधनसम्बन्धी छलफल हुनुका साथै नर्वेमा नेपाली राजदूतावास स्थापनाका लागि जनसम्पर्क समितिले पहल गर्नुपर्ने प्रस्ताव पारित गरिएको थियो । साथै, नेपाली कांग्रेसको १५औँ महाधिवेशनका लागि महासमिति सदस्यमा पारस मणि मिश्र, जितेन्द्र बिक्रम शाही र कविन्द्र ढकाल चयन भएका छन् । महाधिवेशन प्रतिनिधिमा सुरेश कुमार यादव, जीवन बहादुर शाही, सुरेन्द्र केसी र आविष्कार बास्तोला चयन भएका छन् ।
अधिवेशनको समापन सत्रमा निवर्तमान सभापति जितेन्द्र बिक्रम शाहीले आफ्नो कार्यकालमा संस्थागत सुदृढीकरण, पारदर्शिता र सहकार्यलाई प्राथमिकता दिएको उल्लेख गर्दै नयाँ कार्यसमितिलाई समेत त्यही मार्गमा अघि बढ्न सुझाव दिए । उनले निर्वाचन व्यवस्थापन टिम, स्वयंसेवक, मतदाता तथा सबै सहभागीलाई विशेष धन्यवाद ज्ञापन गरे ।
अधिवेशनको अवसरमा बास्केटबल, फुटबल जस्ता खेलकुद कार्यक्रमको आयोजना गर्ने र राष्ट्रिय खेलाडीहरूलाई सम्मान गर्ने योजना पनि अगाडि सारिएको छ ।
प्रतिक्रिया