काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले पदबाट राजीनामा दिएपछि प्रधानमन्त्री केपी शर्मा ओली रक्षात्मक देखिएका छन् । मन्त्री भट्टराईले सोमबार आफ्नो पदबाट राजीनामा दिएकी हुन् ।
नेपाल शिक्षक महासंघले विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्दै गत २० चैतदेखि काठमाडौँ केन्द्रित सडक आन्दोलन गरिरहेको छ । शिक्षकहरूको माग र मुद्दालाई सम्बोधन गर्न विभिन्न चरणमा महासंघका प्रतिनिधिहरूसँग छलफल गरेकी उनले सरकारको तर्फबाट शिक्षकहरूको माग सम्बोधन गराउन नसक्ने अवस्था आएपछि पदबाट राजीनामा दिएकी हुन् । शिक्षकको माग समेटेर ७ बुँदे निर्णयको मसौदा तयार गर्दै उनले मन्त्रिपरिषद्बाट निर्णय गराउन चाहेकी थिइन् ।
तर, शिक्षक आन्दोलनको बेवास्ता गर्दै प्रधानमन्त्री केपी शर्मा ओली माग पूरा गर्न तयार नभएपछि मन्त्री भट्टराईले राजीनामा दिएकी हुन् । उनले पदबाट राजीनामा दिएसँगै प्रधानमन्त्री ओलीको तीव्र विरोध र आलोचना भएको छ । स्वास्थ्यको कारण देखाउँदै राजीनामा दिए पनि मन्त्री भट्टराईको शिक्षकहरूको माग सम्बोधन गर्ने विषयमा प्रधानमन्त्रीसँग मतभेद भएपछि राजीनामा आएको हो । उनले राजीनामाको कारणबारे सार्वजनिक रूपमा अभिव्यक्ति नदिए पनि प्रधानमन्त्री ओली स्वयं आफ्नो प्रतिरक्षामा उभिनुपर्ने अवस्था सिर्जना भएको छ ।
पार्टीभित्रै राजीनामाको कारण खोजी
मन्त्री भट्टराईले अनपेक्षित रूपमा राजीनामा दिएपछि उनको समर्थनमा मत बलियो बनेको छ । नैतिकताका आधारमा राजीनामा दिनु आवश्यक थियो भन्दै सार्वजनिक रूपमा उनको प्रशंसा भइरहेको छ भने एमालेमा भने दुई मत देखिएको छ । पार्टीभित्र उनले राजीनामा दिनुको कारण खोजी भइरहेको छ । नेताहरूले सार्वजनिक रूपमा उनले राम्रो काम गरिरहँदा पनि राजीनामा दिनुपर्ने अवस्था किन सिर्जना भयो भनी प्रश्न गरेका छन् ।
एमाले उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले भट्टराई सक्षम, इमानदार र उच्च नैतिकता भएको असल नेता भएकैले शिक्षक आन्दोलन चलिरहेको बेला राजीनामा दिनुपरेको हो ? भनेर प्रश्न गरेकी छिन् । उनले भट्टराईलाई किन सहयोग भएन ? भनेर पनि प्रश्न गरिन् । ‘शिक्षक आन्दोलन चलिराखेका बेला शिक्षामन्त्री विद्या भट्टराईले राजीनामा किन दिनुप¥यो ? विद्या भट्टराई सक्षम, इमानदार, नैतिकता उच्च भएको एउटा असल नेता भएको कारणले राजीनामा दिनुपरेको हो ?’ शाक्यले प्रश्न गरिन्, ‘उहाँलाई सहयोग किन भएन ?’
त्यस्तै पोलिटब्युरो सदस्य सूर्य थापाले भट्टराईले राजीनामा दिनु अनपेक्षित र असान्दर्भिक भन्दै राजीनामा दिनु जरुरी नभएको बताए । उनले राजीनामा स्वीकृत गर्नु नहुने धारणा पनि राखेका छन् । सौर्य दैनिकसँग कुरा गर्दै एमालेका एक पदाधिकारीले पार्टीभित्र मन्त्री भट्टराईप्रति सहानुभूति र अध्यक्ष ओलीप्रतिको असन्तुष्टि बढेको बताए । उनले प्रधानमन्त्रीकै कारण शिक्षक आन्दोलन समाधानको बिन्दुतिर नजाने खतरा बढेको भन्दै मन्त्री राजीनामा प्रकरणले झनै पेचिलो बनेको बताए ।
आफ्नो बचाउ गर्दै ओली
मन्त्री राजीनामा प्रकरणमा आफ्नो चौतर्फी आलोचना भएपछि प्रधानमन्त्री ओलीले आफूले मन्त्रीलाई असहयोग नगरेको प्रष्टोक्ति दिएका छन् । मंगलबार नेपाल कम्युनिस्ट पार्टी स्थापनाको ७६औँ वर्ष प्रवेशको अवसरमा काठमाडौँमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले आफूविरुद्ध गलत प्रचारबाजी भएको बताए । उनले आफूले सहयोग गरिरहेको भन्दै मन्त्री भट्टराईले स्वास्थ्यका कारण राजीनामा दिएको स्पष्टीकरण दिए ।
‘एक जना मन्त्रीले राजीनामा दिनुभयो भन्ने खुब प्रचारबाजी छ । किन दिनुभयो अरे भन्दा प्रधानमन्त्रीले बसिखानै दिएन रे ! मैले बनाएको मन्त्री । मैले काम लगाइराखेको छु । सहयोग गरिराखेको छु । सिकाइराखेको छु,’ ओलीले भने, ‘धेरै ठुलो छ शिक्षा मन्त्रालय । सजिलो पनि छैन । उहाँले स्वास्थ्यको कारण देखाउनुभएको छ । स्वास्थ्यको कारण उहाँले काम गर्न सक्नुभएन ।’ उनले पार्टी भित्रबाटै विरोधीलाई सहयोग पुग्ने गरी बोल्ने गरिएको भन्दै असन्तुष्टि समेत व्यक्त गरेका छन् ।
हल्का रूपमा नलिन प्रतिपक्षीको चेतावनी
सरकार र शिक्षक महासंघको आ–आफ्नो रटानका कारण आन्दोलन पेचिलो मोडमा पुगेका बेला प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) ले शिक्षकहरूको समस्यालाई हल्का रूपमा नलिन सरकारलाई चेतावनी दिएको छ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शिक्षकहरूलाई अपमानित गर्न छाडेर वार्ता र संवाद गर्न आग्रह गरेका हुन् । ‘शिक्षकहरूसँग बसेर किन कुरा गरिँदैन ? किन शिक्षकहरूलाई अपमानित गरिन्छ ? म सरकारलाई खबरदारी गर्न चाहन्छु– शिक्षकहरूको समस्यालाई हल्का रूपले नलिइयोस्,’ उनले भने, ‘सरकारले शिक्षकको मुद्दामा आमशिक्षकलाई अपमानित गर्ने काम बन्द गरेर तुरुन्तै घनीभूत रूपले वार्ता, संवाद गरेर हल गर्न कोसिस गरोस् ।’
प्रतिक्रिया