मुगु । २१ दिनदेखि देशैभरीका शिक्षकहरू काठमाडौंमा आन्दोलन गरिरहेका बेला मुगुको छायाँनाथ रारा नगरपालिकाले शिक्षकहरुलाई विद्यार्थी भर्ना तथा नियमित कार्य सञ्चालन गर्न आग्रह गरेको छ । छायाँनाथ रारा नगरपालिकाले मंगलबार एक सूचना जारी गदै छायाँनाथ रारा नगरपालिकाभित्र रहेका ४५ वटा सामुदायिक विद्यालयमा कार्यरत शिक्षकहरुलाई विद्यार्थी भर्ना अभियान तथा नियमित कार्य सञ्चालन गर्न आग्रह गरेको हो ।
नेपाल शिक्षक महासंघद्वारा घोषित आन्दोल निरन्तर रुपमामा २१ दिनदेखि जारी रहेका बेला विद्यार्थीको भर्ना अभियान प्रभावित भएको भन्दै मुगुको छायाँनाथ रारा नगरपालिकाले यस नगरपालिकामा रहेका सामुदायिक तथा संस्थागत विद्यालयलाई विद्यार्थी भर्ना अभियान तथा नियमित कार्य सञ्चालन गर्न आग्रह गरेको हो । गत चैत २० गतेदेखि देशैभरका शिक्षकहरुले शिक्षा ऐन लगायत विभिन्न विषयको माग गर्दै आन्दोलन गर्दै आइरहेका छन् ।
शिक्षकहरुले उठाएका मागहरुको सन्दर्भमा छायाँनाथ रारा नगरपालिका संवेदनशील छ । शिक्षकहरुको मागको समर्थन गर्दा विद्यालयमा अध्ययनरत बालबालिकाको पढ्न पाउने अधिकारलाई सुनिश्चितता हामी सबैको दायित्व भएकाले शिक्षा विकास तथा मानव स्रोत विकास केन्द्रको पत्रलाई आत्मसाथ गर्दै शैक्षिक सत्र २०८२ को नयाँ भर्ना अभियान सञ्चालन गर्न सूचना जारी गर्दै आग्रह गरिएको नगरप्रमुख बिष्णु कुमार भामले बताए ।
‘सबै बालबालिकाको विद्यालयमा सहभागिता, गुणस्तरीय शिक्षा प्राप्तीको सुनिश्चितता’ भन्ने मुल नाराका साथ छायाँनाथ रारा नगरपालिका भित्रका सामुदायिक विद्यालय तथा संस्थागत विद्यालयहरुलाई विद्यालय उमेर समूहका सबै बालबालिकालाई विद्यालयमा भर्ना गराई विद्यालयका शैक्षिक तथा प्रशासनिक कार्य गराउन निर्देशनसहित आग्रह गरिएको नगरप्रमुख भामको भनाई छ ।
मुगु
प्रतिक्रिया