तीनकुने घटनामा पक्राउ परेका नेताको रिहाइ माग गर्दै राप्रपाको प्रदर्शन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले राजतन्त्र पुनर्स्थापना र पक्राउ परेका नेताको रिहाइको माग गर्दै काठमाडौं जिल्ला प्रशासन कार्यालय परिसरमा प्रदर्शन गरेको छ ।

गत चैत १५ गते काठमाडौंको तीनकुनेमा भएको प्रदर्शनको घटनामा पक्राउ परेका नेताहरुको रिहाइको माग आज मंगलबार राप्रपाले प्रदर्शन गरेको हो । ‘अवस्था बदल्न व्यवस्था बदलौँ’ भन्ने नाराका साथ राप्रपा काठमाडौं जिल्ला इकाइले प्रदर्शन गरेको हो ।

देशभरका जिल्ला प्रशासन कार्यालय अगाडि प्रदर्शनका साथै राप्रपाले विज्ञप्ति समेत बुझाएको छ । गत चैत १५ गते राजसंस्था पुनःस्थापनाको मागसहित भएको प्रदर्शन हिंसात्मक भएको थियो ।

उक्त घटनामा एक पत्रकारसहित दुई जनाको ज्यानै गएको थियो । त्यसैगरी काठमाडौंका विभिन्न स्थानमा आगजनी, तोडफोड र भाटभटेनी सुपरमार्केटमा लुटपाट समेत भएको थियो । यही घटनामा संलग्न भएको आरोपमा राप्रपाका नेतासहित धेरै पक्राउ परेका छन् ।

प्रतिक्रिया