काठमाडौँ । गत १५ चैतमा राजावादीहरूले तिनकुनेमा गरेको हिंसात्मक प्रदर्शनमा भएको सुरक्षा कमजोरी छानबिन गर्न भन्दै प्रहरीले समिति गठन गरेको छ । नवराज सुवेदीले नेतृत्व गरेको राजसंस्था पुनस्र्थापनाका लागि संयुक्त जनआन्दोलन समिति र दुर्गा प्रसाईं नेतृत्वको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’ ले गरेको प्रदर्शन भड्किएपछि २ जनाको मृत्यु भएको थियो भने दर्जनौँ घाइते भएका थिए ।
सो घटनामा परी कीर्तिपुर निवासी सविन महर्जन र एभिन्युज टेलिभिजनमा कार्यरत पत्रकार सुरेश रजकको मृत्यु भएको थियो । महर्जनको प्रहरीको गोली लागेर मृत्यु भएको थियो । सो दिन प्रहरीको सुरक्षा कमजोरीका कारण प्रदर्शन हिंसात्मक बनेको भन्दै प्रहरीको आलोचना भइरहेको छ ।
प्रहरीको सुरक्षा कमजोरी पत्ता लगाउन भन्दै उपत्यका प्रहरी कार्यालयले एसएसपी शेखर खनालको संयोजकत्वमा ७ सदस्यीय छानबिन समिति गठन गरेको हो । समितिले सो दिनको प्रहरीको सक्रियता र कमजोरीहरूको सम्बन्धमा आन्तरिक अध्ययन गरेर प्रतिवेदन पेस गर्ने जनाइएको छ । प्रहरीले प्रदर्शनमा संलग्न विभिन्न व्यक्तिहरूलाई पक्राउ गरिरहेको छ ।
प्रतिक्रिया