लिभरपुल उपाधिको नजिक

लन्डन । ट्रेन्ट एलेक्जेन्डर–आर्नोल्डले दोस्रो हाफमा निर्णायक गोल गर्दै आइतबार लिभरपुललाई लेस्टर सिटीमाथि १–० को कठिन जित दिलाए । योसँगै लिभरपुल इतिहास बराबरी गर्ने २०औं इंग्लिस प्रिमियर लिग उपाधिनजिक पुगेको छ । यदि दोस्रो स्थानमा रहेको आर्सनलले बुधबार क्रिस्टल प्यालेससँग हार्ने हो भने लिभरपुललाई उपाधि जित्नका लागि अर्को खेल कुर्न पनि पर्दैन । जुनसुकै नतिजा आए पनि लिभरपुलले आइतबार एनफिल्डमा टोटनह्याममाथि जित निकाल्नसके उपाधि निश्चित हुनेछ ।

‘अब केवल एक जित टाढा, यो धेरै नजिक छ,’ आर्नोल्डले गोल गरेपछि आफ्नो जर्सी फाल्दै भने । आर्सनलले आइतबार प्रारम्भिक खेलमा इप्सविचलाई ४–० ले पराजित गर्दै लिभरपुलको उपाधि उत्सव केही समय रोकिदिएको थियो । किंग पावर स्टेडियममा लामो समयसम्म लेस्टरले लिभरपुललाई दबाबमा राखेको थियो । कोनर कोडीको गोल अफसाइडका कारण अस्वीकार पनि गरिएको थियो ।

यो हारले २०१६ को प्रिमियर लिग विजेता लेस्टर सिटीलाई रेलिगेसन भोग्न बाध्य बनायो । लिभरपुलले अब केवल एक जितले म्यानचेस्टर युनाइटेडको २० उपाधिको कीर्तिमान बराबरी गर्न सक्छ । आर्नोल्डले ७६औँ मिनेटमा लेस्टरका गोलकिपर म्याड्स हेर्मान्सनलाई बिट गर्दै गोल गर्दा उनको अनुहारमा देखिएको खुसी उपाधिको महत्व दर्शाउँथ्यो ।

यो सिजनको अधिकांश समय उपाधिको दौडमा अगाडि रहेको लिभरपुल पछिल्लो केही खेलमा भने दबाबमा देखिएको छ । लेस्टरका विल्फ्रेड न्दिडीले पहिलो हाफमा पोस्ट हानेका थिए भने कोनर कोडीको गोल अफसाइडको कारण अस्वीकार गरिएको थियो ।

आर्नोल्ड सिजनको अन्त्यमा रियल मड्रिड जाने चर्चा भइरहेको छ । उनले निर्णायक क्षणमा गोल गर्दै समर्थकहरूसँग उत्सव मनाए । आइतबार नै दोस्रो स्थानको आर्सनलले पनि इप्सविच टाउनलाई ४–० ले हरायो । आसर्नलका लागि लियेन्ड्रो ट्रोसार्डले २ गोल गरे । गाब्रियल मार्टिनेली तथा एथन एनवारीले थप गोल गरे । चेल्सीले फुलहामलाई २–१ ले हरायो ।

अर्को खेलमा उल्भ्सले म्यानचेस्टर युनाइटेडलाई १–० ले हरायो । तालिकामा लिभरपुलको ६६ तथा आर्सनलको ६६ अंक छ । तेस्रो स्थानको न्यु क्यासलको ५९ तथा म्यानचेस्टर सिटीको ५८ अंक छ । पाँचौँ स्थानको चेल्सी, छैटौँ स्थानको नटिङ्घम फरेस्ट तथा सातौँ स्थानको अस्टन भिल्लाको समान ५७ अंक छ । तर फरेस्टले १ खेल कम खेलेको छ ।

रियल म्याड्रिडले यस सिजनको स्पेनिस ला–लिगामा आफूलाई उपाधिको होडमा कायम नै राखेको छ । आइतबार राति भएको खेलमा फेडरिको भेल्भार्डेले इन्जुरी समयमा गरेको गोलको सहयोगमा एथलेटिक क्लबलाई १–० ले हराएको रियलले उपाधिको होडमा आफूलाई कायमै राखेको हो ।

बराबरीतर्फ उन्मुख खेलमा भेलभार्डेले प्रहार गरेको बल गोलमा परिणत भएको थियो । उनको रियलका लागि यस सिजनमा यो छैटौँ गोल हो । फ्रान्सेली स्टार केलिएन एम्बाप्पे गत खेलमा रातो कार्ड पाएका कारण आइतबारको खेलमा सहभागी हुन पाएनन् । जितपछि रियल म्याड्रिड ६ खेल बाँकी रहेको समयमा शीर्ष स्थानको बार्सिलोना भन्दा ४ अंकले पछि छ ।

ला–लिगामा आइतबार भएका अन्य खेलमा ओसासुनाले रियल भालाडोलिडलाई ३–२ ले हरायो । भिल्लारियल र रियल सोसीडाड बीचको खेलमा २–२ गोलको बराबरी भयो । सेभिया र डेपोर्टिभो अल्भासको बीचमा १–१ गोलको बराबरी गरेका छन् । तालिकामा बार्सिलोनाको ७३, रियल म्याड्रिडको ६९, एट्लेटिको म्याड्रिडको ६९ तथा एट्लेटिको क्लबको ५७ अंक छ ।

प्रतिक्रिया