बेइजिङ । चीनको वाणिज्य मन्त्रालयले अमेरिकासँग आफ्नो देशलाई हानि पुर्याउने किसिमका यस्ता व्यापार सम्झौता गर्ने मुलुकहरूको पनि विरोध गर्ने बताएको छ । चिनियाँ वाणिज्य मन्त्रालयले कसैले त्यस्तो सम्झौता गरेमा कडा जवाफी कदम चालिने चेतावनी पनि दिएको छ । बिबिसीका अनुसार चीनको वाणिज्य मन्त्रालयले भनेको छ– तुष्टीकरणले शान्ति ल्याउने छैन र चीन अमेरिकाको एकपक्षीय नीतिविरुद्ध लड्न अन्य मुलुकसँग मिल्न तयार छ ।
अमेरिकाले अन्य देशलाई भन्सार कर छुटको बदलामा चीनसँगको व्यापार सीमित गर्न दबाब दिन सक्छ भन्ने चर्चापछि चीनको उक्त अभिव्यक्ति आएको हो ।
अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनविरुद्ध चर्को भन्सार शुल्क घोषणा गरेपछि २ देशबीच कर युद्ध सुरु भएको छ । प्रतिशोधका कारण चीनविरुद्ध लगाइएको अमेरिकी कर १४५ प्रतिशत पुगेको छ भने अमेरिकी सामानमा बेइजिङको कर १२५ प्रतिशत पुगेको छ । यसैबीच अमेरिकाले चिनियाँ जहाजहरूमा बन्दरगाह शुल्क लगाउने योजना पनि बनाएको छ ।
प्रतिक्रिया