पत्रकारलाई संसदीय समितिको बैठकमा रोक लगाउन एमाले सांसद रघुजी पन्तको माग

काठमाडौं । नेकपा एमालेका सांसद रघुजी पन्तले पत्रकारहरूलाई संसदीय समितिको बैठकमा रोक लगाउन माग गरेका छन् ।

सोमबार बसेको सिंहदरबारमा ‘संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८०’ का सम्बन्धमा गठित उपसमितिको प्रतिवेदनमाथि छलफलका क्रममा उनले संसदीय समितिको बैठकमा पत्रकारलाई रोक लगाउन माग गरेका हुन् ।

पत्रकारहरुको कारण मिथ्या सूचना फैलिने डरले सरकारी कर्मचारीहरू समितिमा आएर बोल्ने अवस्था नरहेको जिकिर गर्दै सांसद पन्तले अन्तर्राष्ट्रिय अभ्यासहरू पनि त्यस्तो रहेको दाबी गरे ।

‘यहाँ मिस इन्फरमेसन हुन थाल्यो, अर्को पटक को मुख्यसचिव आउँछ ? जसले यहाँ बोलेको कुरा बाहिर अपव्याख्या भएर उसको विरुद्धमा नारा लाग्न थालेपछि कुन मुखले मुख्यसचिवले आएर बोल्छ ? को कर्मचारी आएर बोल्छ समितिमा ? हामीले उत्तरदायी हुनुपर्दैन ?,’ पूर्वपत्रकार समेत रहेका पन्तले भने, ‘इन्टरनेशनल प्राक्टिस पनि हेरौँ हामीले यत्तिकै भनेको होइन ।’

‘मैले अमेरिका, क्यानडा, अस्ट्रेलियाको प्राक्टिस हेरेँ,’ उनले थपे ‘ पत्रकारको लागि १०० मा १०० प्रतिशत कुनै पनि बैठक खुला हुँदैन, भारत र बंगलादेशमा समितिको बैठकमा प्रेसलाई नो इन्ट्रि छ ।

फाइनल रिपोर्ट मात्र दिने हो, समितिले फाइनल गरेपछि मात्रै प्रेसको हातमा पुग्नुपर्यो ।’ त्यस्तै उनले समितिले पारित नै नगरेको भ्रष्टाचारमा दोषी ठहर कर्मचारीलाई पेन्सन दिने विषय बाहिर आएकोप्रति आपत्ति जनाए ।

प्रतिक्रिया