शिक्षकहरुको आन्दोलनले यात्रुलाई दैनिक सास्ती, २० दिनदेखि अशान्त छ बानेश्वर सडक

काठमाडौं । काठमाडौंको सबैभन्दा व्यस्त मानिने माइतीघर–नयाँ बानेश्वर सडकखण्ड पछिल्ला २० दिनदेखि अशान्त छ । विभिन्न माग राखेर शिक्षकहरु शान्तिपूर्ण आन्दोलनमा होमिए पनि शिक्षकहरुका कारण हरेक दिन लाखौँ व्यक्तिहरुले दुःख पाइरहेका छन् ।

सरकारसँग विभिन्न माग राखेर आन्दोलित शिक्षकहरु आफ्ना माग पूरा गरेरै छाड्ने र सम्झौतामा नटुंग्याउने नीतिका कारण सरकारसँग वार्ताका लागि पनि तयार भएका छैनन् । उनीहरुले यतिबेला अनौपचारिक छलफललाई भने निरन्तरता दिएका छन् । हरेक दिन ‘पिक आवर’मा प्रमुख मार्ग अवरुद्ध हुँदा यसको मारमा विद्यार्थी, कर्मचारी, व्यवसायीलगायतका यात्रु परेका छन् ।

शिक्षकको आन्दोलनका कारण आफ्नै तालिका नै बिग्रिएको बताउँछन्, भक्तपुर लोकन्थली बस्ने ३५ वर्षीय रामप्रसाद दाहाल । उनी हरेक दिन बिहान साढे ९ बजे लोकन्थलीबाट न्यूरोडस्थित कार्यालयमा काम गर्न जाँदा तीनकुने–माइतिघर सडकखण्ड प्रयोग गर्छन् । सामान्यतयाः आधा घण्टा लाग्ने समयमा आज उनलाई कार्यालय पुग्न सवा एक घण्टाभन्दा बढी लाग्यो । ‘जहिल्यै पनि आधा घण्टामा अफिस आइपुग्थे, आज त हाजिर नै छुट्यो, यो आन्दोलन छिटो सकिए हामीलाई पनि राहत हुने थियो’, उनले भने ।

पुरानो बानेश्वर बस्ने २८ वर्षीया मीना लामाको पनि समस्या उस्तै छ । उनलाई पनि ११ बजेसम्म कार्यालय पुग्नैपर्छ । बैशाखको चर्को घाममा लामो जाम बसेर कार्यालय पुग्न आफूलाई हम्मेहम्मे परेको उनको भनाइ छ । आन्दोलनकारीहरुले आफ्ना माग पूरा गराउनका लागि सर्वसाधारणलाई दुःख दिन जायज नभएको उनको बुझाइ छ ।

शिक्षकहरुको सुरक्षाका लागि हजारौँ जनशक्ति हरेक दिन खटिएका छन् भने ट्राफिक प्रहरीका लागि सवारी व्यवस्थापन टाउको दुखाइ बनेको छ । शिक्षकको विरोध र्‍यालीका कारण राजधानीको सुरक्षा व्यवस्था, सवारीसाधन आवागमनमा चुनौती थपिएको छ ।

वैशाख ६ गतेसम्म दिनसम्म दिउँसो १२ देखि ३ बजेसम्म शान्तिपूर्ण रुपमा विरोध र्‍याली गरिरहेका शिक्षकहरुले वैशाख ७ गतेदेखि समयतालिका परिवर्तन गरी बिहान ९ देखि १२ बजेसम्म बनाएपछि विद्यार्थी, कार्यालय पुग्ने हतारोमा रहने कर्मचारी, व्यवसायीलगायतका यात्रु सबैभन्दा ठूलो मारमा परेका छन् । मानिसहरु माइतीघरदेखि तीनकुनेसम्म पैदल हिँड्न बाध्य छन्भने सवारीसाधन ‘डाइभर्सन’मा चुनौती थपिएको छ ।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता तथा प्रहरी उपरीक्षक दीपक गिरीका अनुसार आन्दोलनका कारण यात्रुहरुले निकै दुःख पाएको बताउँछन् । अझ कार्यालय समयमा सडक ठप्प हुँदा समयमै कार्यालयमा पुग्न समस्या भइरहेको उनको भनाइ छ ।

‘बानेश्वर–माइतीघरमा मानिसहरु जम्मा हुँदा सवारीसाधनलाई विभिन्न स्थानबाट डाइभर्सन गरी सञ्चालन गरिएको अवस्था छ, सवारीसाधनलाई तीनकुने, रणोद्वीप, कृष्णपाउरोटीलगायतका स्थानबाट डाइभर्सन गरिएको छ’, प्रहरीले भनेको छ । डाइभर्सनका कारण पुरानो बानेश्वर, सेतोपुल, सिंहदरबार दक्षिणढोका, माइतीघर, अनामनगर, हनुमानस्थान, थापागाउँ हुँदै चल्ने सवारीसाधनलाई ‘क्यू’मा सञ्चालन गरिएको छ ।

पिकआवरमा बढेका सवारीसाधनका कारण काठमाडौं उपत्यकास्थित कोटेश्वर, गौशाला, जयबागेश्वरी, मित्रपार्क, चाबहिल, सोह्रखुट्टे, लैनचौर, रणोद्वीप, त्रिपुरेश्वर, टेकु, कालोपुल, थापाथली र कुपण्डोल हुँदै चल्ने सवारीसाधन पनि क्यूमै चलेको प्रहरीको भनाइ छ ।

मुलुकमा विभिन्न क्षेत्रबाट काठमाडौं केन्द्रित भएका शिक्षकहरुका पनि आफ्नै समस्या छन् । लामो समयसम्म काठमाडौंमा बस्दा खर्चको जोहो गर्न पनि उनीहरुलाई हम्मेहम्मे परिरहेको छभने केही शिक्षकहरु आफन्तकहाँ आश्रय लिइरहेका छन् ।

चैत र वैशाखको टन्टलापुर घाममा उनीहरुले कहिले गीत गाएर त कहिले कवितामार्फत शिक्षकहरुले आफ्ना माग राखिरहेका छन् । उनीहरुले विभिन्न गीत र नृत्यमार्फत विरोध र्‍यालीलाई रोमाञ्चक पनि बनाइरहेका छन् । उनीहरुको विरोध र्‍यालीका कारण सिंहदरबार, कोटेश्वर, तीनकुने, नयाँ बानेश्वर, शंखमूल, माइतीघरलगायतका क्षेत्र सामान्य बन्न सकेको छैन ।

विभिन्न भागबाट काठमाडौं आएका शिक्षकका कारण विद्यालयको शैक्षिक तालिका प्रभावित भएको छ । नयाँ शैक्षिकसत्र सुरु हुँदा भर्नालगायतका प्रक्रियाका लागि विद्यालयमा खटिनुपर्ने शिक्षक काठमाडौँकेन्द्रित आन्दोलनमा सहभागी हुँदा सामुदायिक विद्यालयको पठनपठान र शैक्षिक क्रियाकलाप प्रभावित भएको छ ।

माग पूरा गर्नका लागि नेपाल शिक्षक महासंघका पदाधिकारीले प्रधानमन्त्री केपी शर्मा ओली र सभामुख देवराज घिमिरेसँग यही वैशाख ५ गते बेग्लाबेग्लै भेट गरी माग सम्बोधनका लागि आह्वान गरिसकेका छन् । उनीहरुका माग सम्बोधनका लागि नेपाली कांग्रेसका महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश थापा तथा नेपाल कम्युनिष्ट पार्टी (एमाले) महासचिव शंकर पोखरेललगायतले पनि पहल गरेका छन् ।

साथै उच्चस्तरीय राजनीतिक पहलसँगै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र महासंघबीच अनौपचारिक तहमा कुराकानी भइरहेको जनाइएको छ । मन्त्रालयका प्रवक्ता शिवकुमार सापकोटाले विद्यालय शिक्षा विधेयक, २०८१ ले नसमेटेका व्यावहारिक र न्यायिक मागहरुलाई पारस्परिक संवादका आधारमा प्याकेजबाटै सम्बोधनको तयारी भइरहेको बताए ।

नेपाल शिक्षक महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले अनौपचारिक कुराकानी भए पनि ठोस उपलब्धी हासिल नभएकाले अझै केही दिन आन्दोलन गर्नुपर्ने स्थिति रहेको बताए । उनले कुनै पनि हालतमा माग पूरा गरी छाड्ने नीतिका साथ आफूहरुले आन्दोलन अघि बढाएको बताए ।

आन्दोलनमा अनिवार्य उपस्थिति भनिएका कारण सडकमा ७७ वटै जिल्ला र ७५३ स्थानीय तहबाट प्रतिनिधित्व गर्दै शिक्षकको उपस्थिति छ । सरकारले भने शिक्षकहरुलाई वार्तामा आउन र घर फर्कन आग्रह गरेको छ । शिक्षकहरु भने आश्वासनकै भरमा नफर्किने अडानमा छन् । यता सवारी जामले गर्दा विद्यार्थी, कर्मचारी, सर्वसाधारण तातो र चर्को घाममा हिँडेर गन्तव्यमा पुग्न बाध्य छन् ।

प्रतिक्रिया