काठमाडौँ । काठमाडौँका विभिन्न स्थानबाट प्रहरीले मोबाइल लुटपाटका घटनामा संलग्न भएको आरोपमा तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिन्धुलीको सुनकोसी गाउँपालिका- १ घर भइ हाल काठमाडौँ महानगरपालिका- ३२ बस्ने १८ वर्षका शिखरजंग थापा भनिने नवराज सुनुवार, धनुषाको तारापट्टी सिर्सिया गाउँपालिका- ६ घर भइ हाल बुढानिलकण्ठ नगरपालिका- १० बस्ने १८ वर्षका राज निष्ट यादव र रौतहटको गरुढा नगरपालिका- २ घर भइ हाल बुढानिलकण्ठ- १० बस्ने २७ वर्षीय सुरेश ठाकुर हजाम छन् ।
उनीहरुको साथबाट प्रहरीले एक थान मोटरसाइकल र तीन थान मोबाइल बरामद गरेको छ । यही चैत ५ गते दिउँसो काठमाडौँको बसुन्धारामा उनीहरुले प्रेम तामाङले चलाएको बा.२ ज ३४५८ नम्बरको ट्याक्सीलाई रोकेर लुटपाट गरेका आरोप छ ।
ठमेलमा सामान लिन जानु छ भन्दै उनीहरु टयाक्सी रोकेका र फोन गर्न भन्दै तामाङसँग मोबाइल मागेर भागेका प्रहरीले जनाएको छ । उनीहरुलाई काठमाडौँ जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरेर कारबाही प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी परिसर काठमाडौँका सूचना अधिकारी एसपी अपिलराज बोहोराले जानकारी दिए ।
प्रतिक्रिया