कालिकाेट । कालिकोटको पलाँता गाउँपालिका–९ थिर्पुबाट छलाँहा जाँदै गरेको ट्याक्टर दुर्घटना हुँदा चालकसहित ४ जनाको मृत्यु भएकाे छ । पलाँता गाउँपालिका–२ स्थित राडुनेटा लार्फ भन्ने स्थानमा आइतबार राति करिब ११:३० बजे दुर्घटना भएको हो । खाद्यान्न र खुद्रा सामान बोकेको ट्याक्टर अनियन्त्रित भई सडकबाट तल खस्दा घटनास्थलमै ४ जनाको मृत्यु भएको स्थानीयले बताएका छन् ।
दुर्घटनामा परी ज्यान गुमाउनेमा पलाँता–४ का ३२ वर्षीय अम्मा शाही, ३८ वर्षीय सदु बुढा, २३ वर्षीय रविन्द्र विश्वकर्मा र मुगुको खत्याड गाउँपालिका–५ का ट्याक्टर चालक चन्द्रप्रकाश रोकाया रहेका छन् ।
ट्याक्टरको स्वामित्व जग्गी रोकायाको रहेको बताइएको छ। दुर्घटनापछि कहर्देब अस्थायी प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोली वरिष्ठ हवलदार गगन रावतको नेतृत्वमा घटनास्थल पुगेको थियो । स्थानीयवासीका अनुसार दुर्घटना निकै भयावह थियो । ‘ट्याक्टर ठूला चट्टानमाथिबाट पल्टिँदै तल झरेको देख्यौँ, बाँच्ने सम्भावना नै थिएन,’ एक प्रत्यक्षदर्शीले भने । जिल्ला प्रहरी कार्यालय कालिकोटका अनुसार घटनाको विस्तृत अनुसन्धान भइरहेको जनाईएकाे छ ।
कालिकाेट
प्रतिक्रिया