नयाँ दिल्ली । इन्डियन प्रिमियर लिग (आइपिएल) विश्वकै क्रिकेटरका लागि सपनाको प्रतियोगिता हो । यो प्रतिस्पर्धामा दैनिक केही न केही रेकर्ड बन्ने गर्छन् । शनिबार भएको खेलमा राजस्थान रोयल्सका वैभव सूर्यवंशीले भने दुलर्भ रेकर्ड बनाएका छन् । उनले सबैभन्दा कम उमेरमा आइपिएल खेलेर इतिहास कायम गरेका हुन् ।
लखनउ सुपर जायन्ट्सविरुद्ध शनिबार भएको खेलमा उनी इम्प्याक्ट खेलाडीको रूपमा ब्याटिङ गर्न क्रिजमा पुगेका थिए । कप्तान सञ्जु सामसन घाइते भएपछि टोलीमा मौका पाएका सूर्यवंशीले लखनउविरुद्ध यशस्वी जयसवालसँग ओपनिङ ब्याटरको रूपमा मौका पाए । उनले आइपिएलको सुरुआत नै छक्का प्रहार गरेर गरेका छन् । उनले पहिलो बलमा शार्दूल ठाकुरलाई छक्का हिर्काएका हुन् । २० बलमा ३ छक्का र २ चौकाको मद्दतमा ३४ रन जोडेका उनी आइडन म्याक्रमको बलमा लखनउका कप्तान ऋषभ पन्तबाट स्टम्पिङ भए ।
सूर्यवंशीले १४ वर्ष २३ दिनको उमेरमा पहिले आइपिएल खेल खेलेका हुन् । १३ वर्षको उमेरमा अस्ट्रेलिया यु–१९ सँगको खेलमा ५८ बलका शतक प्रहार गरेपछि उनी चर्चामा आएका थिए । उनी १ करोड बढी भारतीय रुपैयाँमा यस सिजन राजस्थानमा आबद्ध भएका हुन् ।
यसअघि कान्छो खेलाडीको कीर्तिमान प्रायस राय बर्मनको नाममा थियो । सन् २०१९ को सिजनमा उनले रोयल च्यालेन्जर बंगलोरुको तर्फबाट १६ वर्ष १५७ दिनमा पहिलो खेल खेलेका थिए । बलर बर्मानले पहिलो खेलमै जोनी बारिस्ट र डेभिड वार्नरविरुद्ध बलिङ गरेका थिए । उनले ४ ओभरमा ५६ रन खर्चिएका थिए ।
अफगास्तिानका मिस्ट्री स्पिनर मुजिबर रहमानले १७ वर्ष ११ दिनमा पहिलो आइपिएल खेलेका हुन् । सन् २०१८ को आइपिएलमा किङ्स पञ्जाब–११ को तर्फबाट खेलेका उनले पहिलो बलमा दिल्लीका कोलिन मुनरोलाई एलबिडब्लु आउट गरेका थिए । ४ ओभर बलिङ गरेका उनले २८ रन खर्चेर २ विकेट लिएका थिए ।
अहिले चेन्नईको नेतृत्व गरी रियान परागले १७ वर्ष १५२ दिनको उमेरमा पहिलो आइपिएल खेलमा सहभागिता जनाएका थिए । आसामका अलराउन्डर उनले चेन्नई विरुद्धको पहिलो खेलमा सन् २०१९ मा सहभागिता जनाएका हुन् । उनले पहिलो खेलमा नै माइकल सान्टनरको अन्तिम बलमा छक्का प्रहार गरेका थिए । साथमा पराग सोही खेलमार्फत आइपिएल इतिहासमा नै अर्धशतक प्रहार गर्ने सबैभन्दा कान्छो खेलाडीको रूपमा कीर्तिमान कायम गर्नसमेत सफल भएका थिए ।
प्रतिक्रिया