काठमाडौँ । नेपाली कांग्रेसका १५औं महाधिवेशनका महामन्त्री पदका उम्मेदवार नैनसिंह महरले पार्टीको लोकतान्त्रिक अभ्यासलाई सशक्त बनाउने मार्गका रूपमा महाधिवेशन समयमै सम्पन्न हुनुपर्नेमा जोड दिएका छन् ।
काठमाडौंमा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै महरले पार्टीको संगठनात्मक तयारी, अधिवेशनको पूर्वाधार र विधानअनुसारका प्रक्रियामा देखिएको सुस्तताले महाधिवेशन समयमै सम्पन्न हुनेमा आशंका पैदा भएको बताएका हुन् ।
‘महाधिवेशन केवल एक औपचारिकता नभएर यो पार्टीको नीति निर्माण, आत्मसमीक्षा, नेतृत्व हस्तान्तरण र संगठन सुदृढीकरणको अवसर हो,’ महरले भने, ‘हामीले प्रक्रिया र समयतालिकालाई गम्भीरतापूर्वक नलिने हो भने पार्टीको संस्थागत क्षमता र जनतासँगको भरोसा दुवै कमजोर हुन सक्छ ।’
उनले स्पष्ट रूपमा भने, ‘विधानतः तोकिएको अवधिमा अधिवेशन नगर्नु पार्टी नेतृत्वको जिम्मेवारीबाट पलायन हो । अहिले नै तहगत अधिवेशन सम्पन्न गर्दै केन्द्रीय अधिवेशनको तयारीमा लाग्न आवश्यक छ ।’
महरले संगठनभित्रको काममा स्पष्ट समयरेखा, कार्ययोजना र पारदर्शी प्रक्रिया सुनिश्चित नगरी महाधिवेशनको सफल सम्भावना कमजोर हुने बताए। विशेषतः निर्वाचन समिति गठनमा ढिलाइ, संरचनागत तयारीको अभाव, र समन्वयको कमजोरीले कांग्रेसभित्र निर्णय प्रक्रियामा जटिलता बढाएको उनी बताउँछन् ।
महाधिवेशनमा महामन्त्री पदको लागि उम्मेदवारी दिने तयारीमा रहेका महरले आफ्नो अभिव्यक्तिका माध्यमबाट पार्टीभित्र सुधार, उत्तरदायित्व र आन्तरिक लोकतन्त्र सुदृढ गर्न आवश्यक संवाद सुरु गर्ने प्रयास गरेका छन् ।
प्रतिक्रिया