ओलीको ‘सेप’बाट उम्किन सके ‘कम्युनिस्ट कमान्ड’ लिने दाउ

विद्यालाई एमाले फर्किन उक्साउँदै प्रचण्ड

काठमाडौँ । पूर्वउपराष्ट्रपति नन्दबहादुर पुन (पासाङ) लाई सक्रिय राजनीतिमा भित्र्याएका प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई पनि सक्रिय राजनीतिमा फर्काउन जोडबल गरिरहेका छन् । पूर्वउपराष्ट्रपतिलाई राजनीतिमा ल्याएर नजिर बसाएका उनले पूर्वराष्ट्रपति भण्डारीलाई राजनीतिमा आउन प्रोत्साहित गरेका हुन् ।

सक्रिय राजनीतिमा फर्किन एमालेको दसौँ महाधिवेशन कुरिरहेकी भण्डारीलाई प्रोत्साहन हुने गरी प्रचण्डले सार्वजनिक अभिव्यक्ति दिन थालेका छन् । आफू एमाले अध्यक्ष केपी शर्मा ओलीको ‘सेप’मा परेको अनुभव गरेका प्रचण्डले एमाले नेतृत्वमा भण्डारी आएको अवस्थामा नेपालको कम्युनिस्ट आन्दोलनको कमान्ड आफ्नो हातमा आउने आकलन गरेका छन् ।
एमाले अध्यक्ष ओली रहुन्जेल सत्तामा रहिरहने र आफू सधैँ कर्नरमा पर्ने भयले उनले भण्डारी नेतृत्वमा आउँदा कम्युनिस्ट एकतामा पनि सहज हुने भन्दै उच्च स्तरमा लबिइङ गरिरहेको जानकारहरू बताउँछन् ।

पार्टीभित्र र बाहिर तीव्र विरोधका बीच उपराष्ट्रपति पुनलाई सक्रिय राजनीतिमा फर्काएका उनले आइतबार पनि पुन र भण्डारीको ‘कमब्याक’लाई रक्षा गर्ने गरी अभिव्यक्ति दिए । विराटनगर पुगेका प्रचण्डले दुवैलाई राजनीतिमा आउन संवैधानिक, कानुनी र अन्तर्राष्ट्रिय परम्परा केहीले पनि नरोक्ने जिकिर गरे ।

ओली–प्रचण्ड सम्बन्धमा दरार

माओवादी केन्द्रले १० वर्षसम्म सञ्चालन गरेको सशस्त्र युद्धको कट्टर आलोचक र विरोधी हुन्– एमाले अध्यक्ष ओली । माओवादी शान्ति प्रक्रियामा आएपछि माओवादीको दबदबाविरुद्ध उनी सधैँ आक्रामक भइरहे । माओवादीले पनि उनलाई आफ्नो मुख्य दुस्मनकै रूपमा लिइरह्यो । २०६४ को संविधानसभा निर्वाचनमा माओवादी सबैभन्दा ठुलो दल भएपछि पनि ओलीले आलोचना छाडेनन् । नवौँ माहाधिवेशनमा अध्यक्ष निर्वाचित भएपछि पनि उनी माओवादीप्रति उदार हुन सकेनन् । आजपर्यन्त उनी माओवादी केन्द्रप्रति कठोर छन् ।

यसकारण पनि ओली नेतृत्वमा रहिरहे आफू असुरक्षित हुने भय प्रचण्डलाई छ । र, उनलाई कमजोर बनाउन स्वाभाविक रूपमा लागिपरेका छन् । ‘ओली–प्रचण्ड सम्बन्ध भनेको भैँसी र हात्तीको जस्तो हो । भैँसी देख्दा हात्ती तर्सिने र हात्ती देख्दा भैँसी तर्सिने भनेजस्तो उहाँहरू एक–अर्कालाई देखेर सधैँ तर्सिनुहुन्छ । आपसी विश्वासको चरम खडेरी छ,’ नेकपा अन्तरद्वन्द्वमा २ नेता मिलाउन लागिपरेका एक नेताले सौर्य दैनिकसँग भने, ‘राजनीतिमा एकले अर्कोलाई अघि बढ्न नदिने पक्षमा दुवै नेता हुनुहुन्छ । सम्बन्ध सुध्रिने छाँट पनि देखिँदैन ।’

त्यसो त गत वर्षको असार १७ गते एमालेले पुष्पकमल दाहाल प्रचण्डको सरकार ढालेर कांग्रेससँगको गठबन्धनमा ओलीलाई प्रधानमन्त्री बनाएपछि एमाले–माओवादीबीच संवादसम्म हुन सकेको छैन । गत बिहीबार मात्रै पनि प्रधानमन्त्री ओलीले द्वन्द्वकालमा भएका अमानवीय र जघन्य अपराधलाई माफी दिन नसकिने अभिव्यक्ति दिए । उनले माओवादीलाई धम्क्याउन द्वन्द्वको कुरा झिकिरहन्छन् । संक्रमणकालीन न्यायलाई अन्तिम टुंगोमा पु¥याउँदा द्वन्द्वकालमा भएका अमानवीय र जघन्य अपराधलाई माफी दिन नसकिने उनको भनाइ छ । उनको सो अभिव्यक्तिले प्रचण्ड झनै सशंकित छन् ।

नेकपाकालमा झांगिएको प्रचण्ड–विद्या सम्बन्ध

२०७४ असोज १४ गते नेकपा (एमाले) र माओवादी केन्द्रबीच गठबन्धन गरी निर्वाचनमा जाने सहमति भयो । ७ बुँदामा गरिएको सहमतिअन्तर्गत निर्वाचनलगत्तै पार्टी एकता गर्ने पनि सहमति थियो । मंसिर १० र २१ गते सम्पन्न निर्वाचनपछि २०७५ जेठ ३ गते २ पार्टीबीच एकता भएर नेपाल कम्युनिस्ट पार्टी (नेकपा) बन्यो । त्यही नेकपाकालीन दिनहरूमा भण्डारी र प्रचण्डको सम्बन्ध झांगिएको हो । भण्डारीलाई दोस्रो कार्यकाल राष्ट्रपति बनाउन प्रचण्डले विशेष भूमिका खेलेपछि उनी पनि प्रचण्डप्रति अनुगृहित देखिएकी थिइन् ।

नेकपाभित्र विभिन्न विषयमा चरम अन्तरद्वन्द्व हुँदा उनै तत्कालीन राष्ट्रपति भण्डारी साक्षी बसेर मिलाउने गरेकी थिइन् । नेकपाका नेताहरूबीच असमझदारी बढ्दै जाँदा २०७७ फागुन २३ गते सर्वोच्च अदालतबाट अर्कै पार्टीसँग नाम मिलेका आधारमा २०७५ जेठ ३ को एकता बदर भएपछि एमाले र माओवादी केन्द्र आ–आफ्नै पार्टीको अस्तित्वमा आए । अहिले नेकपासम्बद्ध दलहरू एमाले, माओवादी केन्द्र, एकीकृत समाजवादी र नेकपा राष्ट्रिय अभियानमा विभक्त भएका छन् ।

तत्कालीन अवस्थामा नेकपा जोगाउन भण्डारीले अन्तिमसम्म प्रयास गरे पनि सकिनन् । अध्यक्ष ओलीकै कारण एकता नटिकेको प्रचण्डको बुझाइ छ । उतिबेलै भविष्यमा विद्या भण्डारीको नेतृत्व भएको खण्डमा एकता कायम रहिरहने चर्चा हुने गरेको थियो । त्यसयता पनि प्रचण्ड–विद्या सम्बन्ध राम्रो रहेको जानकारहरू बताउँछन् ।

ओलीलाई साइजमा राख्न विद्या कार्ड !

२ कार्यकाल राष्ट्रपति भएकी भण्डारी एमालेको सक्रिय राजनीतिमा आउन प्रयासरत छिन् । ओलीसँग असन्तुष्ट एक पंक्ति उनलाई आगामी महाधिवेशनमा अध्यक्ष बनाउन लागिरहेको छ । उनको दबदबा बढिरहँदा ओलीले पनि दबाब महसुस गरेका छन् । तर, उनलाई सक्रिय राजनीतिमा ल्याउन इन्धन भरिरहेका छन्– प्रचण्ड । विगतमा ओलीको दम्भका कारण पार्टी एकता जोगाउन नसकिएको भन्दै सबै कम्युनिस्ट पार्टीलाई भण्डारीको नेतृत्वमा एकताबद्ध गराउन सकिने भनेर उनले विद्यालाई राजनीतिमा आउन प्रोत्साहित गरिरहेका छन् ।

ओली कमजोर भएको हेर्न चाहने उनले विद्यालाई आवश्यक सहयोग गर्ने वचनसमेत दिएका छन् । भण्डारी एमाले अध्यक्ष बनेको खण्डमा पुरानो नेकपा ब्युँतिने लोभ देखाइएको छ र भण्डारीले समेत सो कुराको सपना बुनेको बताइएको छ । उनी निकट नेताहरूले बलियो कम्युनिस्ट पार्टी बनाउन भण्डारीको नेतृत्व आवश्यक भनेर प्रचार गर्नुको पछि प्रचण्ड, माधव नेपाललगायतको ढाडस भएको पनि कतिपय नेताहरू बताउँछन् ।

प्रतिक्रिया