काठमाडौँ । भारतका विद्युत् र आवास तथा सहरी मामिलामन्त्री मनोहरलाल खट्टर नेपाल आउने भएका छन् । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काको निमन्त्रणामा खट्टर यही वैशाख ९ गते २ दिने भ्रमणका लागि नेपाल आउने भएका हुन् । गत माघ ३० गते भारत भ्रमणका क्रममा मन्त्री खड्काले नेपाल आउन उनलाई निमन्त्रणा गरेका थिए ।
भारतका विद्युतमन्त्री खट्टरले वैशाख ९ गते दिउँसो भारत सरकारको सहयोगमा निर्माणसम्पन्न भएका प्रसारणलाइनको उद्घाटन गर्ने कार्यक्रम छ । ऊर्जा मन्त्रालयका अनुसार कोसी करिडोर २२० केभी प्रसारणलाइनअन्तर्गत इनरुवा–वसन्तपुर–बानेश्वर–तुम्लिङटार २०० केभी प्रसारणलाइन तथा २२०/१३३/३३ केभी तुम्लिङटार सबस्टेसन, २२०/३३ केभी बानेश्वर सबस्टेसन र २२०/१३३/३३ केभी वसन्तपुर सबस्टेसनको संयुक्त रूपमा संखुवासभाको तुम्लिङटार सबस्टेसनमा उद्घाटन गर्ने कार्यक्रम छ ।
उनले सोही दिन भारतले निर्माण गरेको अरुण तेस्रो जलविद्युत् आयोजनाको पावर हाउस तथा बाँध क्षेत्रको अवलोकन गर्नेछन् । त्यसबाहेक २ देशले संयुक्त रूपमा निर्माण गर्न लागेको प्रसारणलाइनका लागि स्थापना गरिएको कम्पनीको सम्झौतापत्रमा हस्ताक्षर हुनेछ ।
वैशाख १० गते भारतका विद्युत्मन्त्री खट्टरले मुस्ताङको मुक्तिनाथको अवलोकन भ्रमण गर्ने कार्यक्रम छ । त्यस दिन प्रधानमन्त्री केपी शर्मा ओली र सहरी विकासमन्त्री प्रकाशमान सिंहसँग शिष्टाचार भेटघाट गर्ने कार्यक्रम तय भएको छ । मन्त्री खट्टर १० गते पशुपतिको दर्शन गरेर साँझ भारत फर्किनेछन् ।
प्रतिक्रिया