काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) आज आइतबार पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनसहित आफ्ना नेताहरु पक्राउ परेपछि बाधा पुर्याउन खोजे प्रतिकार गर्ने सरकारलाई चेतावनी दिएको छ । आज प्रदर्शनको क्रममा निषेधित क्षेत्र तोड्न खोजेको आरोपमा अध्यक्ष लिङ्देनसहित प्रवक्ता ज्ञानेन्द्र शाहीसहित नेताहरु पक्राउ परेका थिए ।
राप्रपाले विरोध प्रदर्शन गर्दा आफ्ना अध्यक्षसहितका नेताहरुलाई पक्राउ गरेर संविधान प्रदत्त अधिकार हनन गरेको आरोप लगाएको छ । अध्यक्ष राजेन्द्र लिङ्देनसहितका नेताहरु पक्राउ परेपछि आकस्मिक बसेको राप्रपाको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले यस्तो चेतावनी दिएको हो ।
‘सरकारको रवैयाले स्वतन्त्रतापूर्वक हिँडडुल गर्न पाउने, राजनीतिक गतिविधि गर्न पाउने र अभिव्यक्ति स्वतन्त्रताको संविधान प्रदत्त अधिकार कुण्ठित भएको छ,’ बैठकपछि जारी गरिएको विज्ञप्तिमा भनिएको छ, ‘संविधान प्रदत्त अधिकारको उपभोग गर्ने क्रममा बाधा अवरोध गरिन्छ भने राप्रपाले आगामी दिनमा थप सशक्त ढंगबाट विरोध र प्रतिवाद गर्नेछ। त्यसबाट उत्पन्न हुने परिस्थितिको जिम्मेवार सरकार स्वयं हुनुपर्नेछ ।’
पूर्व निर्धारित कार्यक्रमस्थल बिजुली बजारतर्फ जाने क्रममा प्रशासनले राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन, वरिष्ठ नेता उपाध्यक्ष बुद्धिमान तामाङ र प्रवक्ता ज्ञानेन्द्र शाहीलाई सिंहदरबार परिसर भित्रैबाट गिरफ्तार गरिनु आपतिजनक र दुर्भाग्यपूर्ण भएको समेत बैठकले ठहर गरेको छ ।
‘सरकारको रबैयाले स्वतन्त्रतापूर्वक हिडडुल गर्न पाउने, राजनीतिक गतिविधि गर्न पाउने र अभिव्यक्ति स्वतन्त्रताको संविधान प्रदत्त अधिकार कुण्ठित भएको छ,विज्ञप्तिमा अगाडि भनिएको छ, ‘संविधान प्रदत्त अधिकारको उपभोग गर्ने क्रममा बाधा अवरोध गरिन्छ भने राप्रपाले आगामी दिनमा थप सशक्त ढंगबाट विरोध र प्रतिवाद गर्नेछ। त्यसबाट उत्पन्न हुने परिस्थितिको जिम्मेवार सरकार स्वयं हुनुपर्नेछ, राप्रपा राजसंस्था र हिन्दु राष्ट्रको पुनस्स्थापना, संघीयताको खारेजी लगायतका राजनीतिक, सामाजिक र जनजीविकाका विविध मुद्धाका पक्षमा अझ दृढ रुपमा अघि बढ्नेछ ।’
सिंहदरबार र बानेश्वरस्थित निषेधित क्षेत्रमा प्रदर्शन गरेको आरोपमा आइतबार प्रहरीले राप्रपाका अध्यक्ष लिङ्देनसहित ७ जनालाई पक्राउ गरेको थियो । उनीहरूलाई भद्रकालीमा राखिएको छ ।
प्रतिक्रिया