प्रथम राष्ट्रिय याक दिवस मनाइयो, हिमाली क्षेत्रको सभ्यताको रुपमा संरक्षणमा जोड

काठमाडौँ । प्रथम राष्ट्रिय याक दिवस मनाइएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले आज ललितपुरमा एक कार्यक्रम आयोजना गरेर प्रथम राष्ट्रिय याक दिवस मनाएको हो । सो अवसरमा कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले याक पालनले हिमाली समुदायको आयआर्जन, खाद्य र पोषण सुरक्षा, प्रांगारिक खेती तथा वातावरणीय सन्तुलनमा महत्वपूर्ण योगदान पुयाइरहेको बताए । मन्त्री अधिकारीले भौगोलिक चुनौती, युवा पुस्ताको बसाइसराई, चरन क्षेत्रको अभाव, प्रजननसम्बन्धी समस्या, जंगली जनावरको आक्रमण, जलवायु परिवर्तन जस्ता कारणले नेपालका याकचौँरीको संख्या घट्दो क्रममा रहेकाले याकचौँरी पालनको संरक्षण र प्रवद्र्धनका लागि संगठित प्रयास आवश्यक रहेको वताए ।

मन्त्री अधिकारीले याकचौँरीको संरक्षण र दिगो उपयोगमार्फत हिमाली क्षेत्रको खाद्य सुरक्षा, जलवायु अनुकूलन, जैविक विविधताको संरक्षण र ग्रामीण जीवनशैलीको सशक्तीकरण नै अबको साझा लक्ष्य रहेको उल्लेख गरे । उनले हिमाली जनजीवनको अविभाज्य अंग बनेका याकचौंरीलाई संरक्षण, सुधार र व्यावसायिक रूपान्तरणमार्फत नवजीवन दिनु सबैको दायित्व भएको बताए ।

मन्त्रालयको सिफारिसमा मन्त्रीपरिषद बैठकले याक र चौंरीको महत्वलाई आत्मसात गर्दै प्रत्येक बैशाख ७ गतेको दिनलाई राष्ट्रिय याक दिवसको रुपमा मनाउने निर्णय गरेको थियो ।

याकको संरक्षण एवं प्रवद्र्धनका लागि सोलुखुम्बुको स्याङ्बोचेमा याक आनुवांशिक स्रोत केन्द्र सञ्चालन ल्याएएको र उक्त केन्द्रले याकको शुद्ध नस्ल संरक्षण, आनुवंशिक सुधार, प्रविधि विस्तार र प्रसारमा महत्वपूर्ण कामको सुरुआत गरेको मन्त्री अधिकारीले बताए । मन्त्री अधिकारीले आगामी दिनमा याक (चौरी) को दिगो विकास सुनिश्चित गर्न मन्त्रालय प्रतिवद्ध रहेको पनि उल्लेख गरे ।

‘याक चौँरी प्रवर्द्धनः हिमाली जीवन, संस्कृति र पर्यावरण संरक्षण’ भन्ने मूल नाराका साथ पहिलो पटक मनाईएको राष्ट्रिय याक दिवसका अवसरमा याक पालक कृषकहरुलाई पनि सम्मान गरिएको छ । याकलाई राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ ले संरक्षित वन्यजन्तुको सुचीमा उल्लेख गरेको छ ।

नेपालमा मात्र उत्पादन हुने विश्व प्रसिद्ध याक चिज ओमेगा —३ फयाट्टी एसिडको स्रोत रहेको, याकको दहि प्रसिद्ध दूग्ध परिकारको रुपमा रहेको, याकको दुधबाट बनेको छुर्पी हिमाली क्षेत्रका किसानहरुको आम्दानीको प्रमुख स्रोतको रुपमा रहेको र हिमाली क्षेत्रको सभ्यताको रुपमा समेत याक रहेकोमा संरक्षणकर्मीहरुले जोड दिएका छन ।

याकको छाला र पुच्छर बाट बन्ने वस्तुहरु निर्यातको प्रचुर सम्भावना बोकेका उत्पादन हुन् । याक पर्यटन प्रवद्र्धनमा पनि आकर्षणको केन्द्र बन्ने सम्भावना रहेको छ । याक मार्फत सामान ढुवानीदेखि खेतबारी जोत्नेसम्मका कार्यहरु
हुदै आएको छ ।

प्रतिक्रिया