काठमाडौं । राष्ट्रिय प्रजातन्त्र (राप्रपा) को आज आन्दोलनको रणनीति फेरिएको छ । राप्रपाले राजसंस्था पुनर्स्थापनाको मागसहित आज गर्न लागेको आन्दोलनको रणनीति परिवर्तन गरेको हो । यसअघि तीन ठाउँबाट शक्ति प्रदर्शन निकाल्ने तयारी गरेको थियो।
तर, अहिले बसेको नेताहरूको अनौपचारिक बैठकले बिजुलीबजारमा मात्रै केन्द्रित हुने निर्णय गरेको राप्रपाका उपाध्यक्ष बुद्धिमान तामाङले बताए । उनका अनुसार अब बालुवाटार र भद्रकालीबाट र्याली निस्कँदैन ।
सशक्त आन्दोलनमा होमिएको राप्रपाले पहिलो दिनमै निषेधित क्षेत्र तोड्ने तयारी गरेको छ । प्रदर्शनका लागि राप्रपा नेता कार्यकर्ता तथा राजसंस्थाका समर्थकहरू अहिले बिजुलीबजारमा भेला हुन थालेका छन्। त्यहाँबाट अध्यक्ष राजेन्द्र लिङदेनले नेतृत्व सम्हाल्नेछन् ।
र्याली बिजुलीबजारबाट बानेश्वरतिर आएर निषेधित क्षेत्र तोड्ने तयारी गरेको तामाङले बताए । आजको प्रदर्शनबारे यसअघि नेता सहभागी भएर शान्तिपूर्ण प्रदर्शन गर्ने राप्रपाले बताएको थियो । पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले आइतबार निषेधित क्षेत्र तोड्ने भनिएको आन्दोलन प्रतिकात्मक र शान्तिपूर्ण मात्रै हुने बताएका थिए ।
यसअघि राप्रपाले गत चैत २५ गते बल्खुमा शान्तिपूर्ण जनप्रदर्शन गरेको थियो । उक्त जनप्रदर्शन सोचेजस्तो प्रभावकारी हुन नसके पनि राप्रपाले आन्दोलनलाई निरन्तरता दिँदैछ ।
प्रतिक्रिया