काष्ठमण्डप संवाद शृंखला–१ का निष्कर्षहरू

यही गत चैत २–३, २०८१ मा काठमाडौँको याक एन्ड यती होटलमा Foundation for Peace, Development and Socialism को आयोजनामा बेल्ट एन्ड रोड इनिसियटिभ (BRI)का बारेमा एउटा बृहत् संवाद आयोजना भएको थियो । त्यसलाई काष्ठमण्डप संवाद –१ नाम दिइएको थियो । त्यस संवादमा नेपाल र चीनका विशिष्ट विद्वान्हरू, प्रोफेसरहरू, विशेषज्ञहरू र प्राज्ञहरूले भाग लिनुभएको थियो । यस विषयमा नेपालका डा.युवराज संग्रौला, डा. दिनेश भुजू, डा. खगेन्द्र प्रसाईं, डा. सूर्यराज आचार्य जस्ता विद्वानहरू, सबै मुख्य राजनीतिक पार्टीका नेताहरू र ठुलो संख्यामा बुद्धिजीवी र पत्रकारहरूले समेत भाग लिएका थिए । त्यसरी नै चीनका तर्फबाट काठमाडौँस्थित महामहिम चीनका राजदूत Chen Song, Sichuan विश्वविद्यालयका एProf. Dr. Huang Yunsong, Heibei University का Prof. Dr. Zhang Shubin, Institute of South Asian Studies of the XASS का Director Prof. Yang Yabo र र मस्र्याङदी मनाङ हाइड्रोपावर परियोजनाका Mr. Wei Zisong जस्ता प्रसिद्ध विद्वानहरूले समेत भाग लिएका थिए । त्यो दुई दिने बृहत् छलफलपछि निकालेको निष्कर्षलाई उपरोक्त Foundation for Peace, Development and Socialism (FPDS) का संरक्षक झलनाथ खनालले पत्रकार सम्मेलन समेत गरेर सार्वजनिक गर्नुभएको थियो । त्यो निष्कर्षलाई सबैको जानकारी र अध्ययनका लागि हामीले यहाँ साभार प्रकाशित गरेका छौँ –सम्पादक ।

०००

चैत २–३, २०८१ (मार्च १५–१६,२०२४) मा Foundation for Peace, Development and Socialism को आयोजनामा Belt and Rode Initiative का बारेमा Kasthamandap Dialogue  series– 1 सम्पन्न भयो । त्यो संवाद बडो भब्य रुपमा र सफल रुपमा आयोजित भयो । त्यो काष्ठमण्डप संवादका निष्कर्षहरू निम्न बमोजिम छन ।

१. आज भन्दा करिब ११ वर्ष अघि जनवादी गणतन्त्र चीनका महामहिम राष्ट्रपति सि.जि. पिङ द्वारा २०१३ मा अघि सारिएको BRI सम्बन्धि अवधारणा एउटा विश्वब्यापी विकास अवधारणा हो । यो अवधारणाले साझा सहमतिका आधारमा विभिन्न देशहरू बीच सम्बन्ध सम्पर्क, पूर्वाधार, व्यापार र लगानीको प्रवर्धन गर्दै दिगो विकास गर्ने कुरामा बिश्व जगतमा नै महत्वपूर्ण योगदान गर्दै आएको छ र गर्न सक्छ ।

२. BRI सम्बन्धि यो अवधारणा अघि सारेको प्रथम दशकमा नै यो अवधारणा विश्वव्यापी रुपमा विस्तृत भएको छ । अहिले सम्मको अवधिमा नै यो विश्वका १५० भन्दा बढी देशहरूमा फैलिएको छ । ती देशहरूले BRI सँग ३००० भन्दा बढी परियोजनाहरूमा संझौता गरि सकेका छन । विश्वका ७० प्रतिशत भन्दा बढी जनसंख्या भएका देशहरू BRI सँग आवद्ध बनेका छन । यी BRI सँग सम्वद्ध मुलुकहरू बीचमा मात्र पनि ५ trillion डलर भन्दा बढीको व्यापार हुन थालेको छ । यी तथ्यहरूले प्रष्ट पार्छ कि BRI विश्वका दुई तिहाई भन्दा बढी देश र राष्ट्रहरूका निम्ति लाभकारी सिद्ध भएको छ र यो अवधारणा अझ विस्तृत बन्दै गएको छ । यो अवधारणा तेस्रो विश्वका देशहरूको निम्ति बढी लाभकारी भएको देखिन्छ । त्यसैले यो विकास अवधारणा विश्वको इतिहास कै सबैभन्दा ठूलो र व्यापक विकास परियोजनाका रुपमा स्थापित भईरहेको छ ।

३. नेपाल वर्तमान विश्वमा तेस्रो विश्वको देश मात्र होइन यो एउटा अतिकम विकसित र भूपरिवेष्ठित देश समेत हो । त्यसैले नेपालको दु्रततर सामाजिक, आर्थिक विकास र अन्तर्राष्ट्रिय सम्पर्क सम्बन्धका निम्ति BRI एउटा लाभकारी अवधारणाका रुपमा हाम्रा सामु आएको छ । त्यसबाट नेपालले अधिकतम रुपमा लाभ लिने ढंगले अघि बढ्नु जरुरी छ ।

४. नेपाल र चीन बीचमा सन् २०१७ मा BRI का बारेमा समझदारी पत्रमा हस्ताक्षर भएको थियो । त्यस देखि यता ८ वर्ष हुन थालेको छ । तर नेपालले जुन रफतारमा यो अवधारणाबाट लाभ लिनुपर्ने थियो, त्यसमा ढिलाई र आनाकानी भएको छ । तथापी २०२४को डिसेम्बरमा आएर नेपाल सरकार र चीन सरकारका बीच BRI Implementation Framework agreement मा हस्ताक्षर भएको छ । यो अर्को सकारात्मक कदम हो । यो समझदारी अनुरुप नेपालका तर्फबाट सहयोगलाई बहुआयामिक क्षेत्रमा प्रवर्धन गर्ने हिसाबले अघि बढ्न सक्नु पर्दछ ।

५. BRI अवधारणा आजको विश्वमा २१ औं शताब्दी कै एउटा बृहद विकास योजनाका रुपमा अघि बढ्दै छ । BRI शुरु भएको दोस्रो दशकमा यो अझ विस्तृत र उन्नत रुपमा अघि बढ्ने संभावना देखिँदैछ । यस्तो अवधारणालाई हाम्रो देशले विश्वका अरु कुनैपनि मुलुकहरूको नजरबाट वा दृष्टिकोणबाट हेर्नु हुँदैन । त्यसलाई नेपालको आफ्नै राष्ट्रिय हितको धरातलबाट वा राष्ट्रिय दृष्टिकोणबाट स्वतन्त्र रुपले हेर्नुपर्छ । जुन कुरा सँग सम्बन्ध र सहयोग गर्दा नेपालको राष्ट्रिय विकास र समृद्धिलाई हित हुन्छ, त्यो सँग सम्बन्ध र सहयोग बढाउने कुरालाई प्राथमिकता दिएर अघि बढ्नु पर्छ ।

६. यो BRI अवधारणालाई कतिपय पक्षले यो चीनले आफ्नो प्रमूत्व स्थापना गर्नका निम्ति अघि सारेको हो र विभिन्न देशलाई debt trap मा पार्ने आधारणा हो भन्ने आरोप लगाउने गरेका छन । तर हाम्रो अध्ययन र विश्लेषणमा त्यस्तो कुनै लक्षण वा व्यवहार देखिएको छैन । यस्ता अफवाहका पछि नेपालले लाग्नु हुँदैन । हामीले हामीसँग कै व्यवहारमा प्रकट भईरहेका तथ्यहरूका आधारमा विश्लेषण गर्नुपर्छ र निष्कर्ष निकाल्नु पर्छ । नेपाल र चीन बीचका सहयोगहरू नेपालको राष्ट्रिय स्वतन्त्रता, सार्वभौमसत्ता,क्षेत्रीय अखण्डता र नेपालको राष्ट्रिय हित अनुकुल रहेका छन भन्ने कुरा प्रष्ट छ । यी हाम्रा संवेदनशील पक्षहरू हुन । त्यसरी नै हामी एक चीन नीतिमा दृढ छौं । यो चीनको संवेदनशीलता हो । नेपालले यहि दृष्टिकोणका आधारमा अघि बढ्नुपर्छ । यो मान्यतामा अडिग रहँदै BRI सहयोगहरूलाई अघि बढाउनुपर्छ ।

७. BRI अवधारणा भनेको दुई देश बीचको सहयोग विस्तार गर्ने सम्बन्धमा ऋण लिने वा अनुदान लिने भन्ने कुरा होइन । BRI अवधारणा दुई पक्षिय सहयोगलाई अभिबृद्धि गर्ने, बहुआयामिक र विस्तृत अवधारणा हो । त्यस भित्र अनुदान, एकदमै सहुलियतपूर्ण ऋण, व्यापारिक तथा व्यवसायिक ऋण जस्ता विभिन्न कुराहरू रहेका छन । त्यसरी अघि बढ्दा दुवै पक्षको हित हुने गरी वा win win हुने गरी सहयोग अभिबृद्धि गर्ने अवधारणा BRI ले राखेको देखिन्छ । त्यसैले कुनै पनि देशले वा नेपालले पनि आफुलाई आवश्यक परेको सहयोग कुन रुपमा लिन खोजेको हो । त्यस अनुरुप आपसी छलफलबाट समझदारीमा पुग्न सकिने हुन्छ । यो कुरालाई ध्यानमा राखेर नेपालले अघि बढ्नु पर्छ ।

८. नेपालले कहिँबाट पनि ऋण चाँही लिँदै लिन्न अनुदान मात्र लिन्छु भन्नु अत्यन्त अव्यवहारीक र राष्ट्रिय हित विपरित हुन्छ । हामीले पश्चिमा वित्तिय संस्थाहरू– विश्व बैंक, अन्तर्राष्ट्रिय मुद्राकोष, एशीयाली विकास बंैक लगायतका वित्तिय संस्थाहरूबाट लिएको ऋण मात्र पनि अहिले २६ खरव रुपयाँ भन्दा बढी पुगेको छ । त्यसको व्याज मात्र तिर्न पनि नेपाललाई अब अत्यन्त कठिन भईसकेको छ । यस्तो अवस्थामा चीनको BRI ले हाम्रा निम्ति एउटा वैकल्पिक वित्तिय श्रोत उपलब्ध गराएको छ । हाम्रो देशले यी दुवै श्रोतहरूलाई तुलनात्मक रुपले विश्लेषण गरेर आफुलाई बढी हित हुने विकल्पलाई रोज्न सक्ने अवसर समेत छ । यो अवसरलाई समेत नेपालले उपयोग गर्न सक्नुपर्छ र राष्ट्रलाई जुन श्रोत उपयोग गर्दा फाइदा हुन्छ त्यस हिसाबले अघि बढ्नुपर्छ ।

९.हाम्रो देशको सम्बन्ध दक्षिण छिमेकी भारतसँग जति खुला र सहज छ, त्यति उत्तरी छिमेकी चीनसँग छैन । त्यसले गर्दा हाम्रा दुई छिमेकीसँगको सम्बन्ध संतुलित बन्न सकेको छैन । त्यसैले नेपालले चीन सँगका सम्बन्ध र सम्पर्कलाई हरेक प्रकारले व्यापक र विस्तृत बनाउन जरुरी छ । त्यसो गर्नका निम्ति हामीले चीनसँगका आर्थिक सम्बन्धलाई गहिरो बनाउनु, दुई देश बीचका connectivity लाई विस्तृत बनाउनु र व्यापारलाई विस्तृत बनाउन आवश्यक हुन्छ । यी कामलाई अघि बढाउने सम्बन्धमा BRI एउटा नयाँ अवसरको रुपमा हाम्रा सामु आएको छ । त्यसैले हामीले BRI लाई एउटा अवसरका रुपमा लिएर राष्ट्रिय हितका निम्ति उपयोग गर्न सक्नुपर्छ ।

१०.नेपाल र चीनले लगानी बढाउने, पूर्वाधार बनाउने र व्यापार बढाउने कुराको दिर्घकालिन महत्व छ । त्यसका निम्ति दुई देश बीचमा connectivity लाई सबै क्षेत्रमा व्यापक बनाउनु जरुरी छ । हामी यति निकट छिमेकमा छौँ । तर दुई देश बीचको connectivity अहिले पनि कमजोर छ । त्यसलाई बलियो बनाउन हामीले दुई देशबीच विभिन्न सीमा बिन्दुबाट road connection विकास गर्नुपर्छ । आधुनिक भंसार व्यवस्था स्थापना गर्नुपर्छ । दुई देश बीच टेलि कम्युनिकेसन connectivity लाई आधुनिकीकरण गर्नुपर्छ । दुई देश बीच विभिन्न सीमा बिन्दुबाट दुवैको आवश्यकतालाई हेरेर विद्युत संचार आदान प्रदानका निम्ति ट्रान्समिसन लाइन जोड्नु पर्छ । हवाई सम्पर्कलाई अझ बृद्धि गर्नुपर्छ । cyber space connection लाई विकास गर्नुपर्छ र नेपाल–चीन बीच बहुआयामिक connectivity लाई विकास गर्न BRI लाई प्रयोग गर्नुपर्छ ।

११. यसरी नेपाल–चीन बीचको बहुआयामिक connectivity विकास गर्ने प्रक्रियामा रेलवे connectivity विकास गर्ने कुरा सबै भन्दा महत्वपूर्ण छ । यो अवश्य नै कठिन काम हो । तर विज्ञान र प्रविधिको विकासको आजको यूगमा यो असंभव छैन । केहि मानिसहरू चीनले तीब्बतमा रेल निर्माण गर्ने कुरा पनि “असंभव” ठान्थे तर त्यो वास्तविकता बनि सकेको छ । समाजवादी चीनले कैयौं असंभव लाग्ने कुरालाई संभव बनाई सकेको छ । त्यसरी नै नेपाल–चीन रेलवेका बारेमा feasibillity study भईसकेको छ । त्यसलाई साकार गर्नुपर्नेछ र गर्न सकिन्छ भन्ने आम्रो विश्वास छ । BRI अन्तर्गत नै नेपाल–चीन बीच रेलवे सम्पर्क विकास संभव हुनेछ ।

१२. नेपाल–चीन रेलवे सम्पर्कको विकास भनेको खाली नेपालको हितमा मात्र छैन र हुने छैन । यसको निर्माण गर्ने कुराले चीन र दक्षिण एशीया जस्ता विश्व कै सबै भन्दा घना आवादी भएका दुई क्षेत्रहरू जोडिने छन । यी दुई क्षेत्रमा मात्र पनि करिब ३.५ अरब जनसंख्या रहेको छ । ती दुई क्षेत्रका बीच भविष्यमा हुने व्यापार र आवागमनले यी दुई क्षेत्रलाई मात्र होइन विश्वलाई नै प्रभावित पार्ने कुरा छर्लङ्ग छ । त्यसबाट भारत लगायत दक्षिण एशीयाका सबै मुलुकहरू लाभान्वित हुनेछन । २१ औँ शताब्दीमा दुई सर्बश्री महाशक्तिहरू चीन र भारत बीचको सम्पर्क जोडिने छ । यो काम पनि BRI अन्तर्गत मात्र संभव छ । यो प्रक्रियाले आजको भूपरिवेष्ठित नेपाललाई भूजडित (land-linked) नेपालमा रुपान्तरण समेत गर्नेछ । नेपाल दक्षिण एसिया र चीन बीचको सम्पर्क पुलका रूपमा स्थापित हुनेछ । त्यो भविष्यलाई समेत ध्यानमा राखेर BRI सहयोगलाई अभिवृद्धि गर्नुपर्छ ।

१३. यसरी नेपाल–चीन बीच BRI अन्तर्गत गर्न सकिने साना, मझौला र ठूला अनेकौं योजनाहरू छन् र हुन सक्छन । तिनीहरूका निम्ति हामीले फगत महत्वकांक्षी बनेर पनि हुँदैन र लघुताभास राखेर पनि हँुदैन । हामीले परियोजनाहरू छनौट गर्दा अत्यन्त होशियार हुनुपर्छ । तत्कालिक र दिर्घकालिन दुबै हितलाई सोचेर अघि बढ्नुपर्छ । हामीले अघि सार्ने परियोजनाहरू उच्च प्रतिफल दिने र लाभकारी हुने परियोजनाहरू छनौट गर्न सक्नुपर्छ । त्यसमा नेपाल पक्षले अत्यन्त गंभीर हुन सक्नुपर्छ ।

१४.त्यस्ता विशेष गरी ठूला परियोजनाहरू छनौट गर्दा तिनीहरूको निर्माणका निम्ति सकेसम्म किफायती वित्तिय श्रोत कसरी जुटाउने भन्ने कुरामा नेपालले चनाखो हुनुपर्छ । त्यसका साथ साथै त्यस्ता परियोजनाहरू विकास गर्दा नेपालले आफ्नो राष्ट्रिय क्षमता विकास गर्ने कुरामा अझ गहिरो गरी ध्यान दिन सक्नुपर्छ । ठूला परियोजना छनौट गर्ने तर त्यसलाई निर्माण गर्ने, संचालन गर्ने र विकास गर्ने हामीसँग जनशक्ति भएन र हामीसँग प्राविधिक ज्ञान पनि भएन भने ठूलो संकट आउन सक्छ । त्यसैले परियोजनाहरू छनौट गर्ने कुशलता साथै नेपालले आफ्नो राष्ट्रिय क्षमता विकास गर्ने र देशलाई आत्मनिर्भर बनाएर अघि बढाउने कुरामा सदैव ध्यान दिन सक्नुपर्छ ।

१५. नेपाल र BRI बीचका सहयोगका शृंखलाहरूलाई यसरी अघि बढाउन नेपालका सबै ठूला साना र सत्तापक्ष वा विपक्षमा रहेका राजनीतिक पार्टीहरू बीच राष्ट्रिय सहमति बन्नु अत्यन्त जरुरी हुन्छ । नेपालका सबै राजनीतिक पार्टीहरू बीच एक चीन नीतिमा त राष्ट्रिय सहमति रहेकै देखिन्छ । अब BRI जस्तो बृहद विकास अवधारणालाई नेपालको बृहद र दीर्घकालिन राष्ट्रिय हित अनुकूल अधिकतम रुपमा उपयोग गर्ने कुरामा पनि सहमतिका साथ अघि बढ्न जरुरी छ ।

हामीले आयोजना गरेको “काष्ठमण्डप संवाद शृंखला–१.” का क्रममा भएको २ दिने व्यापक बहस र मन्थनबाट निस्किएका आधारभूत निस्कर्ष हुन–उपरोक्त १५ सुत्रीय निष्कर्षहरू । हामी उपरोक्त निष्कर्षहरूका बारेमा खुल्ला बहस छलफल गर्न र मुलुकलाई एकताबद्ध बनाएर अघि बढ्न देशका सबै जिम्मेवार राजनीतिक पार्टीहरूसँग हार्दिक आग्रह गर्दछौँ । उपरोक्त अवधारणाहरूलाई व्यवहारमा लागु गर्न सकेको खण्डमा त्यसले नेपालको राष्ट्रिय स्वतन्त्रता, सार्वभौमिकता, राष्ट्रिय अखण्डता र स्वतन्त्र राष्ट्रिय विकास र रुपान्तरणलाई समेत बलियो र तीब्र बनाउन मदत गर्छ भन्ने हामीलाई लागेको छ ।

मिति : ३ चैत्र, २०८१

प्रतिक्रिया