तरकारी खेतीमा आत्मनिर्भर मुगुको हेर्नीकाँध गाउँ

मुगु । जिल्लाको छायानाथ रारा नगरपालिका–३ हेर्नीकाँध गाउँ विगत १ दशकदेखि तरकारी खेतीमा आत्मनिर्भर बनेको छ । २२ घरधुरी रहेको हेनीकाँध गाउँका सबै घरपरिबार तरकारीखेतीमा आकर्षण भएसँगै हेर्नीकाँध गाउँ तरकारी खेतीमा आत्मनिर्भर बनेको हो ।

तरकारी खेतीबाट राम्रो आम्दानी हुन थालेपछि हेर्नीकाँधका २२ घरधुरी तरकारी खेतीबाट आत्मनिर्भर बनेका छन् । उनीहरूले समूह बनाएरै तरकारी खेती गरिरहेका छन् । प्रगतिशील कृषि महिला समूह बनाई हेर्नीकाँधका महिलाहरूले मौसमी तथा बेमौसमी तरकारीखेती गरिरहेका छन् ।

त्यहाँका महिलाहरूले समूह बनाई विभिन्न जातका तरकारी खेती गरेका छन् । विगत ३ वर्षदेखि सहास नेपाल नामक संस्थाले तरकारीखेतीसम्बन्धी विभिन्न सहयोेग गरेपछि तरकारीखेती गर्न सहज भएकोे प्रगतिशील कृषि महिला समूहका अध्यक्ष सत्तदेवी कार्कीले बताइन् ।

उनका अनुसार हेर्नीकाँध गाउँमा तरकारीको उत्पादन विगत एक दशकदेखि गरिँदै आएका छौँ । बजार नजिक भएकाले तरकारी खेती राम्रो हुने भएको र राम्रो आम्दानी हुनेभएकाले २२ घरधुरी रहेको यस गाउँमा सबै महिलाहरू तरकारी खेतीगर्ने गरेका अध्यक्ष कार्कीले बताइन् । हेर्नीकाँध गाउँमा विभिन्न जातका तरकारी लगाइएको छ । अहिले हेर्नीकाँध गाउँलाई तरकारीको पकेट क्षेत्रका रूपमा लिने गरिएको छ ।

सोही गाउँकी रामदेवी बुढाका अनुसार घरको खर्च चलाउनेदेखि केटाकेटी पढाउनेसम्मको खर्च धान्न निकै मुस्किल हुन्थ्यो । तर आजभोलि तरकारी खेतीबाटै राम्रो आम्दानी हुने भएकाले सहज भएको बताइन् । आफूहरूले मौसमी तथा बेमौसमी तरकारी वर्षभरी नै गरिरहेका बुढाको भनाइ छ ।

तरकारी खेती सुरु गरेदेखि घर खर्च चलाउन, छोराछोरी पढाउन र समूहमा बचत गर्न सकिएको छ । खुर्सानी, बन्दा, काउली, काक्रा, प्याज, टमाटर, फर्सीलगायतका तरकारी खेतीबाट राम्रो आम्दानी हुन्छ । व्यावसायिक तरकारी खेतीबाट वार्षिक १ लाख रुपैयाँसम्म आम्दानी हुने गरेको बुढाले बताइन् ।

जिल्लामा व्यावसायिक रूपमा तरकारी खेती गर्ने कृषकहरूको संख्या बढेको छायानाथ रारा नगरपालिकाकी नगरप्रमुख ऐश्वर्य मल्लले बताइन् । विशेष गरी मुगु सदरमुकाम गमगढी बजार आसपासका गाउँ हेर्नीकाँध, निगाले, कार्कीवाडा, भामवाडाका महिलाहरू तरकारीखेतीमा आकर्षण भएका र बजारमा तरकारीको सहज पहुँच भएको नगरउपप्रमुख मल्लले बताइन् । उनका अनुसार व्यावसायिक कृषकहरूलाई छायानाथ रारा नगरपालिकालगायत विभिन्न सहयोगी संस्थाको समन्वयमा तरकारीखेतीमा आवश्यक सामग्री सहयोग भएको पनि नगरउपप्रमुख मल्लको भनाइ छ ।

हेर्नीकाँध गाउँमा रहेका २२ घरधुरीका महिला तरकारी खेती गरी आत्मनिर्भर भएका छन् । उनीहरूको प्रमुख आम्दानीको स्रोत तरकारी खेती बनेको छ । त्यसैले विगत ३ वर्षदेखि सहास नेपालले उनिहरूको तरकारीखेतीमा सहज र क्षमता अभिवृद्धिका कार्यक्रम सञ्चालन गरिरहेको सहास नेपाल लिफ्ट कार्यक्रम परियोजन अधिकृत उमेश श्रेष्ठले बताए । उनका अनुसार तरकारीखेतीसँगै बाख्रापालन, घरघरमा सिँचाइ, जैविक विषादी, प्लास्टिक घर, पोखरी निर्माण, बिउवीजनलगायत रैथानेबाली संरक्षणमा जोडदिने जस्ता कार्यक्रम पनि हेर्नीकाँध गाउँमा सञ्चालनमा रहेका र त्यहाँका महिलाहरूलाई तरकारीखेतीसँगै अन्य जीविकोपार्जनमा पनि सहयोग भएको परियोजना अधिकृत श्रेष्ठले बताए ।

शुक्रबार जिल्लाका सरोकारवाला निकायले सहास नेपालद्वारा सञ्चालित स्थानीय प्रयासद्वारा खाद्य सुरक्षा रूपान्तरण लिफ्ट परियोजना कार्यक्रमअन्तर्गत हेर्नीकाँध गाउँमा गरिएको तरकारीखेतीको अनुगमनसमेत गरेका छन् । अनुगमन प्रश्चात जिल्लाका सरोकारवाला निकायले हेर्नीकाँध गाउँ तरकारी खेतीका लागि उदाहरणीय गाउँ भएको र सहयोगी संस्थाले पनि त्यसको निगरानी तथा कार्यान्वयनमा पनि राम्रो गरेको बताएका छन् ।

प्रतिक्रिया