काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसले प्रतिपक्षी दल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भनेजस्तो सरकार बन्ने र ढल्ने नहुने बताएको छ ।
बिहीबार पार्टी सभापति शेरबहादुर देउवा निवासमा बसेको पूर्वपदाधिकारी, पदाधिकारी र मन्त्रीसहितको बैठकपछि प्रवक्ता प्रकाशशरण महतले प्रचण्डले भनेजस्तो वर्तमान सरकार बन्ने र ढल्ने नहुने बताएका हुन् ।
‘प्रमुख प्रतिपक्षी दलले त सरकारको प्रतिपक्षमा भएको हुनाले सरकार ढलिहालोस् भन्ने स्वभाविक धर्म नै हो,’ महतले भने, ‘उहाँ (प्रचण्ड) ले भनेको कुरामा टिप्पणी छैन, उहाँले के भन्नुहुन्छ भन्ने आधारमा सरकार बन्ने र ढल्ने हुँदैन ।’ उनले गठबन्धन सरकार भन्नासाथ सबै एउटैको मात्रै निर्णय लागू नहुने बताउँदै समन्वय आवश्यक भएको बताए ।
महतले भने, ‘गठबन्धन सरकार भन्ने बित्तिकै एउटै दलको सबैथोक हुँदैन, समन्वयको आवश्यकता छ, सबैको कुरा समेट्नपर्ने आवश्यकता छ, नियुक्तिका कुरामा पनि सन्तुलनको आवश्यकता छ, डेलिभरी गर्नुपर्छ भन्ने कुरामा हामी अडिग छौँ ।’
साथै, महतले सत्तारुढ दल नेपाली कांग्रेसले गठबन्धनभित्र रहेका दलहरूबीचमा समन्वय र सन्तुलनको आवश्यकता रहेको निष्कर्ष निकालेको बताए । पूर्वपदाधिकारी, पदाधिकारी र मन्त्रीसहितको छलफलमा गठबन्धनमा रहेका दलहरूबीच तालमेल र सहकार्यको आवश्यकता रहेको निष्कर्ष निकालिएको पनि प्रवक्ता महतको भनाइ छ ।
‘सरकारको पर्फमेन्स अझै बेटर हुनुपर्छ, बढी गठबन्धन दलबीच समन्वय र सन्तुलन हुनुपर्यो भन्ने कुरा भयो, अझै सशक्त रुपमा डेलिभरी सरकारले दिनुपर्छ भन्ने विषयमा कुराकानी भयो,’ उनले भने । गठबन्धन सरकार भन्ने बित्तिकै एउटै दलको मात्रै कुरा लागू नहुनेबारे बैठकमा छलफल भएको महतले बताए ।
प्रतिक्रिया