घुम्नका लागि धरान पुग्नेहरू भेडेटारमा पुगेर चिसोको आनन्द लिने गरेको वर्षौं भइसक्यो । अर्थात् धरान र भेडेटार एकअर्काका पर्याय भइसके, स्थापित भइसके । कवि उपेन्द्र सुब्बाले ‘भेडेटारको पिकनिक’ कवितामा भने झैँ भेडेटारमा रहेका पर्यटकीय पूर्वाधारले सबै उमेर समूहका व्यक्तिलाई लोभ्याउने गरेकै थियो । अहिले भने भेडेटारसम्म पुग्नै पर्दैन । केही तलका डाँडापाखामा खुलेका राम्रा, आकर्षक, शान्त र मनै लोभ्याउने होटल रिसोर्टले स्थानीय र टाढाटाढाका पर्यटकलाई राम्रै सेवा दिन थालेका छन् ।
धरान उपमहानगरपालिका–१३ स्थित भ्यू–पोइन्ट र सारांगा डाँँडालगायतका डाँडापाखा केही वर्षपहिले सुनसान जंगल थिए । तर ती ठाउँ अहिले नयाँ होटल, रिसोर्ट र रमणीय पार्कहरूले भरिँदै गएका छन् ।
पार्क र होटलहरू निर्माण भएसँगै पर्यटनको आगमन पनि बढ्दै गएको छ । अहिले यस क्षेत्रमा ४० वटाभन्दा बढी होटल रिसोर्ट र रेस्टुरेन्टहरू सञ्चालनमा रहेका छन् भने दर्जनाँै पार्क निर्माण गरिएको छ जसका कारण यहाँ दैनिक नेपाल भारतलगायतका ठाउँहरूबाट उल्लेखनीय संख्यामा पर्यटकहरूको आगमन हुने गरेको स्थानीय व्यवसायी बताउँछन् ।
धरान–१३ का स्थानीय निरज कोइरालाको भनाइअनुसार धरानको सन्ध्याकालीन व्यापार र रमझम केहीमाथिका डाँडातिर सरेको छ । ‘केही वर्ष अगाडिसम्म यी डाँडा, जंगल, झाडी र गोठालाका खेलमैदान सुनसान जस्तै हुन्थे । हामी घाँसदाउरा र गोठाला जाने गथ्र्यौं’, कोइरालाले सुनाए ।
‘कुनै समय उजाडझैँ देखिने डाँडापाखाहरूमा पार्क र रिसोर्टहरूले ढाकिएसँगै यहाँका स्थानीयवासीले रोजगारीका लागि नयाँ अवसरहरू पनि पाइरहेका छन्’, कोइरालाले भने । ‘लाहुरेको सहर, फेसनेबल सहर, खेलकुदको सहर’लगायत अनेक उपनामले परिचित धरान सहर पछिल्लो समय मनोरञ्जन क्षेत्रका रूपमा निकै अगाडि छ । यसैको एउटा नमुना हो, डाँडापाखामा खुलेका नयाँ होटेल, रिसोर्ट र मनोरञ्जनात्मक पार्कहरू ।
पर्यटकीय हिसाबले भरपुर सम्भावना देखिएसँगै यस क्षेत्रलाई लक्षित गर्दै स्थानीय तथा बाह्य लगानीकर्ताहरूले पर्यटन व्यवसायमा लगानी बढाउँदै लगेका छन् । वैदेशिक रोजगारीका सिलसिलामा १४ वर्ष कतारमा दुःख गरेर नेपाल फर्किएका सुनिल श्रेष्ठले धरान उपमहानगरपालिका–१३ मा ‘द होटल भ्यू’ सञ्चालन गरिरहेका छन् । विदेशमा गएर सिकेको सीप, अनुशासन र व्यवसाय कौशललाई होटल सञ्चालन गरेर उपयोग गरिरहेको सञ्चालक श्रेष्ठले बताए ।
‘सुरुमा ठूलो लगानीबाट सुरु गरिएको व्यवसाय कतै डुब्ला कि भन्ने डर थियो । सुरुआती समयमा चुनौतीहरू भए पनि अहिले होटल राम्रो चलिरहेको छ । त्यही कारण व्यवसायमा थप लगानी गर्ने हौसला मिलेको छ । धरानको प्राकृतिक सौन्दर्यलाई जोगाउँदै आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्ने प्रयत्न गरिरहेका छौँ’, उनले भने । अहिले ३ कट्ठा जमिनमा करिब १ करोडको लगानीमा सपरिवार मिलेर होटल सञ्चालन गरिरहेको उनले जानकारी दिए ।
धरान आसपासका डाँडामा होटल र मनोरञ्जन पार्क निर्माण भई सञ्चालनमा आएपछि रोजगारीको अवसर पनि खुलेको छ । ‘द होटल भ्यू’ मा मात्रै १७ जनाले रोजगारी पाएका छन् । ‘समय समयमा कामदारलाई तालिम दिने गरेको छु । अब चाहिँ लाग्न थाल्यो स्वदेशमै बसेर पनि राम्रो कमाई गर्न सकिने रहेछ’, श्रेष्ठले भने ।
द होटल भ्यूमा विगत ३ वर्षदेखि काम गरिरहेका समीर परियारले भने, ‘मैले यहाँ रोजगारी नपाएको भए अहिले म विदेश पलायन भइसक्थेँ होला । आफ्नै ठाउँमा रोजगार पाएको छु । धेरथोर भए पनि आम्दानी गरिरहेको छु । परिवारसँग बस्न पाएको छु । आफ्नो गाउँठाउँका होटलहरू विदेशी र स्वदेशी पाहुनाहरूको स्वागत सत्कार गर्न पाउँदा खुसी लागेको छ ।’
‘धरान–१३ को होटल मनशान्तका मेनेजर सुजन राईका अनुसार कोरोना महामारी भएको बेला व्यापार–व्यवसाय खस्किएको थियो । तर अहिले बिस्तारै पर्यटकको आगमन बढ्न थालेको छ । जसले गर्दा व्यापार–व्यवसायमा सुधार हुँदै गएको छ’, उनले भने । अहिले पर्यटकको चहलपहल निकै हुन थालेपछि यहाँका व्यवसायीहरू पनि खुसी छन् । दैनिक हजारौँ संख्यामा आन्तरिक तथा बाह्य पर्यटक घुम्न आउने गरेको उनले बताए ।
धरानका डाँडापाखामा व्यावसायिक प्रयोजनका लागि होटल र पार्कहरू तीव्र गतिमा भरिने क्रममा रहेको छ । डाँडापाखा शान्त वातावरण, प्राकृतिक सौन्दर्य र शीतल हावाको मजा लिन चाहनेहरूका लागि धरानका डाँडापाखाहरू गन्तव्य बनेको छ ।
पिकनिक स्पट, भव्य रिसोर्ट, आकर्षक पार्कले आन्तरिक पर्यटकलाई तानिरहेको इटहरीबाट घुम्न आएकी सुमी राईले बताइन् । ‘धरानको सिरानमा रहेका यस क्षेत्रका होटल रिसोर्टहरू साँच्चिकै मनमोहक छन् । इटहरीबाट साथीहरूलाई लिएर घुम्न आएँ । यस ठाउँबाट धरान बजारका साथै सुनसरीको समथर फाँट, कोसी नदी, चारकोसे झाडी, चिन्डेडाँडा लगायतका ठाउँको दृश्यावलोकन गर्न सकिन्छ रहेछ । साथै चिसो हावापानी पाउँदा साँच्चिकै रमाइलो लागेको छ ।’
सुमी राईलाई जस्तै तराईको गर्मी छल्ने र केही घण्टा भए पनि मनोरञ्जन गर्नेहरूका लागि धरान आसपासका डाँडा नयाँ गन्तव्य बनेका छन् । केही वर्षअगाडि यस ठाउँमा आउँदा फाट्टफुट्ट मात्र रिसोर्टहरू थिए । तर अहिले डाँडाभरि होटल रिसोर्टहरू खुलिसकेका छन् । ‘हामी सहरको भिडभाडबाट केही माथि सुन्दर अनि शान्त ठाउँमा आएर निकै रमाइलो ग¥यौँ, यहाँको प्राकृतिक सौन्दर्यले मन नै आनन्दित हुन्छ अरू साथीभाइलाई पनि यस ठाउँमा घुम्न आउन आग्रह गर्छु’, सुमीले भनिनन् ।
धरानका डाँडापाखामा खुलेका होटल र फास्टफुड पसलमा नेपाली पर्यटकसँगै भारतीय पर्यटकको पनि आकर्षण बढेको छ । धेरैजसो पर्यटकहरू धनकुटाको भेडेटार र नाम्जे जाने गर्थे । तर धरान आसपासका डाँडामा होटल र रिसोर्टहरू खुलेपछि पर्यटकहरू आकर्षित भएको धरान–१३ स्थित होटल सारांगाका सञ्चालक जेशिस राईले बताए ।
कोसी राजमार्ग आसपास रहेको होटल र रिसोर्टमा आउने पर्यटकमध्ये करिब ४० प्रतिशत भारतीय नागरिकहरू रहेका छन् । पूर्वाधार विकाससँगै थप मनोरञ्जनका क्षेत्र विस्तार गर्न सके यो क्षेत्रमा पर्यटन व्यवसाय अझै फस्टाउने होटल सारांगाका सञ्चालक राईको भनाइ छ ।
धरान आसपासका डाँडामा व्यक्तिका नाममा जग्गा भए पनि उपयोगमा आएका थिएनन् । घारी जंगल थियो, चोरी डकैती हुने गथ्र्यो । लागुऔषध सेवनकर्ता जताततै देखिन्थे । दिउँसो एक्लै हिँडडुल गर्न कठिन थियो । साँझ परेपछि धनकुटातिर जाने सवारी साधनहरूमा समेत लुटपातको डर हुने गथ्र्यो । तर अहिले मध्यरातसम्म यी ठाउँमा झिलीमिली र गुल्जार हुने गरेको धरान–१३ का स्थानीय पदम राईले बताए ।
‘डाँडापाखामा चारैतिर होटल रिसोर्टहरूले झिलीमिली भएको देख्दा साह्रै राम्रो लाग्छ । होटल रिसोर्टहरूमा सयौँ युवाले स्वदेशमै रोजगार पाएका छन् । अझै थप पूर्वाधार निर्माण हुने क्रममा रहेको छ । अब यो ठाउँ धरान आउने पर्यटकका लागि पुग्नै पर्ने गन्तव्यका रूपमा विकास भएको छ’, उनले भने ।
धरान उपमहानगरपालिका–१३ मा निर्माण गरिएको ओशो पार्क जहाँ आन्तरिक तथा बाह्य पर्यटकको मुख्य आकर्षण केन्द्रका रूपमा विस्तार हुँदै गएको छ । धरानको मुख्य बजार भानुचोकबाट करिब ६ किमीमाथि निर्माण गरिएको पार्क जहाँ त्यसको वरपर श्रमदानबाट बनाइएका एसडिबी, रकगार्डेन, बिपी पार्कलगायत एकैसाथ दर्जनौँ पार्क निर्माण गरिएको छ ।
वरिपरिको हरियाली वातावरणसहित ढकमक्क फुलेका फूलले पर्यटकको मन त्यसै लोभ्याउँछ । ओशो पार्कमा पुगेका पाँचथरका सन्दीप लिम्बू भन्छन्, ‘आजभन्दा ५–७ वर्षअगाडि यस ठाउँमा आउँदा चारैतिर जंगल झाडी अनि बगर थियो । अहिले यस्तो राम्रो पार्क बनिसकेछ ।’
‘यहाँको पर्यटन विकास गर्न यसका अलवा स्थानीयस्तरबाट पनि केही पार्क र वनभोजस्थलहरू थप्नका निम्ति कामहरू गर्न खोजिरहेका छाँै । होटेल पार्कहरूमा स्थानीय संस्कृति झल्काउने वातावरण बनाउने योजना अगाडि ल्याएका छौँ’, धरान उपमहानगरपालिका–१३ का वडाध्यक्ष नेत्र काफ्लेले बताए ।
‘नयाँनयाँ निर्माण भइरहेका होटेल र पार्क निर्माणका कार्यलाई हामीले नियमन र सहजीकरण गर्दै आइरहेका छौँ । धरानको उत्तरी क्षेत्रलाई संरक्षण र विकास गर्न उपमहानगरपालिकाका तर्फबाट विस्तृत योजना बनाइरहेका छौँ । यो ठाउँलाई धरानको सौन्दर्य पहिचानसँग जोड्ने योजना छ’, वडाध्यक्ष काफ्लेले भने ।
यहाँ सुनसरी, मोरङ, झापा, विराटनगरलगायत नेपालका विभिन्न ठाउँबाट आन्तरिक पर्यटक घुम्न जाने क्रम बढ्दै गएको छ । यहाँ पारिवारिक मिलन र भेटघाट, पारिवारिक घुमफिर, जन्मदिनका कार्यक्रम गर्ने चलन पनि बढ्दै गएको छ । यहाँका होटलमा नेपाली खानाका परिकार, स्थानीय जातजातिका खानाका परिकार, धराने कालो बंगुरको सेकुवा, सुकुटी, तोङ्बा लगायतका स्थानीय खानाको स्वाद पनि पाइने होटल व्यवसायीहरूले बताउँछन् ।
प्रतिक्रिया