काठमाडौँ । पछिल्लो समय विश्व अर्थतन्त्र नै तरंगित बनाउने गरी बढिरहेको अमेरिका–चीन व्यापार युद्ध समाधानको सट्टा थप गिजोलिने अवस्थामा पुगेको छ । अमेरिकी राष्टरूपति डोनाल्ड ट्रम्पले व्यापार युद्ध अन्त्यका लागि चीनले आफूसँग झुक्नुपर्ने प्रस्ताव राखेपछि यो विषय थप पेचिलो बन्ने देखिएको हो ।
गत २० जनवरीमा राष्ट्रपतिको पदभार सम्हालेका ट्रम्पले ‘अमेरिका फस्र्ट’ नीति लिँदै अन्य देशहरूमाथि अस्वाभाविक कर र भन्सार लगाउँदै आएका छन् । अमेरिकाले लगाएको अस्वाभाविक ‘ट्यारिफ’पछि चीनले पनि प्रतिशोध ‘ट्यारिफ लगायो । त्यसपछि यी दुई देशबीच ‘ट्यारिफ युद्ध’ जारी छ ।
तर, पछिल्लो समय अमेरिकाले चीनसँगको व्यापार युद्ध रोक्न आफू तयार भए पनि त्यसका लागि चीनले वार्ताको वातावरण बनाउनुपर्ने बताएको छ । अमेरिकी राष्ट्रपति ट्रम्पले अहिले बढिरहेको व्यापार युद्ध अन्त्यको बल ‘चिनियाँ कोर्ट’मा भएको बताएका छन् । अमेरिकी प्रेस सचिव लेभिटले भनिन्, ‘राष्ट्रपतिले फेरि एक पटक स्पष्ट पार्नुभएको छ कि उहाँ चीनसँग सम्झौता गर्न तयार हुनुहुन्छ । तर, त्यसका लागि चीनले पहिले सम्झौताको वातावरण बनाउनुपर्छ ।’
यता, चिनियाँ राष्ट्रपति सी जिनपिङ र उनका अधिकारीले आफ्ना व्यापारिक साझेदारहरूलाई अमेरिकी भन्सार शुल्कविरुद्ध एकताबद्ध हुन आह्वान गर्दै ‘अन्तिमसम्म लड्ने’ बाचा गरेका छन् । यति मात्र होइन, उनले मोर्चाबन्दीका लागि दक्षिण पूर्वी एसियाको भ्रमणसमेत सुरु गरेका छन् । ट्रम्पले आयातमा गरेको करवृद्धिको विरोधमा प्रतिशोधात्मक उपाय अवलम्बन गरेपछि बढेको तनाव व्यवस्थापनमा पहल गर्न भन्दै विश्वको दोस्रो ठुलो अर्थतन्त्र चीनले बुधबार नयाँ व्यापार दूत पनि नियुक्त गरेको जनाएको छ ।
बेइजिङको मानव संशाधन मन्त्रालयले आफ्नो वेबसाइटमा जारी विज्ञप्तिमा ली चेङगाङले अन्तर्राष्ट्रिय व्यापार वार्ताका लागि प्रतिनिधि र वाणिज्य उपमन्त्रीको भूमिका निर्वाह गर्नेछन् । यसअघि विश्व व्यापार संगठनका लागि बेइजिङका राजदूत र स्विट्जरल्यान्डको जेनेभामा संयुक्त राष्ट्रसंघका लागि उपस्थायी प्रतिनिधिका रूपमा काम गरिसकेका ५८ वर्षीय लीलाई कुशल कूटनीतिज्ञका रूपमा हेर्ने गरिएको छ ।
उनलाई वाङ शौवेनको उत्तराधिकारीका रूपमा जिम्मेवारी तोकिएको मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । वाङले सन् २०२० मा चीन र अमेरिकाबीच व्यापार सम्झौता गर्ने वार्तामा भाग लिएका थिए । ट्रम्पले विशेष गरी चिनियाँ आयातलाई लक्ष्य गरी विश्वव्यापी कर आक्रमण सुरु गरेदेखि नै बेइजिङ र वासिङ्टनबीच करबारे चर्काचर्की खेल सुरु भएको छ । प्रतिशोधका कारण चीनविरुद्ध लगाइएको अमेरिकी कर २४५ प्रतिशत पुगेको छ भने अमेरिकी सामानमा बेइजिङले पनि १२५ प्रतिशत कर पु¥याएको छ ।
प्रतिक्रिया