ओली र देउवाबीच सहमति भइसक्यो, गभर्नर छिटै नियुक्ति गर्छौँ : मन्त्री गुरुङ

काठमाडौं । सरकारका प्रवक्ता समेत रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच सहमति भइसकेकाले नेपाल राष्ट्र बैंकमा छिटै गभर्नर नियुक्ति हुने बताएका छन् ।

बिहीबार मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा बोल्दै प्रवक्ता गुरुङले यस विषयमा जानकारी दिएका हुन् । उनले गभर्नर नियुक्तिको समस्या समाधानका लागि सत्ता साझेदार दलका प्रमुख नेताहरुबीच सहमति भएकाले चाँडै नियुक्त हुने बताए ।

उनले भने, ‘हिजो मात्रै दुई जना पार्टीका महत्त्वपूर्ण व्यक्तिहरू नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच वार्ता भएर समस्याको समाधान गर्ने भनेर उहाँहरूले सहमति गर्नुभएको छ, आज संयन्त्रको बैठक बस्दैछ, आज संयन्त्रको बैठकले नीतिगत मार्गदर्शन गर्नेछ भन्ने विश्वास लागेको छ ।’

गभर्नर जस्तो महत्त्वपूर्ण पदमा सबै दलको चासो हुनु स्वभाविक भएको पनि उनले बताए । उनले भने, ‘गभर्नर नियुक्ति ढिलो भएकै छ, चाँडोभन्दा चाँडो गर्दै छौँ, कुनै चलखेल भएको छैन, एउटै पार्टीको सरकार होइन, मिलिजुली सरकार हो, सरकारमा कांग्रेस र एमाले मात्रै होइन अरु पार्टीहरु पनि छन्, यो विषयमा सबैको चासो हुन्छ, त्यसलाई मिलाउनुपर्ने छ ।’

प्रतिक्रिया