स्वास्थ्यसम्बन्धी सबै विवरण उपलब्ध हुने प्रणाली लागू गर्ने तयारी

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नागरिकको स्वास्थ्यसम्बन्धी सबै विवरण उपलब्ध हुने प्रणाली लागू गर्ने तयारी गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले सबै विद्युतीय चिकित्सा विवरण एउटै प्रणालीमा ल्याउन एकीकृत विद्युतीय चिकित्सा प्रणाली लागू गर्ने निर्णय गरेका थिए ।

त्यसलाई मद्दत पुग्ने गरी व्यक्तिका सबै स्वास्थ्य विवरण एकैठाउँमा रहनेगरी ‘युनिक हेल्थ आइडी’ निर्माणको तयारी थालिएको जनाइएको छ । आज मन्त्रिस्तरीय निर्णय गर्दै उनले मन्त्रालयको गुणस्तर मापन तथा नियमन महाशाखा प्रमुख डा सरोज शर्माको नेतृत्वमा सुझाव समिति गठन गर्ने निर्णय गरेका छन् । समितिमा मन्त्रालयको नीतियोजना तथा अनुगमन महाशाखा, कानुन तथा फैसला कार्यान्वयन महाशाखा, पञ्जीकरण विभागका प्रतिनिधि रहेको मन्त्रालयले जनाएको छ ।

यसैगरी, सूचना प्रविधि परामर्शदाता इञ्जिनियर शशांकश्री न्यौपाने, स्वास्थ्य बिमा बोर्ड, विश्व स्वास्थ्य संगठन तथा नेपाल उद्योग परिसंघका प्रतिनिधि समितिमा छन् । समितिको सदस्य सचिवमा मन्त्रालयका सूचना प्रविधि निर्देशक रमेशराज सुवेदी छन् । समितिलाई स्वास्थ्य पहिचान नम्बर सिर्जना गर्ने विधि, प्रक्रिया तथा ‘अल्गोरिदम’ अध्ययन गरी प्रस्ताव गर्न कार्यादेश दिइएको छ ।

राष्ट्रिय परिचयपत्र, स्वास्थ्य बिमा प्रणाली तथा सरकारबाट जारी भएका मान्यता प्राप्त परिचयपत्रसँग आवश्यक अनुसन्धान गर्न भनिएको छ । मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीका अनुसार मन्त्रालयले समितिबाट प्राप्त विस्तृत सुझावसहितको प्रतिवेदन दिएपछि थप प्रक्रिया अघि बढ्नेछ ।

यसले व्यक्तिका स्वास्थ्यसम्बन्धी सबै विवरण एकत्रित हुने र उपचार तथा राज्यलाई नागरिकको स्वास्थ्य तथ्यांकका आधारमा कार्यक्रम, योजना तर्जुमामा मद्दत मिल्ने विज्ञहरुको भनाइ छ । समितिका सदस्य न्यौपानेले विद्यमान विद्युतीय चिकित्सा अभिलेख कार्यान्वयन र विद्युतीय माध्यमबाट सहज स्वास्थ्य सुविधा दिन नयाँ व्यवस्था लागू हुन सके मद्दत पुग्ने बताइन् ।

प्रतिक्रिया