इसेवाका चार हजार खाताबाट करोडभन्दा बढी रकम चोरेको आरोपमा एक युवक पक्राउ

काठमाडौं । ‘एटी अलर्ट’ मार्फत फिसिङ लिंक पठाएर चार हजार ग्राहकको एक करोडभन्दा बढी रकम चोरी गरेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले यस कार्यमा संलग्न रहेको आरोपमा कञ्चनपुरको कृष्णपुर नगरपालिका–१ घर भई हाल काठमाडौंको अनामनगर बस्ने २२ वर्षीय राहुल बुढालाई पक्राउ गरेको हो ।

प्रहरीका अनुसार राहुलले विभिन्न व्यक्तिहरूलाई एसएमएसमार्फत ‘द अलर्ट, एटी अलर्ट’ जस्ता फिसिङ लिंक पठाएर तपाईंको खाता सस्पेन्ड हुन लागेको भनी चेतावनी दिई भेरिफाईको लागि लिंक खोल्न लगाएर इसेवामा अनाधिकृत पहुँच पुर्याउने गरेका थिए ।

यसरी उनले चार हजारभन्दा बढी व्यक्तिको इसेवामा रहेको मौज्दात रकम पशुपति ग्लोबल इन्नोभेसन प्राइभेट लिमिटेडको मर्चेन्ट खाताहरूमा १ करोड २ लाख रुपैयाँ बराबरको रकम ट्रान्सफर गरी चोरी गरेको प्रहरीले जनाएको छ ।

ती युवकलाई वैशाख २ गते कालीमाटीबाट पक्राउ गरी आवश्यक अनुसन्धान तथा कारबाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया