गोरखा । बालबालिका माथिल्लो कक्षामा पढ्ने उमंगका साथ नतिजाका पर्खाइमा छन् । शिक्षक आन्दोलनले ढिलाइ भए पनि छिट्टै नतिजा आउला र नयाँ पाठ्यपुस्तक बोकेर माथिल्लो कक्षामा पढ्न जाऔँला भन्ने उत्साह बोकेर गाउँघरतिरै खेलिरहेका छन् ।
गण्डकी गाउँपालिका–६ बनटारकी कविता चेपाङ पनि समय मिलाएर तिनै साथीहरूसँग हाँसखेल गरिरहेकी छिन्, तर उनमा न नतिजाको पर्खाइ छ, न उपल्लो कक्षामा पढ्न जाने जोश । बिदा मनाइरहेका साथीसंगीसँग खेल्न पाउँदा मुहारमा घाम उदाए पनि विद्यालय, पठनपाठन सम्झेपछि उनको मुहारमा अँध्यारो बादल छाउँछ ।
१३ वर्षीया कविता प्रायः घरधन्दामा व्यस्त हुन्छिन् । उनलाई घरको काम र भाइबहिनीको स्याहारसुसारकै लछारोपछारो छ । चेपाङ बालबालिकामात्र पढ्ने तोमनडाँडा मावि पुग्न उनको घरबाट बढीमा १० मिनेट लाग्छ, तर उनको जीवनबाट विद्यालय धेरै टाढा पुगिसकेको छ । कक्षा ५ मा पढ्दापढ्दै गत कात्तिकमा उनले पढाइ छाडेकी हुन् । घरको आर्थिक अवस्था कमजोर भएकै कारण आफूले पढाइ छाड्नुपरेको उनको दुःखेसो छ ।
‘पढ्न मन त लाग्छ नि ! पढाइमा पनि राम्रै गरिरहेको थिएँ, तर के गर्नु, घरबाट सघाउ भएन, त्यसैले छोड्नुपर्यो’, उनले भनिन्, ‘पढिरहेको भए अहिले म पनि ६ कक्षामा जान्थेँ होला ।’ कविताको अन्य चार दिदीबहिनी र तीनजना दाजुभाइ छन् । कवितापछिको १० वर्षीया अनुका चेपाङ र अनुकापछिको ६ वर्षका भाइ आयुष भने तोमनडाँडा माविमा अध्ययनरत्त छन् । आयुषमुनिको कान्छो भाइ आकाश चेपाङ डेढ वर्षको छ ।
‘म माथिको दाजु सुरज केही वर्षअघि ४ कक्षा पढ्दापढ्दै घरको अवस्था देखेर पढ्न छाड्नुभयो, अहिले चितवनतिर होटलमा काम गर्नुहुन्छ, कहिलेकाहीँ चाडपर्वका बेलामा मात्र घर आउनुहुन्छ’, कविताले भनिन्, ‘दाजु माथिकी दिदी बबिताले यस वर्ष एसइई दिनुभयो, बबितामाथिको दुई जना दिदीहरू अस्मिता र सुस्मिताको चाहिँ बिहे भइसक्यो’, कविताले भनिन् । घरमा सबैभन्दा धेरै पढेकी बबिता हुन् । १८ वर्षीया बबितालाई भने ‘मिस मंगोल नेपाल’ नामक संस्थाले तोमनडाँडा माविमा कक्षा १० सम्म आवासीय सुविधासहित पढाइदिएको हो ।
‘जेठी दिदी अस्मिताले त ६–७ वर्ष भयो बिहे गरेको पनि, बबिताभन्दा चार वर्ष जेठी छ अस्मिता, अस्मिताभन्दा एक वर्ष कान्छी सुस्मिताले पनि बिहे गरेको चार–पाँच वर्ष भयो’, कविता भन्छिन्, ‘धेरै पढेको बबिताले मात्र हो, दिदीहरू त पढ्नै गएनन्, दाजु र मैलै चाहिँ छाडेको, मलाई घरमा बाबाममीले दिनरात पढ्न नजा भनी कराउनुहुन्थ्यो त्यसैले छोडिदिएँ तर दाजुलाई चाहिँ पढ् भनुहुन्थ्यो, उहाँले आफैँ छाडेको हो’, उनले भनिन्, ‘जाँडरक्सीको तालमा कहिलेकाहीँ बाबुआमाले पढ्न जा भन्नुहुन्छ, फेरि सोच्छु, सधैँ एकदिन जा भन्ने, अर्को दिन नजा भन्ने गर्छन्, त्यही भएर पढ्न जान मन लाग्दैन ।’
कविताको बाआमा नियमित जसो मदिरा सेवन गर्छन् । घरमा बिरलै भेटिने उनीहरू कहिले कुल्ली काम गर्न जान्छन् त कहिले छोरीहरूको घर । साना भाइबहिनीहरूको हेरबिचारको जिम्मा साइली बबिता र काइली कविताको हो । ‘अब त कसरी पढ्ने होला र खै केही उपाय छैन । काम पाए त गर्नुहुथ्यो, अलिअलि पैसा कमाउन पाए घरको खर्च टथ्र्यो’, १३ वर्षीया कविता भन्छिन् ।
कविता मात्र होइन उनकी दिदी बबितालाई पनि घरको जिम्मेवारीले पिरोलेको छ । अठार वर्षीया बबितालाई पनि बाँकी पढाइ कसरी गर्ने र घरको खर्च कसरी टार्ने भन्ने चिन्ता छ । उनी भन्छिन्, ‘११–१२ पनि पढ्न मन छ, तर कसरी खर्च जुटाउने थाहा छैन, अब त घरमा पनि हेर्नुपर्छ, बहिनीले पनि पढोस्जस्तो लाग्छ तर पैसा छैन जान्न मात्र भन्छे ।’
कविता मात्र होइनन्, वनटारस्थित चेपाङ बस्तीका अधिकांश बालबालिकाले बीचैमा पढाइ छाडेका छन् । वनटारमा ४–५ कक्षा पढेर छाड्नु सामान्य हो । ‘यता प्रायः सबै जनाले बीचैमा पढ्न छाडेका छन् । म र एक–दुई जना दिदीहरूले मात्र हो एसइईसम्म पढेको’, कविताकी साइली दिदी बबिता चेपाङले भनिन्, ‘संस्थाले नहेरेको भए सायद म पनि पढ्न पाउँदिन थिए होला ।’
बहिनीले पारिवारिक समस्याकै कारण पढाइ छाडेको उनको भनाइ छ । ‘पढ्न गएरमात्र भएन घरबाट कापी, कलम हेर्दिनन्’, बबिता भन्छिन्, ‘बाबाले कहिलेकाँही कुल्ली काम गर्नुहुन्छ, त्यसैले घरमा सरसामान ल्याउने हो, फेरि बाबुआमाले रक्सी पनि खानुपर्यो गर्दा ठिक्क हुन्छ ।’
प्रतिक्रिया