यु–१९ विश्वकप एसिया छनोट : हङकङले नेपाललाई‌ दियो ११६ रनको लक्ष्य

काठमाडौं । घरेलु मैदान मुलपानीमा जारी यु–१९ विश्वकप एसिया छनोट क्रिकेटअन्तर्गत आज भएको खेलमा हङकङले नेपाललाई जितका लागि ११६ रनको सामान्य लक्ष्य दिएको छ ।

टस हारेर पहिला ब्याटिङको निम्तो पाएको हङकङले ४७औँ ओभरमा ११५ रन बनाएर अलआउट भएको हो । हङकङका कप्तान शिव माथुरले अर्धशतक बनाउनुबाहेक अन्य ब्याटरले ठूलो स्कोर बनाउन सकेनन् ।

नेपालका लागि खेलको पहिलो ओभर अभिषेक तिवारीले गर्नुबाहेक अन्य सबै ओभर स्पिनरले गरेका थिए । हङकङका लागि तेस्रो नम्बरमा ब्याटिङ गर्न आएका कप्तान शिवले १ सय १६ बलमा ६३ रन बनाए । उनले ४ चौका र १ छक्का प्रहार गरेका थिए ।

शिवले दोस्रो विकेटका लागि आर्या पन्ज्वानीसँग ५० रनको साझेदारी गर्दै विकेट खस्न दिएका थिएनन् । दोस्रो ओभरमा विपिन शर्माले जुड लि थोमसलाई शून्यमा आउट गरेपछि शिव क्रिजमा आएका थिए । शिव ४२औँ ओभरमा युवराज खत्रीको बलमा छैटौँ विकेटको रुपमा आउट भएका थिए ।

हङकङका लागि आर्यले १३ रन बनाउँदा ह्यारी थोमसले १० रनको योगदान दिए । वीर मथुर १२ रन जोड्दै विपिन शर्माको बलमा उनकै हातबाट क्याच आउट भए ।

युवराजले १० ओभरमा मात्र १८ रन खर्चेर ४ विकेट लिए थिए । विपिन शर्माले ३, सन्तोष यादवले २ तथा अशोक धामीले एक सफलता प्राप्त गरे । अहिले नेपालले हङकङविरुद्ध जवाफी ब्याटिङ गरिरहेको छ ।

नेपालले यसअघिको सुरुवाती दुवै खेल जित्दै सुखद सुरुवात गरेको छ । नेपालले लिग चरणको अन्तिम तथा निर्णायक खेलमा शनिबार अफगानिस्तानसँग खेल्ने छ । अन्तिममा शीर्ष स्थानमा हुने टोलीले विश्वकपमा स्थान बनाउने छ ।

प्रतिक्रिया