राराको पानी बोकेर सगरमाथा चढ्दै बोहोरा

मुगु । छायाँनाथ रारा नगरपालिका–१३ थार्पगाउँका ४६ वर्षीय अक्कल बोहोरा विश्वलाई रारा ताल चिनाउन भन्दै राराको पानी र झन्डा बोकेर सगरमाथा आरोहणका लागि निस्किएका छन् । म्याराथन पूर्वधावक बोहोरा सगरमाथा आरोहण गर्ने कर्णालीकै पहिलो व्यक्ति हुन् ।

नेपालको सबैभन्दा ठुलो ताल तथा कर्णाली प्रदेशको प्रमुख पर्यटकीय गन्तव्य रारा ताललाई विश्वमा चिनाउन राराको झन्डासहित रारा र कर्णाली नदीको पानी बोकेर उनी २९ चैतमा सगरमाथा आरोहणका लागि हिँडेका हुन् । आरोहणको व्यवस्थापन टिसिनो टे«र्कस एन्ड एक्सपोर्टेसन प्रालिले गरेको र आरोहणका लागि लाग्ने ४३ लाख रुपैयाँभन्दा रकम आफैँले खर्च गरेको पनि बोहोराले बताए ।

बोहोराले निजी खर्चमा सगरमाथा आरोहण गर्ने आफू कर्णाली प्रदेशकै पहिलो व्यक्ति भएको दाबी गरेका छन् । हाल स्पेनमा रारा नामक होटल सञ्चालन गदै आएका बोहोराले मुगु जिल्लाका विपन्न तथा असाहय व्यक्तिहरूको शिक्षा, खानेपानी, स्वास्थ्योपचार तथा दैवीप्रकोप पीडितलाई सहयोगका साथै भौतिक पूर्वाधार निर्माणमा लाखौँ रुपैयाँ सहयोग गर्दै आएका छन् ।

बोहोरालाई मुगुका नागरिकले दीनदुःखीका सहयोगी तथा समाजसेवीका रूपमा चित्रण गर्छन् । उनले सगरमाथा शिखरमा रारा तालको झन्डा फहराएर विश्वमा राराको प्रचार गर्ने कुराले समग्र मुगुको शिर उचो बनाएको छायाँनाथ रारा नगरपालिका मेयर विष्णुकुमार भामले बताए ।

कर्णाली प्रदेश प्राकृतिक स्रोत, धार्मिक तथा सांस्कृतिक अवस्थाले पर्यटनको ठुलो सम्भावना बोकेको प्रदेश भए पनि प्रचारप्रसार अभाव रहेका बेला यो आरोहणले समग्र कर्णाली प्रदेशको पर्यटन प्रवद्र्धनमा सरोकारवाला निकायको ध्यानाकर्षण हुने विश्वास लिएको पनि बोहोराले बताए ।

टिसिनो टे«र्कस एन्ड एक्सपोर्टेसन प्रालिका प्रमुख दावा शेर्पाका अनुसार सगरमाथा आरोहणका लागि बोहोरासहितको टोली २९ चैतमा काठमाडौँबाट प्रस्थान गरेको छ । आरोहण टोलीको व्यवस्थापनका लागि आफ्नो कम्पनीको टोली यसअघि नै सगरमाथा क्षेत्र पुगिसकेको उनले बताए ।

प्रतिक्रिया