काठमाडौँ । सरकारप्रति सत्तारुढ दल नेपाली कांग्रेसभित्र तीव्र असन्तुष्टि बढिरहेका बेला प्रधानमन्त्री केपी शर्मा ओलीले कांग्रेसलाई टाढिन नदिने प्रयास थालेका छन् । पछिल्लो समय सत्तारुढ गठबन्धनमा आबद्ध दलहरूको बैठक हुन सकेको छैन भने कांग्रेस–एमालेका शीर्ष नेताहरूको पनि सरकारका काम, कारबाहीबारे छलफल हुन सकेको छैन ।
केही दिनयता कांग्रेसका शीर्ष नेताहरूले सार्वजनिक रूपमै सरकारको कार्यशैलीप्रति प्रश्न उठाउँदै सरकारको विरोध गरिरहँदा अत्तालिएका प्रधानमन्त्री ओलीले मंगलबार कांग्रेस सभापति शेरबहादुर देउवासँग भेट गरेका छन् । सोमबार पार्टीको सचिवालय बैठक गरेर सरकार परिवर्तन सम्भव नभएको दाबी गरेका ओलीले गठबन्धन दलभित्रै सरकारविरोधी मत बढ्दै गएपछि सरकार टिकाउन सक्रियता देखाउन लागेका छन् ।
कांग्रेसभित्र सरकारको गतिविधिप्रति असन्तुष्टिको मत बढिरहेको छ । यता सत्ताको खेलमा नलाग्ने भनेर सरकारबारे केही नबोली बसेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केही दिनअघि सरकार फेरबदल हुन सक्ने अभिव्यक्ति दिएपछि नेपाली राजनीति झनै तरंगित बन्न पुगेको छ । उनले आफूले पहिलेदेखि नै संसद्को सबैभन्दा ठुलो दल कांग्रेस नेतृत्वको सरकार हुनुपर्ने विषयमा बोलिरहेको अभिव्यक्ति दिएका थिए ।
प्रचण्डको सो अभिव्यक्तिले कांग्रेसभित्र पनि तरंग पैदा गरेको छ । कांग्रेसका कतिपय नेताहरू आफ्नै पार्टीको नेतृत्वमा सरकार बनाउनुपर्ने लबिइङमा समेत छन् । पछिल्ला केही दिनयता कांग्रेसकै शीर्ष नेताहरूले सरकारप्रति सार्वजनिक रूपमै असन्तुष्टि व्यक्त गरिरहेको अवस्थामा मंगलबार ओलीले देउवासँग १ घन्टा भेटवार्ता गरे । मंगलबार बिहान बालुवाटारमा उनीहरूबीच वान् टू वान् वार्ता भएको हो । सौर्य दैनिकसँग कुरा गर्दै प्रधानमन्त्रीका प्रेस सल्लाहकार प्रकाश सिलवालले २ नेताबीच नियमित भेटघाट भएको बताए ।
यस्तै, कांग्रेसका प्रचार विभाग प्रमुख मीन विश्वकर्माले सभापति देउवा र प्रधानमन्त्रीबीच समसामयिक राजनीतिक परिस्थितिको सम्बन्धमा कुराकानी भएको बताए । उनले पनि २ नेताबीचको भेटघाट नियमित भएको बताए । ‘शिक्षक आन्दोलन छ । चिकित्सकहरू पनि आन्दोलनको कुरा गर्दै हुनुहुन्छ । सडकमा धेरै आन्दोलन छन् । समसामयिक राजनीति पनि जटिल बनेको छ । यिनै विषयमा कुराकानी भएको छ,’ उनले भने ।
कांग्रेसलाई विश्वास दिलाउँदै ओली
पछिल्ला केही दिनयता कांग्रेस शीर्ष नेताहरूले सार्वजनिक रूपमा सरकारको आलोचना गरिरहँदा प्रधानमन्त्री ओली झस्किएका छन् । झनै प्रमुख प्रतिपक्षी दल माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले सरकार लामो समय जान नसक्ने अभिव्यक्ति दिएपछि त उनी कांग्रेसप्रति सशंकित बनेका छन् । यस्तो अवस्थामा उनले कांग्रेस नेताहरूसँग संवाद गरेर कुर्सी जोगाइराख्ने नीति अख्तियार गर्न लागेका छन् ।
यसका निम्ति पहिलो प्रयासका रूपमा उनले सभापति देउवासँग भेट गरी आपसी विश्वासको वातावरण बनाइराख्न लागिपरेको एमालेकै कतिपय नेताहरूको बुझाइ छ । सत्तारुढ दलका नेताहरूसँग छलफल नगरी एकलौटी अघि बढिरहेका ओलीले देउवासँगको भेटपछि अन्य बैठक, भेटघाट र छलफललाई समेत तीव्रता दिएका छन् । लगत्तै उनले साँझ मन्त्रिपरिषद् बैठक पनि राखेका छन् ।
सरकार सञ्चालनका लागि भन्दै गठन गरिएको उच्चस्तरीय राजनीतिक संयन्त्र ‘बेरोजगार’ रहेको अवस्थामा बुधबार उक्त संयन्त्रको बैठक राखेर कांग्रेस एमाले एकै ठाउँमा छन् भनेर देखाउन खोजेका छन् । बुधबार बैठक बोलाउने विषयमा देउवा र ओलीबीच सहमति जुटेपछि बैठक आह्वान भइसकेको छ । सौर्य दैनिकसँग कुरा गर्दै एमाले प्रमुख सचेतक महेश बर्तौलाले कांग्रेस र एमालेबीच कुनै असमझदारी नभएको बताए ।
६–६ महिनामा सरकार फेरबदल हुने स्थितिको अन्त्य गर्न कांग्रेस–एमालेको सरकार बनेको भन्दै उनले वर्तमान गठबन्धन नटुट्ने बताए । ‘एमाले कांग्रेसबीच कुनै अन्तरविरोध छैन । कुनै असमझदारी छैन । कुनै द्वन्द्व र कलह छैन,’ उनले भने, ‘कांग्रेस नेताहरूले सरकारले राम्रो गर्नुपर्छ भनेर बोलेको कुरालाई अन्यथा लिनु पनि हुँदैन । यही बोलेका आधारमा हामीबीचमा असन्तुष्टि बढ्यो, अन्तरविरोध भयो भनेर बुझ्नुहुँदैन ।’
कांग्रेसले बोलायो केन्द्रीय समिति बैठक
सरकारप्रति असन्तुष्टि बढिरहेका बेला कांग्रेसले आगामी वैशाख १७ गते केन्द्रीय कार्यसमिति बैठक बोलाएको छ । बैठकमा सरकारको कार्यशैलीको सम्बन्धमा निर्मम समीक्षा हुनुपर्ने माग केन्द्रीय सदस्यको छ । यस्तो परिस्थितिमा उक्त बैठकले सरकारको आगामी रोडम्यापको सम्बन्धमा पनि संकेत गर्ने नेताहरूको बुझाइ छ ।
सौर्य दैनिकसँग कुरा गर्दै कांग्रेसका प्रचार विभाग प्रमुख मीन विश्वकर्माले आफूहरू सरकार परिवर्तनको पक्षमा भन्दा पनि सरकारको कार्यशैली परिवर्तनको पक्षमा रहेको बताए । सरकारलाई बलियो बनाउने, कार्यसम्पादन क्षमता वृद्धि गर्ने र लोकप्रिय सरकार बनाउने कुरामा कांग्रेसको दबाब रहने उनको भनाइ छ ।
‘हामीले सरकार यसरी जानुपर्छ भनेर सार्वजनिक रूपमा दिएका सुझावहरू प्रभावकारी रूपमा कार्यान्वयन भएका छैनन् । नागरिकमा असन्तुष्टि छ । असन्तुष्टि न्यूनीकरण गर्न सरकारले सोचेर रणनीतिक योजना ल्याउनुप¥यो भन्ने हाम्रो कुरा हो,’ विश्वकर्माले भने । केन्द्रीय समिति बैठकमा समसामयिक राजनीतिक विषयमा कुराकानी भए पनि सरकार गठन, विघटन र नेतृत्व परिवर्तनलगायत विषयमा छलफल नहुने उनले दाबी गरे ।
प्रतिक्रिया