टोखाबाट बरामद भएको २५ करोड प्रकरण : नारायण पौडेल र चालक लामाविरुद्ध मुद्दा दायर

काठमाडौं । गत चैत ४ गते काठमाडौंको टोखाबाट ट्रकमा बरामद भएको रु २५ करोडभन्दा बढी विदेशी मुद्राको विषयमा नुसन्धान सकिएको छ । उक्त २५ करोडभन्दा बढी बरामद भएको विदेशी मुद्राको मुद्दामा राजस्व अनुसन्धान विभागले अभियोग दायर गरेको छ ।

मंगलबार जिल्ला अदालत काठमाडौंमा अभियोग पत्र दायर गरेको राजस्व अनुसन्धान विभागका प्रमुख चण्डिप्रसाद घिमिरेले बताए । घिमिरेका अनुसार मुद्रा लिएर चीन जान लागेका ट्रक चालक फुच्चे भनिने कुसाङ लामा र सिन्धुपाल्चोकको भोटेकोसीका नारायण पौडेलविरुद्ध अभियोग दायर भएको हो ।

विदेशी विनिमय (नियमन गर्ने) ऐन २०१९ को दफा ३,४,५ र ९ को कसुरमा सजाय माग गरिएको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले गएको चैत ४ गते लामालाई विभिन्न देशका मुद्रासहित प्रहरीले पक्राउ गरेको थियो । उक्त मुद्रा सोही दिनको राष्ट्र बैंकको विनिमय दरअनुसार नेपाली रुपैयाँ २५ करोड ३४ लाख ७८ हजार ८४२ रुपैयाँ हुन आउने प्रहरीले जनाएको छ ।

अपराध अनुसन्धान कार्यालयको टोलीले युरो १३ लाख ७५ हजार १५०, अमेरिकी डलर ३ लाख २० हजार ८५० सहित टोखा नगरपालिका– २ झोरबाट सिन्धुपाल्चोका तामाङलाई पक्राउ गरेको थियो ।

उनले चलाएको ना ७ ख १६५२ नम्बरको कन्टेनरमा उक्त रकम बरामद भएको थियो । चालक बस्ने स्थानदेखि माथिको क्याबिनमा फल्स बटम बनाइ लुकाएको अवस्थामा प्रहरीले विशेष सूचनाको आधारमा उक्त रकम बरामद गरेको थियो ।

प्रतिक्रिया