काठमाडौं । सांसद डाक्टर अन्जान शाक्य र सोविता गौतमले अन्तर–व्यवस्थापिका संघ (आईपीयु) को १५०औँ महासभामा यो पटक नेपालको प्रभावकारी सहभागिता रहेको भन्दै खुशी व्यक्त गरेका छन् । सभामुख देवराज घिमिरेलेअन्तर–व्यवस्थापिका संघ (आईपीयु) को १५०औँ महासभाबाट नेतृत्व लिएका सांसदहरु डा. शाक्य र गौतमको स्वागत–सम्मान तथा संसदीय मामिलाका पत्रकारहरुसँगको छलफलमा उनीहरुले यस्तो बताएका हुन् ।
एसिया–प्रशान्त क्षेत्रको तर्फबाट नेपालको प्रतिनिधित्व गर्दै राष्ट्रियसभा सदस्य डा. अन्जान शाक्य आईपीयूको दिगो विकास स्थायी समितिमा विजयी भएकी थिइन् । उनी माल्दिभ्स र इरानका दुई उम्मेदवारलाई पछि पार्दै उज्ज्वेकिस्तानको राजधानी ताश्केन्टमा भएको सम्मेलनमा नेपालबाट प्रतिनिधित्व गर्दै विजयी भएकी हुन् ।
एसिया–प्रशान्त क्षेत्रबाट ३६ देशको प्रतिनिधित्व भए पनि निर्वाचनमा भने १५ वटा देशको मात्रै प्रतिनिधित्व रहेको थियो । १५ देशमध्ये शाक्यलाई ६ भोट प्राप्त भएको थियो भने माल्दिभ्सले ५ र इरानले ४ भोट मात्रै प्राप्त गरेको थियो । शाक्यले स्थायी समिति आईपीयूको महत्वपूर्ण अंग रहेको भन्दै त्यहाँ जित निकाल्दा खुशी लागेको मात्रै सुनाइनन् ।
उनले आफू विजयी हुँदै गर्दा आईपीयूको सचिवालयले त्यहाँ भनेका केही शब्द अहिले पनि ताजा रहेको भन्दै यसरी स्मरण गरिन् । ‘नेपाल हामीलाई असाध्यै मनपर्छ, नेपाल विश्व मानचित्रमा भए पनि आईपीयूमा यो महत्वपूर्ण अंगका रुपमा थिएन, अब नेपालको नाम पटक–पटक उठ्ने छ र हामीले नेपालको चर्चा बारम्बार गर्न पाउँने छौँ’ भन्दा सबै भन्दा बढी खुशीको पल मलाई त्यही लागेको थियो’, उनले भनिन् ।
उनले आईपीयुका अध्यक्ष तुलिया अक्सन, महासचिव मार्टिन छुङगोङलगायतले पनि नेपालको प्रतिनिधित्व हुँदा खुशी व्यक्त गरेको पनि स्मरण गरिन् । ‘उहाँहरु सबैले यो नेपालका लागि ऐतिहासिक क्षण हो भन्दै अब नेपाल आईपीयु र विश्वको पनि अस्तित्वमा रहिरहने छ,’ उनले भनिन्, ‘यो नेपालसँगै हाम्रो पनि गैरवको विषय हो भनेर उहाँहरुले भन्दा थप हर्षित भएको अनूभूति भयो ।’
मानवअधिकार, लैंगिक समानता, जलवायु परिवर्तनलगायतका विषयमा विश्वका सांसदहरुलाई शसक्तिकरण गर्ने उदेश्यसहित अघि बढिरहेको आईपीयूमा पहिलो पटक त्यो पनि निर्वाचनमार्फत नेपालको प्रतिनिधित्व गर्न पाउँदा आफूलाई खुशी लागेको पनि शाक्यले बताइन् ।
संसारभरीका १८३ देशका सांसदहरु एकै ठाउँ बसेर जल्दाबल्दा समस्याहरुमा मन्थन गर्दै जवाफदेही ढंगले अघि बढ्ने, शसक्तिकरण गर्ने र सहकार्यका साथ अघि बढ्ने र समाधान निकाल्ने यो मञ्चमा प्रतिनिधित्वका लागि यो पटक नेपाल सरकारले आधिकारिक रुपमा डाक्टर शाक्यलाई पठाएको थियो ।
‘नेपाल सरकारले मलाई विश्वास गरेर त्यहाँ पठाएको थियो,’ शाक्यले भनिन्, ‘नेपाल सरकारले ममाथि विश्वास गरेरपठाएपछि मैले हारजित भन्दा पनि प्रतिनिधित्व ठूलो कुरा हो भनेर आँट गरेँ, मैले मेरो योग्यता, क्षमता र दक्षताको भरपूर उपयोग गरेँ । नेपालको प्रतिनिधित्व गर्दै पहिलो पटक सफलता प्राप्त गर्दा खुशी लागेको छ ।’
नेपालका तर्फबाट सशक्त भूमिका निर्वाह गर्न सक्ने अपेक्षा गरेर आईपीयूको दिगो विकास स्थायी समितिमा रहेका ३६ देशका सभामुखलाई सभामुख देवराज घिमिरेले पत्र लेख्दै शाक्यलाई समर्थनका लागि आग्रह गरेका थिए । त्यो प्रयासका लागि शाक्यले सभामुखलाई धन्यवाद दिइन् ।
‘प्रधानमन्त्रीज्युले जुन विश्वासका साथ नेपालको प्रतिनिधित्व गर्ने भनेर पठाउनुभयो म प्रधानमन्त्रीज्यु र नेपाल सरकारलाई धन्यवाद भन्न चाहन्छु,’ उनले भनिन्, ‘संघीय संसद् सचिवालयको अन्तर्राष्ट्रिय सम्पर्क तथा समन्वय महाशाखाले गरेको विश्वास, पहल र प्रयासले पनि सफलतामा थप सहयोग प्राप्त भयो ।’
शाक्यले आफू विजयी भएपछि आईपीयू सचिवालयले नेपालको अगुवाईमा क्षेत्रीयस्तरको कार्यक्रम होस् भन्ने अपेक्षा गरेको पनि जानकारी दिइन् । शाक्य आईपीयूको स्थायी समितिमा निर्वाचित हुँदै गर्दा स्थायी समितिको सञ्चालक समितिअन्र्गत विभिन्न समितिहरु मध्येको एक स्वास्थ्य समितिमा प्रिितनिधिसभाकी सांसद सोविता गौतमले नेपालको प्रतिनिधित्व गरेकी छन् । । उक्त समितिमा नेपालका तर्फबाट सांसद गौतम सदस्य भएकी छन् । उक्त स्वास्थ्य समिति आईपीयूको अंग बन्ने प्रक्रियामा प्रयासरत रहेको छ ।
सांसद गौतमले ९ सदस्यीय टोलीमा दुई जना महिला रहेको भन्दै दुवै जनाले जिम्मेवारी प्राप्त गर्नु खुशीको कुरा भएको उल्लेख गरिन् । उनले विभिन्न अन्योलताका विचमा पनि प्राप्त गरेको सफलताले खुशी लागेको बताइन् । शान्ति, प्रजातन्त्र, दिगो विकास र न्यायका लागि व्यवस्थापकीय कुटनीति तथा कार्ययोजनाको प्रवर्द्धन गर्ने उदेश्यले सन् १८८९ मा स्थापना भएको संस्था हो ।
लामो इतिहास बोकेको आईपीयूमा नेपाल सदस्य बनेको सन् १९६७ मा हो । अहिले यो संस्थामा नेपालसहित १८३ वटा देशको सहभागिता छ । वर्षमा दुई पटक हुने आईपीयूको सम्मेलनमा संसद्को अभिलेख अनुसार नेपाल सन् १९९१ देखि सहभागि हुँदै आएको छ । सदस्य बनेको करीब ५८ वर्ष र सहभागि हुन थालेको करीब ३४ वर्षपछि नेपालले आईपीयूमा यो पटक ठूलो सफलता हात पारेको छ ।
सांसद शाक्य राष्ट्रियसभाको विकास, आर्थिक मामिला तथा सुशासन समिति सदस्य तथा सोही समितिको दिगो विकास उपसमिति संयोजक हुन् । उनकै नेतृत्वमा ‘नेपाल अतिकम विकसित राष्ट्रबाट विकासशील राष्ट्रमा स्तरोन्नति हुने सम्बन्धमा अध्ययन प्रतिवेदन–२०८१’ प्रतिवेदन तयार गरी राष्ट्रियसभाको विकास, आर्थिक मामिला तथा सुशासन समितिलाई बुझाएको छ ।
कार्यक्रममा सभामुख घिमिरे, उपसभामुख इन्दिरा रानालगायतले पनि उनीहरुको सफल कार्यकालका लागि शुभकामना व्यक्त गरे ।
प्रतिक्रिया