काठमाडौँ । नेपाल शिक्षक महासंघले वैशाख ११ गतेदेखि सुरु हुने कक्षा १२ को परीक्षामा शिक्षक तथा कर्मचारी सहभागी नहुने निर्णय गरेको छ । सोमबार बसेको महासंघको बैठकले राष्ट्रिय परीक्षा बोर्डले वैशाख ११ देखि सञ्चालन गर्ने परीक्षामा शिक्षक र कर्मचारी सहभागी नहुने निर्णय गरेको महासंघकी सहअध्यक्ष नानुमाया पराजुलीले जानकारी दिइन् ।
उनले सरकारले घोषणा गरेको भर्ना अभियानमा समेत शिक्षक तथा कर्मचारीहरू सहभागी नभई काठमाडौँ केन्द्रित आन्दोलनमा सहभागी हुने बताइन् । ‘आमशैक्षिक हड्ताललाई प्रभावकारी बनाउने निर्णय भएको छ । शिक्षक तथा कर्मचारीहरू कक्षा १२ को परीक्षामा सहभागी हुँदैनौँ,’ पराजुलीले भनिन्, ‘शिक्षकहरूको आन्दोलनलाई सरकारले कम आकलन गरेर गैरजिम्मेवार ढंगले प्रस्तुत भएपछि यो निर्णय गर्न बाध्य भएका हौँ ।’
विद्यालय शिक्षा ऐन तुरुन्त ल्याउन माग गर्दै शिक्षकहरू विगत १३ दिनदेखि काठमाडौँ केन्द्रित सडक आन्दोलनमा छन् । सरकारले माग पूरा नगरेसम्म आन्दोलनलाई व्यवस्थित गर्दै अघि बढ्ने महासंघले जनाएको छ ।
प्रतिक्रिया