गल्ती सच्याएर गुमेको साख फर्काउने कसरतमा माओवादी केन्द्र

महोत्तरी । २०६३ सालपछि लगातार जनमत र जनाधार गुमाउँदै गएको माओवादी केन्द्र यतिबेला २०८४ को चुनावमा मधेसमा गुमेको साख फर्काउने रणनीतिक योजनामा जुटेको छ । जनस्तरमा सम्बन्ध जोड्न मधेस प्रदेशबाट ‘जनतासँग माओवादी, तराई–मधेस जागरण अभियान’ चलाएर उत्साहित माओवादी संगठनकै चिरफार गरेमात्र सफल हुने निष्कर्षमा पुगेको छ । पार्टीभित्र मौलाएका गुट नमासेसम्म संगठन चलायमान हुन नसक्ने ठहर भएपछि केही दिनअघि मात्र सप्तरी र महोत्तरीमा इन्चार्जको जिम्मेवारी परिवर्तन गरिएको छ । महोत्तरीमा केन्द्रीय सदस्य प्रकाशहरि पोखरेलले इन्चार्जको जिम्मेवारी पाएका छन् भने सप्तरीमा विश्वनाथ साहले पाएका छन् ।

तर, अहिले दिएको जिम्मेवारीले भने माओवादी केन्द्र गुट, उपगुट मासेर पार्टी निर्माणमा लागेको देखिएको मधेसका राजनीति विश्लेषकहरू बताउँछन् । माओवादीभित्र जनयुद्व पृष्ठभूमि र जनयुद्वमा सहभागी नभएकाबीच अहिले पनि ठुलो खाडल छ । मधेसमा जनयुद्व लडेका माओवादीहरूको नेतृत्व मातृका यादवले गरेको देखिन्छ भने जनयुद्व नलडेको अर्थात् पूर्वजनमोर्चा गुटको नेतृत्व गिरिराजमणि पोखरेलले गरेका छन् ।

कहिलेकाहीँ यी गुटहरूको रमिता पार्टीभित्र मात्र होइन, बाहिर नै छताछुल्ल हुने गरेको छ । यतिसम्म कि कुनै समय यी हाई–प्रोफाइल नेताहरू सार्वजनिक कार्यक्रमहरूमा आमनेसामने समेत पर्न चाहँदैनथे । पार्टी केन्द्रले नारायणकाजी श्रेष्ठ समूहलाई मधेसमा बढी जिम्मेवारी दिएको र जनयुद्व लडेर आएका माओवादीलाई जहिल्यै पाखा लगाएको आरोप मातृका यादवको थियो ।

दुवै गुटको घेराबन्दीमा परेका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मध्यमार्गी बाटो कसरी तय गर्लान् भन्ने अड्कलबाजीका बीच ‘जनतासँग माओवादी, तराई–मधेस जागरण अभियान’मा आफैँ सहभागी भएर जहाँ जसको वर्चस्व छ, त्यसैलाई आधार बनाएर अघि बढ्नुपर्छ भन्ने निष्कर्षमा पुगेको देखिन्छ । परिणामस्वरूप गिरिराजमणि पोखरेल निकट मानिने केन्द्रीय सदस्य प्रकाशहरि पोखरेलले जिल्लास्थित कमान्डरको जिम्मेवारी पाएका छन् ।

यसैबीच, जिल्ला इन्चार्जको नेतृत्व पोखरेललाई दिएसँगै १० वर्षदेखि नेतृत्वमा रहेका अर्का केन्द्रीय सदस्य राजु खड्का बहिगर्मन भएका छन् । स्थानीय तह, प्रदेश र संघीय निर्वाचन परिणामको विषयमा पार्टीभित्रको आन्तरिक मतभेद सतहमा आएका बेला पोखरेलले पार्टीलाई सन्तुलन बनाइराख्न र पुरानो विरासत फर्काउन कस्तो अभ्यास गर्लान् भन्ने चासो बढेको छ । पार्टीको आधार इलाका मानिने यस क्षेत्रमा हाई–प्रोफाइलका नेता गिरिराजमणि पोखरेलले समेत पराजय बेहोर्नुपरेको थियो ।

मधेसमा एमाले र कांग्रेसको मत स्थिर देखिए पनि माओवादी २०६३ देखि २०७९ सम्म आइपुग्दा खुम्चिँदै गएको छ । २०७४ सालमा ५ सिट जितेको पार्टी २०७९ सालको चुनावमा आइपुग्दा १ सिटमा चित्त बुझाउनुप¥यो । सर्लाहीबाट महिन्द्र राय यादवले मधेसबाट ‘निल’ जाने अवस्थाबाट माओवादीलाई जोगाइदिए । त्यो पनि बाबुराम भट्टराईले नेतृत्व गरेको नेसपाका नेता रहेका यादव अन्तिम समयमा माओवादीको चुनाव चिह्न लिएर निर्वाचन लडेका थिए ।

प्रदेशसभा र स्थानीय तहमा पनि माओवादी खुम्चिँदै गएको छ । २०७४ को चुनावमा मधेस प्रदेशसभामा प्रत्यक्षतर्फ ६ सिट जितेको माओवादीले २०७९ को चुनावमा जम्मा ४ सिट जितेर प्रदेशमा छैटौँ दल बन्यो । मधेसका १३६ स्थानीय तहमध्ये २०७४ सालको स्थानीय निर्वाचनमा माओवादीले २१ स्थानीय तहमा १३ प्रमुख र ८ अध्यक्ष जितेको थियो । २०७९ को निर्वाचनमा जम्मा ९ वटामा मात्र जित्यो ।

निकै कमजोर बन्दै गएको माओवादीले २०८४ मा भने २०६४ र २०७४ को विरासत फर्काउने दाबी गर्दै आएको छ । ‘जनतासँग माओवादी, तराई–मधेस जागरण अभियान’का क्रममा प्रचण्डले भनेका छन्, ‘रूपान्तरणसहित पार्टीले आत्मसमीक्षा गर्नेछ र पुरानो विरासत फर्काउनेछ ।’

अहिले मधेस प्रदेश इन्चार्जको जिम्मेवारीमा मातृका यादव छन् । यसअघि इन्चार्ज रहेका लीलामणि पोखरेललाई भन्दा मधेसी भूगोलबाट इन्चार्ज बनाउनुपर्ने आवाज उठेपछि यादवलाई पार्टी केन्द्रले इन्चार्जको जिम्मेवारी दियो । ‘पहिले जस्तो मातृकाजी हुनुहुन्न । अब पार्टीलाई नयाँ ढंगबाट अघि बढाउनुपर्छ भन्ने हिसाबले उहाँ तयार भएको देखिन्छ,’ जनयुद्वइतर गुटका एक नेताले भने, ‘मधेसमा पहिलेजस्तो गुटको नाममा आन्तरिक मतान्तर छैन । सबैको साझा उद्देश्य पार्टीलाई नयाँ ढंगले अघि बढाउनुपर्छ र पुरानो विरासत फर्काउनुपर्छ भन्ने नै छ ।’

गुटगत लडाइँकै कारण २०७९ मा सबैभन्दा बढी फाइदा मधेसमा नेकपा एमालेले लियो । माओवादीबाट असन्तुष्ट नेता, कार्यकर्तालाई जिम्मेवारीसहित एमालेले पार्टी प्रवेश गराउने नीति नै बनाएको थियो । परिणामतः अहिले एमाले मधेसको सबैभन्दा वलियो शक्तिका रूपमा छ । २०७४ मा माओवादी र एमाले बराबरी जस्तै थिए ।

सत्ताबाट बाहिरिएपछि जनतासँग जोडिइरहेको माओवादीले आफ्ना गल्तीहरूलाई पहिचान गरिरहेको बताइएको छ । ‘हामी मधेसमा खुम्चिनु र परिणाममा नै किन ओरालो लाग्यौँ भन्ने विषय पहिचान गरेर आत्मालोचनासहित अघि बढ्ने अभियान नै बनाएका छौँ,’ केन्द्रीय सदस्य टेकबहादुर बलम्पाकीले भने, ‘२०८४ मा हामी पुनः बलियो शक्तिका रूपमा स्थापित हुनेछौँ र जनताका मुद्दा स्थापित गर्नेछौँ ।’
पार्टीको महाविधेशनले मधेस प्रदेशबाट ४० जनालाई केन्द्रीय सदस्य बनाएको थियो । तर जिल्ला, स्थानीय तहहरू अहिले पनि नेतृत्वविहीन छन् । नेतृत्वविहीन हुनुमा गुट नै प्रमुख कारण बनेको छ । यी सबै समस्यालाई निष्कर्षमा पु¥याएर पार्टीको आन्तरिक कलह समाधान गर्ने जिल्लास्थित नेताहरू बताउँछन् ।

प्रतिक्रिया